मेरो माटो, मेरो चन्दन (अनुभव र अनुभूतिको श्रृंखला- १८)

त्यो मंसिरमा मैले बिहा गरेँ

बिहान आठै बजे सर्जरीका बिरामी ल्याएर मलाई त्यो दिन पहिलोपटक डेबिड अट्लीले नाकबाट पिट्युटरी ट्युमर गर्न भन्नुभयो, ‘ट्रान्स फेन्सिडल पिट्युटरी।’ उहाँको भनाइ के थियो भने नेपालमा त तिमीले सबै गर्नुपर्छ। यहाँका रजिस्ट्रार, सिनियर रजिस्ट्रारले सिक्नु पर्दैन, किनभने हामी छौँ। अरुले गर्छन्, यहाँ त विकल्प छन्, एउटा एउटा पिक एण्ड चुज गरेर त्यसमा स्पेशलाइजेसन गरे पुग्छ। नेपालमा सबै तिमीले गर्नुपर्ने भएकाले सबै सिक्नुपर्छ।’ ठूलो हृदयले ल तिमी नै गर पहिला भन्नुभयो। कुनै पनि ब्रिटिस स्टुडेन्टलाई दिनुभएको थिएन त्यसरी यसअघि।

तुरुन्तै सुरु गरेँ, पिट्युटरी हर्मोन धेरै सिक्रिट गरेर त्यो मान्छे आकारमा ठूलो हुने, जाइन्ट जस्तो हुने, जाइग्यान्टिजम्म भन्छन् त्यसलाई। त्यो ग्रोथ हर्मोन बढी भएको ट्युमर थियो। त्यस्तो केस असाध्यै मिसलिडिङ खालको हुन्छ। स्पेनोइड साइनसको अनाटोमी फरक हुन्छ, ठूलो हुन्छ। मेरो पहिलो केस नै त्यही पर्‍यो। भएभरको दुख पाएर मैले बल्लबल्ल ट्युमर गरेँ, सिद्याएर बाहिर निस्कँदा साढे १२ भइसकेको थियो। युजल्ली त डेढ २ घण्टाको सर्जरी हो, मैले १० बजे सिद्याउनु पर्थ्यो, लञ्चसञ्च खाएर दुई बजे इन्टरभ्यूलाई पुग्नु पर्थ्यो, भिनस स्क्वायरमा। साढे १२ भइसक्या थियो।

म आत्तिँदै निस्किएँ, निस्कँदाखेरि मिस्टर अट्लीको सेक्रेटरी ‘सु वाय आटर’ बाहिर बसिराख्नुभएको रहेछ। भन्नुभयो, ‘डोन्ट वरी, ह्याभ योर लञ्च, मैले फोन गर्दिसकेको छु, क्विन्स स्क्वायरमा। ४ बजेको लागि सार्दिसकेको छु।’ त्यसपछि, लञ्च सञ्च खाएर, फ्रेस भएर गएँ सेन्ट्रल लण्डन।

क्विन्स स्क्वायरमा इन्टरभ्यू भयो मेरो। दुई जना कन्सलट्यान्ट हुनुहुन्थ्यो। उहाँहरुले इन्टरभ्यू लिँदा ‘किन ढिलो भो’ भन्नुभयो, मलाई त झन ठूलो रिजन भयो। मैले पिट्युटरी गर्दै थिएँ, अलिकति कम्प्लिकेटेड निस्कियो, समय लाग्यो भनेँ। त्यो त झन् प्लस प्वाइन्ट भयो।

‘सिनियर रजिस्टारको लेबलकाले पिट्युटरी गर्न थालेको रहेछ भने यो त सिपालु रहेछ भन्ने भयो।’ इन्टरभ्यू राम्रो भो, अब ‘जब’ कहिले सुरु गर्ने भन्ने कुरा भयो। यसरी म एट्किन्सन मर्लेमा २ वर्ष काम गरी यता क्विन्स स्क्वायरतिर सर्ने निधोमा पुगेँ।

