कर्णाली सरकार

बजेट कार्यान्वयन गर्ने बाटो खुल्यो

सुर्खेत-चालु आर्थिक वर्षको अन्तिममा आएको बजेट कार्यान्वयनका लागि कर्णालीमा प्रदेश सरकारले कानुनी बाधाहरू फुकाएको छ।

कानुनी अवरोध हुँदा सरकारले हालै विनियोजन गरेको एक अर्व दुई करोड पाँच लाख बजेट खर्च गर्न सकेको छैन।

आर्थिक वर्ष सकिन लाग्दासमेत बजेट खर्च हुन नसकेपछि सरकारले बजेट खर्च गर्ने बाटो खोलेको हो। जसका लागि मन्त्रिपरिषद्को बैठकबाट कानुनी अड्चनहरू फुकाएको छ।

केन्द्र सरकारबाट हस्तान्तरण भएको एक अर्ब दुई करोड पाँच लाख रकम विनियोजन गरेको सरकारले कार्यान्वयनका लागि जिल्ला र स्थानीय सरकारका संयन्त्र र कर्मचारी परिचालन गर्ने भएको हो।

मन्त्रिपरिषद्को बैठकबाट चालु आव २०७४/७५ को बजेट कार्यान्वयन सम्बन्धी देखिएका कानुनी वाधा मातहतका अधिकृत कर्मचारीलाई अधिकार प्रत्यायोजन गरी कार्यान्वयन गर्नका लागि फुकाउने निर्णय भएको हो।

‘अब सबै मन्त्रालयको काम रफ्तारमा हुन्छ भन्ने विश्वास गर्न सकिन्छ’ भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री बिमला केसीले भनिन्, ‘प्रदेश सरकारले मात्रै पुरै बजेट कार्यान्वयन गर्न नसक्ने भएकाले प्रदेश तहका मन्त्रालयले जिल्लाका संरचनामा समन्वय गरी अगाडि बढ्नसक्ने र मन्त्रालयका कर्मचारी पठाउन उक्त निर्णयले सहज भएको छ।’

प्रदेश सरकारसँग पर्याप्त जनशक्ति नभएकाले जिल्ला समन्वय समिति र स्थानीय तह लगायतका सरकारी अड्डामार्फत् समन्वय गरी अधिकृत कर्मचारी खटाइने कर्णाली सरकारका प्रवक्तासमेत रहेकी मन्त्री केसीले बताइन्।

केन्द्र सरकारले गत चैत–२८ गते जिल्ला तहका केही कार्यालय खारेज गरेपनि बाँकी रहेका कार्यालयसँग समन्वय गर्ने भएको हो। पुरै बजेट कार्यान्वयन गर्न चुनौती भएको भन्दै सरकारले बुधबारदेखि कर्मचारी परिचालन गरेको छ।

‘तीन–तीन जनाको समुहमा मन्त्रालयका कर्मचारीको जिम्मेवारी बाँडफाँड गरेर बजेट कार्यान्वयनमा सरकार अगाडी बढेको छ, उनले भनिन् ,‘आफ्नो संरचना नभएका सरकारले निर्णय गरिसकेकाले आगामी दिनमा कर्मचारी छैनन्, संरचना अभाव छ भन्ने मिल्ने छैन्।’ उनले पूर्ण बजेट कार्यान्वयन हुन नसक्ने बताइन्।

यसैबीच कर्णाली प्रदेश सरकारको मन्त्रीपरिषद वैठकले मुख्यमन्त्री राहत सहायता कोष निर्देशिका-२०७५ को दफा ७ (२) को संशोधन प्रस्ताव पारित गरेको छ। कर्णाली प्रदेश वित्तिय हस्तान्तरण सम्वन्धमा व्यवस्था गर्न वनेको विधेयक २०७५को मस्यौदा प्रदेश सभामा पेश गर्न स्वीकृति प्रदान गरिएको उनले बताइन्।

जेठ १६, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्