अर्जेन्टिनाकाे २५ वर्षे भोक र ‘अधुरा’ मेसी

ब्युनेस एयर्स- दुई सातापछि रुसमा सुरु हुने विश्वकप फुटबलको अभ्यास खेलमा साविक उपविजेता अर्जेन्टिनाले विजय सुरुवात गर्‍यो, म‌ंगलबार राती हाइटीलाई ४-० गोलले पराजित गर्दै। हाइटी विश्वकप बाहिरको टोली भएपनि गोलको संख्याको हिसाबले अर्जेन्टिनाले विश्वकप अघि आफुलाई बलियो देखाएको छ।

अर्जेन्टिनाको जितमा स्टार स्ट्राइकर लियोनल मेसीले ह्याट्रिक गरे। विश्वकप छनोटको अन्तिम खेलमा मेसीकै ह्याट्रिकमा अर्जेन्टिनाले विश्वकपमा स्थान बनाएको थियो। त्यसयता खेलेको अन्तिम खेल (मैत्रिपुर्ण)मा अर्जेन्टिनाले स्पेनसँग, जुन खेलमा मेसीले खेलेका थिएनन्, ६-१ गोलले पराजित भएको थियो। यस अर्थमा, अर्जेन्टिनी फुटबलमा मेसीले आफ्नो आवश्कयता बुझाउँदै आएका छन् पटक पटक।

हरेक विश्वकपमा अर्जेन्टिना उपाधिको दाबेदार टोली हो। अझ मेसीले खेल्न थालेयता अर्जेन्टिनामाथी विश्व फुटबलको नजर पर्ने गर्दछ। मेसीले आफ्नो खेलाडी जिवनमा सबै कुरा पाए, मात्र सिनियर राष्ट्रिय टोलीका लागि उपाधि जित्न सकेका छैनन्।

यहि कुराले उनलाई महान् तर अधुरो खेलाडी बनाएको छ। भनिन्छ, एउटा खेलाडीले अरु जहाँसुकै र जस्तो सुकै सफलता हात पारोस् तर सिनियर राष्ट्रिय टोलीका लागि उपाधि जित्न सकेन भने उ अधुरै रहन्छ। विश्वका दुई महान् खेलाडी पेले र डीएगो म्याराडोनाले पनि यही भन्दै आएका छन्। ब्राजिलियन पेलेले तीन पटक र अर्जेन्टिनी म्याराडोनाले एक पटक विश्वकप जितेका थिए। विश्व फुटबलमा यी दुईमध्ये को बढी महान् भन्ने अहिले पनि बहसमै छ। यस्तै बहस छ अहिले पोर्चुगलका क्रिस्टियानो रोनाल्डो र मेसीबीच पनि।

दुवै खेलाडी पाँच /पाँच पटक फिफा वर्ष खेलाडी घोषित भएका छन्। दुवैले युरोपियन च्याम्पियन्स लिग र क्लब विश्वकप जितेका छन्। दुवैको नाममा थुप्रै घरेलु लिगका उपाधि छन्। तर पछिल्ला केही वर्ष रोनाल्डो मेसीमाथी हावी छन्। सन् २०१६ को युरोकप जितेपछि सफलताको हिसाबले रोनाल्डो मेसीभन्दा केही अगाडि छन्। त्यसमा पनि उनले युरोपियन च्याम्पियन्स लिगका पछिल्ला पाँचमध्ये चार स‌ंस्करण जितेका छन्, पछिल्ला पाँचमध्ये चार फिफा वर्ष खेलाडी अवार्ड जितेका छन्।

कुनै समय लगातार चार पटक फिफा वर्ष खेलाडी घोषणा भएका मेसी ब्यक्तिगत र टिम सफलता दुवैमा रोनाल्डोभन्दा कमजोर बन्दैछन्। सिनियर राष्ट्रिय टोलीका लागि मेसीले उपाधि जित्नु कति महत्वपर्ण छ, स्वय‌ं उनी, अर्जेन्टिनी फुटबल र समर्थकले बुझेका छन्। अर्जेन्टिनाले यसबीचमा उपाधि जित्ने सम्भावना नदेखाएको होइन। लगातार तीन वर्ष तीन ठुला प्रतियोगिताको फाइनलमा पुग्यो तर उपविजेतामै सिमित भयो।