एट्किन्सन मोर्लीमा एक वर्ष काम गरिसकेपछि फेरि छुट्टीमा घर आएँ। त्यो बेलामा अलिअलि मेरो बिहे गर्ने चाँजो भइसकेको थियो। अनि सम्भाव्य केटीहरु पनि दाइहरुले हेरी सक्नुभएको। रमाइलो कुरा के भएको थियो भन्दा म एटकिन्सन मोर्लेमा काम गर्दै थिएँ, एक जना रेडियोग्राफरले मलाई फोन गरिन्। ‘तपाईँले आएर एउटा एक्स–रे हेरिदिनुपर्‍यो’ भन्दै। शनिबारको दिन ‘किन’ भनेको जस्तो पनि लाग्यो।

न्यूरोलोजी वार्डमा भर्ना भएको एक जना भिटामिन डिफिसियन्सी भएर साइकोसिस भएको लेडी थिइन् ती, तिनको हात भाँच्चिएको थियो। यहाँका रजिष्ट्रारहरु कसैलाई पनि फ्याक्चरको केस हेर्न नआउने, तपाईँको एक्पोजर छ, आएर हेरिदिनुस् भनिन्। मलाई बोलाइन्। मैले त्यो एक्सरे हेर्दाखेरी कोलिज फ्याक्चर थियो। तलको रिस्ट नजिक रेडियसको फ्याक्चर थियो। अनि बिरामी हेर्न गएँ, बिरामी त बडा ‘इन्ट्रेस्टिङ’ महिला रहिछन्। विवाह नगरेकी, दुब्ली पातली। काम मात्रै गरिराख्ने। खाँदै नखाने, नजिकैको किङ्सटन हस्पिटलमा काम गर्ने सर्जन रहिछन्। किंगस्टन हस्पिटलमा काम गर्ने, थोरासिक सर्जन।

ती महिला तीनपटक नेपाल आइसकेकी रहिछन्। दुई पटक पाटन हस्पिटलमा आएर काम गरेकी एक-एक महिना, एकपटकचाहिँ आँपपिपलमा नै गएकी रहिछन्। अनि म नेपालको भन्ने बित्तिकै साइकोसिस भएपनि खुब रमाइलोसँग कुरा गर्न थालिन्। मिस वाटरफल हो कि के हो नाउँ। उनले क्या मज्जाको कमेन्ट गरिन्। ‘नेपालको मान्छे यहाँ न्यूरो सर्जरी पढ्न आको, म तिम्रो देशमा पुग्या छु, तिम्रो गाउँमा नै पुगेको छु। तिमी नेपालमा गएर काम गर्ने मान्छेले यहाँको अंग्रेज केटीहरुसँग नफस्नु है। गो ब्याक होम एण्ड म्यारी वान अफ द क्युट गर्ल्स इन नेपाल।’

‘द्याट इज ह्वाट सी सेड।’

त्योचाहिँ रमाइलो। त्यहाँबाट यहाँ आउने मान्छेले नेपाललाई राम्रो देख्छ। नेपालीहरु क्युट पनि त छन् नि।

हाम्रो बिहेको चलन भनेको कस्तो भने, त्यो बेलामा दुईटै मात्र अप्सन ओपन थिए, ‘माया गरेर बिहे गर्ने र बिहे गरेर माया गर्ने।’ हाम्रो त्यो बेलाको सिस्टममा दुई चारओटा फाइदा पनि हुन्थे। जसले प्रपोज गर्छ उसले व्याकग्राउण्ड चेक त गरेकै हुन्छ। नेपालीमा ओठ कटौरा मिलाउने भन्छन् नि। मिल्दै नमिल्ने मान्छेले प्रपोज नै गर्दैन। अनि त्यो भएर मेरो चाहिँ, मोरल, सबै मिल्ने खालको डाक्टरसँग अलिअलि कुरा मिलिसक्या थियो। न्युरो सर्जरी पनि मेरो च्वाइसले गएको होइन, सर्जरी गर्न थालेपछि मात्र माया गर्न थालेँ, कर्तव्य प्रेम भन्छन् नि। काम गर्न थालेपछि माया लाग्यो, अनि न्यूरो सर्जरीमा कमिटेड भए। त्यसरी बिहेमा पनि सबै कुरा मिलेको छ भने बिहे पछि माया गर्न थालिन्छ।

