‘असल आचरण’ ले अाज छुट्ने भए बालकृष्ण ढुंगेल

बालकृष्ण ढुंगेल

काठमाडौँ– कर्तव्य ज्यान मुद्दामा आजीवन कैद सजाय काटिरहेका बालकृष्ण ढुंगेल मंगलबार छुट्दै छन् । डिल्लिबजार कारागारमा रहेका ढुंगेल बिहान १० बजेपछि छुट्ने भएका हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र दिवस, २०७५ का अवसरमा ८१६ जना कैदीलाई माफी दिएकी छन् । असल चालचलन भई कैदको सजाय छोट्याउन योग्य भन्दै मन्त्रीपरिषदले सिफारिस गरेका कैदीले माफी पाएका हुन् । ती माफी पाउने कैदीमा ढुंगेल पनि परेका हुन् ।

कर्तव्य ज्यान मुद्दामा आजीवन कैद सजाय काटिरहेका बालकृष्ण ढुङ्गेलको आचरण ठीक भएको भन्दै कारागार व्यवस्थापन विभागले गरेको कैद मिनाहाको सिफारिस गरेको थियो ।

त्यस विरुद्ध सर्वोच्च अदालतमा परेको रिटको सुनुवाइ सोमबार हेर्दाहेर्दैमा रोकिएको छ । तर उनी मंगलबार छुट्ने निश्चित भएको हो । सोमबार न्यायाधीश मीरा खडका र टंकबहादुर मोक्तानको संयुक्त इजलासमा कानुन व्यवसायीको बहस लम्बिँदा सुनुवाई हेर्दाहेर्दैमा रोकिएको हो ।

सुनुवाई हेर्दाहेर्दैमा रोकिए पनि इजलासले कारागार व्यवस्थापन विभागले गरेको कैद मिनाहा सिफारिसको सक्कल फाइल झिकाउने आदेश दिएको छ । मगंलबार खडका र मोक्तानको इजलासमा रिटको सुनुवाइ हुनेछ ।

गत शुक्रबार सर्वोच्च अदालतले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको रिटको सुनुवाई गर्दै कारण देखाउ आदेश जारी गरेको थियो ।

जेठ १५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्