महाकवि देवकोटा पुरस्कार पाँच स्रष्टालाई

काठमाडौँ- यस वर्षको महाकवि देवकोटा पुरस्कार विभिन्न पाँच विधाका स्रष्टालाई प्रदान गरिने भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय (मन्त्रीस्तर) को निर्णयअनुसार कविता, निबन्ध, समालोचना, आख्यान नाटक, बाल साहित्य लोक साहित्य र भाषा साहित्य विधामा पुरस्कार प्रदान गर्ने निर्णय गरिएको मन्त्रालयले आइतबार विज्ञप्तिमार्फत जनाएको हो ।

पुरस्कृत हुनेमा कवितातर्फ काठमाडौँ जोरपाटीका कञ्चन पुडासैनी, निबन्धमा झापा चन्द्रगढीका तेजराज खतिवडा (तेराख), आख्यान नाटकमा तेह्रथुम सावलाका अभि सुवेदी, बालसाहित्यमा पाल्पा तानसेनका विनय कसजु र भाषा साहित्य विधामा महोत्तरी बखरीका महेश्वर राय छन्।

सरकारले आव २०६८/६९ देखि नेपाली भाषाका विभिन्न पाँच विधामा योगदान गरेका विशिष्ट स्रष्टालाई प्रत्येक वर्ष एक लाख रुपैयाँका दरले महाकवि देवकोटा पुरस्कार प्रदान गर्ने घोषणा गरेको थियो।

जेठ १३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्