त्यो बेलाको चलन त्यही नै थियो, सबै मिलाएको। ब्याकग्राउण्ड चेक गरेर सबै आफन्तले मिलाएको। मैले पनि यत्तिको भएपछि हुन्छ भनेँ। पहिला पनि मलाई बेलायत जानुअगाडि विवाहको प्रपोजल नआएको होइन, तर मैले चासोँ नै दिइन। आफ्नो खुट्टामा आफैँ उभिने नभईकन आफ्नो विवाहको खर्च आफै उठाउन सक्ने नभईकन म बिहे गर्दिन भनेर छोडेँ। अब त उपयुक्त समय भयो। ‘जब’ पनि गरेको छु, डिग्री पनि छ। नेपालमा आएर अब केही काम गर्नुपर्छ भन्ने पनि छ, ‘अब पढ्नु पर्दैन।’ यो अवस्थामा बिहे नगरे, कहिले गर्ने? त्यही अनुसारको तयारी थियो। त्यसपटकको छुट्टीमा आउँदाखेरि मैले मेरो हुनेवाला श्रीमतीलाई पहिलोपटक भेटेँ। असारसाउनको बेला थियो त्यो।

हामीले डाक्टर गोविन्द शर्माको क्वाटरमा भेट्यौँ पहिलोपल्ट। सबै कुरा मिल्ने, उमेरचाहिँ ५, ६ वर्षको मात्र फरक। त्यो हुँदाखेरि त्यहाँ कम्प्याटिविलिटीको कुरामा केही पनि समस्या भएन। दुवै पढेलेखेका, ‘दुवै डाक्टर।’ उहाँको पनि राम्रो एकेडेमिक क्वालिफिकेसन। कलकत्ता युनिभर्सिटीबाट पास गरेको, दुईओटा विषयमा मेडल ल्याएको। मलाई बोझ नहुने भयो, त्यसो भएपछि सहयोग नै हुने भयो। ‘श्रीमतीलाई कता पढाउने, के गर्ने भन्ने कुरामा बोझ भएन नि।’

त्यसपछि असारको बेलामा बिहे छिनियो। मंसिरमा बिहे गर्ने निर्णय गरेर म बेलायत फर्केँ, १९८६ मा। त्यो बेलामा मेरो छुट्टी सक्किसकेको थियो। ५ हप्ताको वार्षिक विदा मैले पहिला नै लिइसकेको थिएँ। अनि गएर मैले न्यूरो चिफलाई भनेँ, ‘म बिहे गर्न जानुपर्छ नोभेम्बरमा, मलाई छुट्टी चाहिन्छ।’

कति दिन? मैले भनेँ, ‘पाँच दिन।’

एक दिन जान, एक दिन आउन, दुई दिन चाहिँ बिहेका लागि भनेर मागेँ। धेरै दिन माग्यो भने दिँदैनन् भन्ठानेँ। तर रिचार्डसनले त ‘ल १० दिन लेऊ’ भन्नुभयो। बडा लिबरल भएर, ‘तैँले धेरै काम गरेको छस्, १० दिन नै छुट्टी लेऊ’ भन्नुभयो। हाम्रो बिहे मंसिरमा भयो। बिहे गरिसकेपछि श्रीमतीलाई लिएर म बेलायत फर्केँ।

त्यहाँ क्वाटरमा बस्थेँ। सजिलै भयो। उनलाई एकदुई महिना एडजस्टमेन्टको लागि छोडेपछि, कसरी जाने के गर्ने, के विषय पढ्ने, केमा स्पेसलाइज्ड गर्ने। सोच्न थाल्यौँ हामीले।

मैले न्यूरो चिफलाई भनेँ, ‘म बिहे गर्न जानुपर्छ नोभेम्बरमा, मलाई छुट्टी चाहिन्छ।’

कति दिन? मैले भनेँ, ‘पाँच दिन।’