सन् २०१४ मा विश्वकप तथा सन् २०१५ र २०१६ मा कोपा अमेरिकामा अर्जेन्टिना फाइनलमा पुग्दा सबैमा मेसीको प्रदर्शन निर्णायक भयो। तर पछिल्लो प्रतियोगिताको फाइनलमा चिलिसँग टाइब्रेकरमा पराजित भएपछि मेसीले, जो टाइब्रेकरको पहिलो प्रहारमै चुकेका थिए, अप्रत्यासितरुपमा सन्याशको घोषणा गरे अन्तर्राष्ट्रिय फुटबलबाट।

‘आफ्नो भागमा सिनियर राष्ट्रिय टोलीबाट उपाधि जित्न लेखेको रहेनछ’भन्दै भावविह्वल मुद्रामा सन्याश घोषणा गरेका मेसीले केही महिनापछि नै सन्याश फिर्ता लिए, चौतर्फी दबाबपछि खासगरी अर्जेन्टिनी फुटबल ब्यवस्थापन र समर्थकको दबाबले। र विश्वकप छनोटको अन्तिम खेलमा जित्नैपर्ने नतिजा निकाल्ने दबाबसाथ इक्वेडरविरुद्ध उत्रिएको अर्जेन्टिनाका लागि मेसीले शानदार तीन गोल गरी दिए र विश्वकप छनोट सहज बन्यो।

अर्जेन्टिनाले सन् १९९३ यता सिनियर अन्तर्राष्ट्रिय फुटबलमा उपाधि जित्न सकेको छैन। अझ सन् १९८६ यता विश्वकपको उपाधिबिहिन छ। अर्जेन्टिना  सन् १९९० को विश्वकपमा पनि फाइनल पुगेको थियो तर तत्कालिन पश्चिम जर्मनीसँग पराजित भएको थियो। ती दुवै प्रतियोगितामा म्याराडोना चर्चाको शिखरमा थिए।

तर सन् १९९० पछि २४ वर्षसम्म अर्जेन्टिना  विश्वकपको फाइनल पुग्न सकेको थिएन। अर्जेन्टिना र मेसी दुवैलाई यसपटक विश्वकप उपाधि जित्ने राम्रो अवसर छ। मेसीलाई भने उमेरका हिसाबले यो सम्भवत अन्तिम अवसर हुने छ।

अर्जेन्टिना   फिफा वरियतामा  पहिलो पटक सन् २००७ मा  पहिलो स्थानमा पुगेको थियो र त्यसयता पटक पटक यो सफलता हात पारिसकेको छ। हाल वरियतामा पाँचौं स्थानमा रहेको अर्जेन्टिनाले आगामी विश्वकपका लागि टोली घोषणा गरिसकेको छ। टोलीको बेन्च कम अनुभवी छ।

अन्तिम समयमा सर्जियो रोमेरो घाइते भएपछि गोलरक्षकको चिन्ता पनि अर्जेन्टिनालाई देखिएको छ। टिममा राखिएका तीनवटै गोलरक्षकले अन्तर्राष्ट्रय फुटबलमा निकै थोरैमात्र खेल खेलेका छन्। क्लब फुटबलमा समेत उनीहरुको प्रभाव देखिँदैन। टोलीको सबैभन्दा राम्रो पक्ष भनेको अग्रपंक्ती नै हो।

मेसी अर्जेन्टिनाका सर्बकालिन सर्वाधिक गोलकर्ता हुन्। उनले एक सय २४ खेल खेल्दै ६४ गोल गरेका छन्। टोलीमा रहेका अन्य स्ट्राइकरमध्ये सर्जियो एगुएरोले ८५ खेलमा ३७ गोल, गोन्जालो हिगुएनले ७१ खेलमा ३२ गोल गरेका छन् भने पाउलो डिबालाले १२ खेल खेलेपनि गोल गर्न सकेका छैनन्।

यी चारैजना स्ट्राइकरले यो सिजन क्लब फुटबलमा घरेलु लिगको उपाधि जितेका थिए।  गोलरक्षक मध्ये ३२ वर्षीय नाहुज गुजम्यानले ६ पटक र ३६ वर्षीय विलि कालाबेरोले तीन पटक सिनियर राष्ट्रिय टोलीका लागि खेलेका छन् भने ३१ वर्षीय फ्रान्को अर्मानीले अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गर्ने मौका पाएका छैनन्।

समूह ‘डी’मा रहेको अर्जेन्टिनाले पहिलो चरणमा आईसल्यान्ड, क्रोएसिया र नाइजेरियासँग प्रतिस्पर्धा गर्दै छ। पहिलो खेल जुन १६ तारिखमा आइसल्यान्डसँग छ।

जेठ १६, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्