छिन्नलता गीत पुरस्कार घोषणा–शान्ती ठटालसहित ७ कलाकार सम्मानित हुने

नेपाली चलचित्रकी पहिलो महिला संगीतकार शान्ती ठटाल । तस्बिर : टंक ढकाल/देश सञ्चार

काठमाडौँ – छिन्नलता गीत पुरस्कार–२०७४ यो वर्ष नेपाली चलचित्रकी पहिलो महिला संगीतकार एवम् गायिका शान्ती ठटाल र गीतकार शिवशंकर थापालाई प्रदान गरिने भएको छ ।

छिन्नलता गीत पुरस्कार गुठीको जुरीले नेपाली संगीतमा लामो समयदेखि पुर्‍याएको योगदानका लागि संगीतकार ठटाल र गीतकार थापालाई छिन्नलता विशेष सम्मान प्रदान गर्न लागिएको हो । यो सम्मानको राशी ५१ हजार रुपैयाँ छ ।

विज्ञापन

यस्तै छिन्नलता गीत पुरस्कार यस वर्ष गायनमा संगीता राना प्रधान, संगीतमा बसन्त क्षेत्र तथा गीत रचनामा ज्ञानेन्द्र गदाललाई प्रदान गरिने भएको छ ।

तीनवटै विधाको राशी ५१ हजार रुपैयाँ नै रहेको छ । यस्तै छिन्नलता गीत पुरस्कार भने यो वर्ष निकै चर्चामा रहेको गीत, कुटुमा कुटुका लागि गायिका मेलिना राई तथा संगीतकार राजनराज शिवाकोटीलाई प्रदान गर्ने निर्णय भएको गुठीले जनाएको छ । यो पुस्कार ३५ हजार रुपैयाँ रहेको छ । पुरस्कार आउँदो साउन ७ गते विशेष कार्यक्रम गरी प्रदान गरिने छ ।

पुरस्कार कलाको सम्मान रहेको र त्यसमा पनि नेपालबाट गरिने सम्मानले आफूलाई जहिले भावुक बनाउने गरेको अहिले दार्जिलिङमा रहेकी संगीतकार शान्ती ठटालले बताइन् ।

उनले देश सञ्चारसँग भनिन्, ‘यो सम्मान मेरा लागि सम्मान भन्दा पनि माया र आफ्नोपन हो जस्तो लाग्छ । यो कलाकार भन्ने जात निकै भावुक होइँदो रैछ । कुरा त सम्मानको हो नि तर मनभरिएर आउँछ ।’

नेपाल भन्दा बाहिर रहेर पनि नेपाली संगीतमा गरेको आफ्नो योगदानको कदरसँगै सम्मानले आफ्नोपनको पनि आभास हुने उनले बताएकी छन् ।


देश सञ्‍चार प्रालिद्वारा संचालित देश सञ्‍चार डटकममा प्रकाशित कुनै पनि सामाग्री देश सञ्‍चार प्रालिको पूर्व जानकारी विना हुबहु एवं आंशिक रुपमा समेत कपी गरी प्रकाशन गर्नु दण्डनीय छ। यस किसिमका कार्य गर्ने उपर देश सञ्‍चार प्रालि नेपाल कानुनी उपचार खोज्न बाध्य हुने भएकाले सम्बन्धित सबैलाई सचेत हुन जानकारी गराइन्छ।

जेष्ठ १५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्