एक दिन जान, एक दिन आउन, दुई दिन चाहिँ बिहेका लागि भनेर मागेँ।

उनले पनि विचार गरिन्, सायद पव्लिक हेल्थमा गर्‍यो भने राम्रो होला। अनि हामीले ट्रपिकल मेडिसिन हाइजिनमा, लण्डन स्कुल अफ पब्लिक हेल्थमा अप्रोच गर्‍यौँ। त्यहाँ दुईजना प्रोफेसर हुनुहुन्थ्यो, डेबिट ब्राड्ली र म्याक एडम। मेरै कन्सल्ट्यान्ट मार्फत सम्पर्क गरेँ। उहाँले ट्युसनफी चाँहि वेभ गर्न नसक्ने हुनुभयो। ट्युसन फी सात हजार पाउण्ड हुने भयो, जुन म त्यो बेलामा एफोर्ड गर्न सक्दैनथेँ। अनि रिचर्डसनले आएर मलाई भन्नुभयो, ‘तेरो इ.एम.टी जति सबै खर्च हुने भयो, के गर्छस्, विचार गर्।’

मैले श्रीमतीसँग सल्लाह गरेँ, अहिलेलाई नगरौँ भन्ने भयो।

त्यसपछि उनले प्ल्याब दिइन्, लाइसेन्स लिन। प्ल्याबको जाँच पास गरिसकेपछि सजिलो भयो, जब गर्न पाइयो। त्यसपछि मैले अर्को कन्सल्ट्यान्टलाई रिक्वेस्ट गरेर सेन्ट जोर्जेजको पिड्याट्रिक डिपार्टमेन्टमा अप्रोच गर्‍यौँ। उनको सबै रेकर्ड हेरेपछि नदिने त कुरा नै भएन। त्यहाँ राम्रो काम गरिन्। त्यो बेतलबी थियो, छ महिना काम गरेपछि ‘जब’ आयो। नजिकैको अर्को युनिभर्सिटी हस्पिटल, मैले काम गरेकै हस्पिटलमा। त्यहाँ अप्लाई गरियो, जब पाइन्। ‘जब’ गर्न थालिन्। पिडियाट्रीको जाँच दिने उनको रिक्वायरमेन्ट पुगिसकेको थियो। एक वर्ष काम गरेर जाँच दिन पाउने।

हेर्दै जाँदा ग्लास्गोको इन्स्टिच्यूट अफ चाइल्ड हेल्थमा डिप्लोमा उपयुक्त देखियो। अनि उनले ग्लास्गोको डिप्लोमाको लागि फर्म भरिन्। त्यहि डिप्लोमा पहिले डा. बराल (मणिन्द्ररञ्जन बराल) ले गर्नु भा’थियो। डाक्टर बरालले ग्लास्गोमा ट्रेनिङ लिनुभएको हो,  वरिष्ठ पिडियाट्रिसेन। डाक्टर बरालले जस्तै उनले पनि ग्लास्गोमा जाँच दिएर त्यो डिग्री लिइन्। त्यसपछि अगाडि बढ्ने बेलामा नेपाल फर्कने बेला भइहाल्यो । उनको करियर अर्कै तरिकाले गयो, त्यसबारे पछि क्याच अप गर्दै गरौँला।

कता कता डेड एन्डतिर पुगियोँ, रमाइलो।

अब अलिकति पुर्ख्यौली पृष्ठभूमि।

हामी देवकोटा परिवार पहिलेदेखि नै सम्पत्ति धेरै नभएका, त्यो बेलाका पढेलेखेका पण्डित। पुराण भन्ने।

