मेस्सीले गरे ह्याट्रिक, विश्वकपअघि अर्जेन्टिनाको उत्कृष्ट लय

विश्वकप फुबलको तयारीमा रहेको अर्जेन्टिनाले आफू बलियो दाबेदार टिमको रुपमा प्रस्तुत गरेको छ ।

रुसमा १५ दिनेपछि सुरु हुने विश्वकपको तयारीमा रहेको अर्जेन्टिनाले बुधबार बिहान भएको मैत्रीपूर्ण खेलमा हाइटीमाथि ४–० को शानदार जित दर्ता गरेको छ ।

घरेलु मैदानमा ब्युनेस एयरसमा भएको खेलमा स्टार स्ट्राइकर लियोनल मेस्सीको ह्याट्रिकको सहयोगमा अर्जेन्टिनाले भ्रमण टोली हाइटीलाई ४–० ले हराएको हो ।

अर्जेन्टिना मेस्सीकै ह्याट्रिकको सहयोगमा विश्वकपका लागि छनौट हुन सकेको थियो । दक्षिण अमेरिकी क्षेत्रको छनौट अन्तर्गत समस्यामा रहेका बेला अन्तिम खेलमा इक्वेडरमाथि मेस्सीको ह्याट्रिकमा अर्जेन्टिनाले जित निकाल्दै रुस यात्रा तय गरेको थियो ।

अहिले रुस लाग्नु पूर्वको वार्मअप खेलमा अर्जेन्टिनाले उत्कृष्ट लय प्रस्तुत गरेको हो । अर्जेन्टिनाका लागि मेस्सीले तीन तथा सर्जिओ अग्युरोले एक गोल गरे ।

१७ औँ मिनेटमा पाएको पेनाल्टीमा मेस्सीले गोल गर्दै पहिलो हाफमा १–० को अग्रता दिलाए । उनले ५८ र ६६ औँ मिनेटमा गोल गरी ह्याट्रिक पूरा गरे । अग्युरोले ६९ औँ मिनेटमा गोल गर्दै टिमलाई ४–० को जित दिलाए ।

यस्तै यो खेलमा जाविएर मास्चेरानाले विशेष सम्मान पाए । उनले राष्ट्रिय टिमबाट सबैभन्दा धेरै खेलमा प्रतिनिधित्व गर्ने खेलाडीको कीर्तिमानमा बराबरी गरेका छन् । उनले १४३ खेल खेलेका अर्जेन्टिनाका जाविएर जानेट्टीको कीर्तिमानमा बराबरी गरेका हुन् ।

मास्चेरानो आफ्नो सानो छोरासहित मैदानमा आएका थिए । उनको छोराले उनकै कमोमोरेटिभ जर्सी लगाएका थिए । विश्वकपका लागि अर्जेन्टिना समूह डी मा छ । यो टिममा आइसल्याण्ड, क्रोएसिया र नाइजेरिया पनि छन् ।

जेठ १६, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्