काठमाडौँ – ‘कस्तो टाउको दुखिरहेको छ’ भन्ने मान्छे प्रायः भेटिन्छन् । कमै मान्छे होलान् जसले मेरो अहिलेसम्म कहिल्यै टाउको दुखेको छैन भनेका छन् ।

टाउको विभिन्न कारणले दुख्न सक्ने डाक्टर बताउँछन् । ‘टाउको दुखेको त हो नि’ भनेर लापरबाही कहिल्यै नगर्न डाक्टर सुझाउँछन् ।

टाउको दुख्ने समस्यालाई सधैँ सामान्य ठानेर बस्दा यसले पछि जटिल समस्या पनि निम्त्याउन सक्छ । सामान्य रूपको टाउको दुखाईको समय परिवर्तन हँुदै गयो भने चिकित्सकको सल्लाह लिनुपर्छ ।

जस्तै, बिहान मात्र दुख्ने टाउको बेलुका पनि दुख्न थाल्यो र कम दुख्ने टाउको बढी दुख्न थाल्यो भने सावधानी अपनाउनुपर्छ । निरन्तर टाउको दुख्ने समस्या छ भने पछि गएर ब्रेनमा पानी जम्ने, ट्युमर पलाउने, रगत जम्ने सम्भावना हुने डाक्टरहरुको भनाई छ ।

डाक्टरका अनुसार उच्च रक्तचाप, मधुमेह, उच्च कोलेस्टेरोल भएका बिरामीले टाउको दुखाइमा विशेष सावधानी अपनाउनुपर्छ । केही मानिस सामान्य अवस्थामा टाउको दुखाई सहन नसकेर बेहोस हुन्छन् भने कोही ब्रेन ट्युमर, रगत जमेर, पानी जमेर बेहोस हुने गर्छन । छारे रोगमा पनि टाउको दुख्ने हुन्छ ।

नशाको रोगका कारण पनि टाउको दुखाइ हुने गर्छ । नशा सम्बन्धी समस्या लिएर आउने ५० प्रतिशत बिरामीलाई टाउको दुख्ने समस्या हुन्छ । टाउको दुखाइका विभिन्न कारणमध्ये सबैभन्दा बढी देखिने कारण चाहिँ तनावका कारण हुने डाक्टर बताउँछन् ।

तनावका कारण हुने टाउको दुखाई खासगरी मानसिक तनावका कारण हुन्छ । हरेक मानिसका आफ्ना समस्या अनुसारको तनाव हुन्छ । तनावको उपचार दुई तरिकाको गर्न सकिन्छ । एक, बिरामी आफैले र अर्को चिकित्सकीय । बिरामीले आफै प्रयास नगरेसम्म चिकित्सकको एकल प्रयासले तनाव पूर्ण रुपले ठीक हुँदैन ।

टाउको दुखाईको अर्को एउटा कारण माइग्रेन हो । टाउकोमा एक किसिमको नशाको कमजोरीका कारण माइग्रेन हुन्छ । माइग्रेनमा अकस्मात टाउको दुखाई सुरु भएर घन्टौँ वा लगातार केही दिनसम्म दुख्ने हुन्छ र दुखाइ विस्तारै कम हुँदै जान्छ । हर्मोनको अस्थिरताले गर्दा माइग्रेन पुरुषमा भन्दा बढी महिलामा देखिन्छ ।

हर्मोनको मात्रा पुरुषमा भन्दा महिलामा बढी असन्तुलित हुने हुँदा महिलामा माइग्रेन धेरै देखिएको डाक्टर बताउँछन् । १०–१२ वर्षपछि महिलामा शारीरिक परिवर्तन सुरु हुन्छ, त्यसपछि महिनावारी र गर्भको समयमा हर्मोन परिवर्तन हुन्छ ।

त्यसैगरी, बच्चा जन्मिएपछि र महिनावारी सुक्ने समयमा हर्मोन परिवर्तन हुन्छ । हर्मोन परिवर्तन भइरहने हुनाले महिलामा माइग्रेनको समस्या बढी देखिने विभिन्न अध्ययन देखाएको छ । प्रायः माइग्रेनका बिरामीले एक महिना औषधि सेवन गरेपछि ठीक भएको महसुस गर्छन र औषधि बन्द गर्छन् । यसले टाउको दुखाई बल्झिने हुन सक्छ त्यसैले नियमित औषधि सेवन माइग्रेनबाट बच्ने एकमात्र उपाय हो ।

कहिलेकाहीँ रुघाखोकी, ज्वरो, पिनासका कारण पनि टाउको सामान्य दुख्ने गर्छ । यस्तो दुखाई साधारण र खतरा नभएकाले सामान्य उपचारपछि ठीक हुन्छ ।

यी बाहेक शरीरको अन्य कुनै भागको असरका कारण पनि टाउको दुख्न सक्छ, जसलाई सेकेन्डरी टाउको दुखाई भनिन्छ । जुनै कारणले पनि टाउको दुखेको हुन सक्छ ।

तर, समस्या बल्झिदै गएपछि त्यसले जटिलता थप्नेबाहेक केही गर्दैन ।

सामान्य उपचारपछि टाउको दुखाई कम भएन भने चिकित्सकको सल्लाह लिनु नै उचित हो । त्यसैले टाउको दुखाईको क्रम दोहोरिने वा बढ्ने भयो भने तत्काल चिकित्सकका सल्लाह लिएर निदानतर्फ लाग्नु पर्छ ।

जेठ १४, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्