मेरो हजुबा नन्दप्रसादको बिहेको रमाइलो प्रसंग छ। मेरो हजुरबुवाको बिहे गर्ने बेला हुँदा, त्यो बेलामा उदिपुका अधिकारी सुब्बाका छोरी दिन आएछन्। मैले भनेँ नि, छिमेकीको ठूलो भूमिका हुन्छ यो सबैमा। त्यो बेलामा हेर्ने भनेको कत्रो टौवा छ, टौवा ठूलो भए धान धेरै हुने भो, कतिओटा गाईवस्तु छन्। गाईवस्तु धेरै छन्, भैँसी धेरै छन् भने दुध धेरै खान पाउने भयो। ठूलो टौवा हुनु भनेको जग्गा जमिन धेरै भएको मान्छे हुने भो। घर पस्ने ठाउँमा तगारीमा अग्राखको खम्बा छ भने तगाराको गराला पनि बलियो छ भने त्यो चाहिँ अलि सम्पन्नशाली। घर कस्तो छ, एक तले छ कि दुईतले छ। केले छाएको छ, ढुंगाले कि खरले। यस्तैयस्तै कुराले सम्पन्नता नापिन्थ्यो त्यसबेला। सुब्बाको छोरी दिने भनेर आएछन् मेरो हजुरबालाई।

यो कथा मलाई मेरो फुपुले भन्नुभएको, पहिलो पटक दिन आउँदा झुक्याएर आएका। त्यो टौवामुनि एउटा गोरु मात्र बाँधेको देखेछन्, टौवा पनि त्यति धेरे ठूलो नभएको। ‘एउटा टौवा छ, एउटा गोरु पालेको रहेछ। टौवा पनि ठूलो छैन। खासै धेरै अनाज भित्र्याउने देखिएन, यसले छोरी पाल्दैन’ भनेर नदिई गएछन्। जेठीछोरी तल राइनसका पराजुलीलाई दिएछन्।

अर्को वर्ष माइली छोरी दिने बारे पुनर्विचार गरेछन्। ‘त्यो देवकोटा केटो लायकै थियो, पण्डितकै सन्तान हो, पुराण भनेर पनि छोरी पाल्ला जस्तो लाग्यो। त्यसै भएर माइली छोरी त्यसैलाई दिने भनेछन्। यसरी मेरो हजुरबुबा सँग सुब्बाको छोरीको बिहे भयो। त्यो बेलामा नन्दप्रसाद देवकोटालाई उदिपका सुब्बाले छोरी दिनु भनेको ठूलो कुरा हो।

राणाका पालाका सुब्बाहरु छुट्टीमा जाँदा मुद्दा छिन्थे। पछि मामाघर जाँदा मेरो बाले देखेको चमत्कार भन्नुहुन्थ्यो, ‘उहाँको मावली हजुरबुबा, सुब्बा छुट्टीमा आउँदाखेरी आँगनमा कुँडेमा भात पाक्थ्यो रे, भए भरका मानिसलाई भात खान दिने अनि झगडा त्यहीँ छिन्ने। उहाँले पनि भानुभक्तकी छोरीनातिनीपट्टि बिहे गर्नुभएको हो। भानुभक्त आचार्यसँग मेरो बाको बुढोमावली नाता जोडिन्छ। जयराज आचार्य मेरो नाता पर्नुहुन्छ, मावली खलक, मेरो बाको।

यतातिर हाम्रो बुढोमावली राम्रो, अनि देवकोटाले आफै आफ्नो भूमिका बनाए, हामी पनि पहाडतिरको स्थापित परिवार। मेरो हजुरबा र हजुरआमाको विवाह भएपछि हजुरआमा ठूलो घरकी छोरी आएर, घरभित्र पसेपछि सबै वस्तुस्थिति मूल्यांकन गर्नुभएछ र श्रीमानलाई पढाइएन भने पछाडि परिन्छ भन्ने सोचले घरबाट लेराएको पेवाको दुईसय रुपैँया दिएर ‘ल तपाईँ बनारस गएर पढी पण्डित भएर आउनुहोस्।’ पुराण भन्न सक्ने भएर आउनुहोस् भनेर जबरजस्ती कासी पठाउनुभएछ। हजुरबाले पनि एक डेढ वर्षमा पढेर, पुराण भन्न सक्ने भएँ भनेपछि फर्केर आउनुभयो। हजुरआमाकै अनुरोधमा पालुङटारका एक जना जजमान, त्यहाँका भाटलाई ‘ल तिमीले चाहिँ सप्ताह लगाऊ’ भनेर हजुरबुबालाई सप्ताह भन्न लगाउनुभएछ। एउटा सप्ताह भनेपछि हिम्मत आयो। मेरो हजुरबुवा सप्ताह भन्ने, पुराण भन्ने पण्डितको रुपमा स्थापित हुनुभयो। हामी जन्मेको थिएनौँ, नातिमा मेरो दाइमात्र जन्मेका थिए। परिवारमा यसरी सम्पन्नता आयो।

