सन्दर्भ: ११औ गणतन्त्र दिवस

कोही छोरा लिएर गए, कोही पैसाको माला लगाएर निस्के (फोटो फिचर)

नेपालगञ्‍ज- विनोद बर्माले पैसाको माला र अबिर लगाएका छन्। गणतन्त्र दिवसको अवसरमा सरकारले आममाफी दिएपछि घर जान बाहिर निस्केका उनी नेपालगञ्ज कारागारको प्रांगणमा कहिले यता त कहिले उता गरिरहेका छन्।

प्रफूल्ल मुन्द्रामा रहेका बर्मा कारागारभित्र रहेका साथीहरुलाई बाहिरबाट हाँस्दै हात हल्लाइरहेका छन्। पुरुष र महिला बन्दीगृहमा पुगेर उनले हात हल्लाएर आफू पिँजडाबाट आजाद भएको सन्देश दिइरहेका छन्।

पैसाकै माला लगाउनु भएको छ त ? बर्माले हाँस्दै भने, ‘भित्र साथीहरुले बनाएर लगाइदिए।’ कारागारबाट मुक्त भएको खुशीमा बर्मा कारागारका नाइके र सुरक्षाकर्मीहरुलाई फलफूल खान कर गरिरहेका थिए।

ज्यान मुद्दामा २० वर्षको सजाय तोकिएका बाँकेका बर्माले ४० प्रतिशत सजाय भुक्तान गरेपछि सरकारबाट आममाफी पाएका हुन्। गणतन्त्र दिवसको प्रत्यक्ष फाइदा लिएका अनिल तिरुवा पनि पैसाकै माला लगाएर कारागारबाट निस्किए। तिरुवा पनि ज्यान मुद्दामा कारागार पुगेका थिए।

सरकारले गणतन्त्र दिवसको अवसरमा नेपालगञ्ज कारागारका ३० जना कैदी/बन्दीलाई आममाफी दिएपछि बन्दी र उनीहरुलाई लिन आएका आफन्तहरुले कारागार प्रांगणलाई खुशीमय बनाएका थिए।

कोही गाडी लिएर आएका थिए। कोही अटो रिक्सामा। आ–आफ्ना सामान बोकेर अटोरिक्सा र गाडी राखेर निमित्त जेलर श्याम लामिछानेलाई कोहीले नमस्कार त कोही हात हल्लाउदै कारागारबाट बाहिरिएका थिए।

आममाफी पाएका बन्दीहरु चंगाजसरी बाहिरिदा भित्रका बन्दीहरुले निन्याउरो हुँदै हेरिरहेका थिए। कोही युवा, बयस्क, बृद्ध, महिला खुशी हुँदै कारागारबाट बाहिरिए।

बहुविवाहमा कारागार आइपुगेका नविन खड्का र चन्द्रा खटालाले छोरा लिएर गए। गर्भवती अवस्थामा कारागार आइपुगेकी चन्द्राले कारागारमै छोरा जन्माएकी थिइन्। छोराको नाम के राख्नुभयो नि ?

चन्द्राले भनिन्, म त अस्पतालमा थिए। यहीका पूजारीले सविन राखिदिए।’ बुवाको नाम नविन, छोराको नाम सविन मिलेकै छ, जेलर लामिछानेले हँसाए। चन्द्रा कारागार भित्रिदा गर्भवती मात्रै होइन, एक बच्चीसहित आएकी थिइन्। मंगलबार चारैजना बाहिरिए।

नेपालगञ्ज कारागारले ३५ जनाको नाम सिफारिस गरेको थियो। त्यसमध्ये सरकारले ३० जनालाई आममाफी दियो। आममाफी पाउनेमा ज्यान मुद्दाका ११, सवारी ज्यानका ८, चोरीका ५, बहुविवाहका चार, ज्यान मार्ने उद्योगका २ जना रहेका छन्। मंगलबार छुट्नेमा चार जना महिला रहेका छन्।
पाँच जना परेनन्।नेपालगञ्ज कारागार प्रशासनले सिफारिस गरेका पाँच जनाले आममाफी पाएनन्।

३५ जनाको नाम पठाएकोमा माथिबाट ३० जनाको मात्रै नाम आयो। अहिले पनि नाम नआएका बन्दीको नाम कारागार प्रशासनले पटक पटक सिफारिस गरिसकेको छ। मंगलबार छुटेका ३० जनामा दुई जनाको नाम दोस्रो पटक परेको थियो भने बाँकी पहिलो पटककै थिए।

सिफारिसमा परेर पनि फेरि घर जान नपाएकामा दुई जना कर्तब्य ज्यान, दुई जना नागरिकता र एकजना चोरीका छन्। सरकारले ४० प्रतिशत कैद भुक्तान गरेका बन्दीलाई आममाफी दिने गर्दछ। आममाफी बलात्कार, लागु औषधमा हुँदैन। नेपालगञ्ज कारागारमा यी दुई मुद्दाका बन्दी अधिक रहेका छन्।

यसपाली त सिफारिस कार्यान्वयन हुन्छ कि भनेर बसेका पाँच जना फेरि थच्चिएका छन्। नेपालगञ्ज कारागारमा एकजना पाँच पटक सिफारिस भएपनि आममाफी नपाएका छन्। मंगलबार छुट्नेमा २७ जना बाँके, मुगु, बर्दिया र दाङका एक/एकजना थिए।

अब ६ सय २७ जना

नेपालगञ्ज कारागारमा अझै ६ सय २७ जना बन्दी रहेका छन्।तीन सय हाराहारीको क्षमता रहेको यो कारागारमा अझै बन्दीको संख्या अधिक रहेको छ।

निमित्त जेलर श्याम लामिछानेले ५६ जना महिलासहित ६ सय २७ जना बन्दी रहेको बताए। उनका अनुसार, अब कारागारमा नाबालक छैनन्।नेपालगञ्ज कारागारमा कर्तब्य ज्यान, ब्राउनसुगर र बलात्कारका अधिक बन्दी रहेका छन्।

सीमावर्ती जिल्ला भएकाले अपराधको श्रृंखला बाँकेमा बढी नै रहने गर्दछ। बाँकेको गनापुर र नौबस्तामा दुई ठूला कारागार बन्दै गरेकाले त्यो सम्पन्न भएपछि केही राहत हुने सम्बद्धले बताएका छन्।

जेठ १५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्