मेरो श्रीमतीको विषयमा कुरा गर्दा उनीहरु काठमाडौँका दीक्षित परिवार। मेरा ससुरा भरतमणि दीक्षितका जेठा छोरा। उहाँ त्यो बेलामा कलकत्ता पढ्न जानु भाथ्यो, राणाको पालामा पनि अंग्रेजी पढ्न जाने। दीक्षितहरु त्यो बेलामा राणाहरुको चाकडी गर्ने र सन्तानलाई चाहिँ अंग्रेजी पढाउने।

पछिचाहिँ मेरो ससुरा धेरैजसो इन्डियामा नै बस्नुभयो। उहाँले आफ्ना छोरा छोरीहरुलाई इन्डियन सिस्टमले पढाउनुभयो। इन्डियन सिस्टममा पढाए पनि सबै नेपाली कल्चर, मेरी सासुले उनीहरुलाई सिकाउने। सन्तानहरु धेरै जसो बनारसमा हुर्किए। मेरो ससुराबा बस्ने गरेको घर, बनारसको राम कटोरा, ऊ बेलामा बामपन्थी नेताले शरण लिने ठाउँजस्तै थियो। पुष्पलालदेखि मदन भण्डारी पनि त्यहाँ कुनै बेला बस्नुभएको थियो। मोदनाथ प्रश्रित त्यहीँ बस्नुभो। मेरो सासुआमा असाध्यै खुला हृदयकी। ससुराबा राणाहरुको मान्छे भए पनि मेरो सासुआमा बामपन्थी नेताहरुलाई ख्वाइपियाइ गर्ने। माया गर्ने। त्यही बनारसको परिवेशमा हुर्किएकी। मेरी श्रीमतीलाई त्यो बेला साहना प्रधानले उनीहरु स्कूलबाट फर्केपछि बेड टाइम स्टोरी सुनाउने। कहिलेकाहिँ साहना पनि त्यहाँ गएर बस्नुभएको रहेँछ। त्यो बेलामा हिक्मतसिंह भण्डारी भन्ने बामपन्थी नेतालाई कम्युनिस्ट पार्टीले स्पोन्सर गरेर पढ्न पठाएको थियो, पढेलेखेको मान्छे धेरै भएनन् पार्टीमा भनेर। हिक्मतसिंह भण्डारी पनि त्यहाँ बस्नुभयो। त्यो सबै मैले भन्नुको कारण के हो भने दीक्षित परिवार त्यहाँ बसेर नेपाली कम्युनिटीसँग भिजेको थियो, वामपन्थी नेतालाई अरुलाई भन्दा बढी सघाएको।

उनी बनारसमा हुर्किएर कलकत्ताबाट एमबीबीएस गरेकी, एकेडेमिक रेकर्ड राम्रो थियो। नेपाली संस्कृति र संस्कार तथा एकेडेमिक रेकर्डले गर्दाखेरि हामी कम्प्याटिबल बन्यौँ। सबै कुरा मिल्यो, डाक्टर डाक्टर, संस्कार संस्कृति। यसरी हाम्रो विवाह तय भयो। त्यो बेलामा उनीचाहिँ कलकत्तामा पढे पनि म मेरै देशको सेवा गर्छु भनेर आएर महाराजगञ्ज क्याम्पसमा काम गर्न थालेकी।

त्यो पनि मलाई मन पर्‍यो। त्यो बेला नेपाल सकेसम्म छोडेर भाग्ने चलन थियो, बाहिर उम्किएका मान्छे नेपाल फर्केर विरलै आउँथे।

जेष्ठ १४, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्