विश्वकप २०१८

ब्राजिललाई तर्साएको जमर्नी : चार वर्षपछि पनि विपक्षीमा भय उस्तै

काठमाडौँ – नयाँ विजेता नआउँदासम्मका लागि विश्व विजेता हो जर्मनी । चार वर्षअघि ब्राजिलमा भएको विश्वकप फुटबलमा घरेलु टोलीलाई नै सेमिफाइनलमा ७–१ को जित निकालेर जर्मनीले विश्वभरका सनसनी मच्चाएको थियो ।

त्यसपछि फाइनलमा स्टार स्ट्राइकर लियोनल मेस्सीको टिम अर्जेन्टिनालाई १–० ले हराएर जर्मनी विश्व विजेता बन्यो ।

चार वर्षअघि उपाधि उचालेको जर्मनीलाई जनु १४ देखि रुसमा सुरु हुने विश्वकप फुटबल २०१८ को पनि उपाधि दाबेदारका रुपमा हेरिएको छ ।

स्टार खेलाडीले भरिएको जर्मनीले यो पटक पनि उपाधि लैजान्छ भन्ने धेरै छन् र यो त्यसै गरिएको विश्लेषण पक्कै होइन । विश्व विजेता बनेको चार वर्षपछि पनि जर्मनीको लय उस्तै छ । अनि विपक्षी टिममा उसको भय पनि ।

फिफा बरियतामा शीर्ष स्थानमा रहेको जर्मनी ब्राजिलको कीर्तिमानमा बराबरी गर्ने लक्ष्यमा छ यसपटक । ब्राजिलले सन् १९५८ र १९६२ मा लगातार विश्व विजेता बनेर कीर्तिमान बनाएको थियो।

अहिले जर्मनी त्यो कीर्तिमानमा बराबरी गर्ने दाउमा छ । उसले यसपटक विश्वकप जितेमा उ त्यस्तो गर्ने ब्राजिल पछिको टिम बन्ने छ ।

टिम


रुस विश्वकपका लागि जर्मनीको प्रारम्भिक टिम घोषणा भइसकेको छ । २७ सदस्यीय टोलीमा केही फेरबदल हुन सक्छ ।

टोलीमा सन् २०१४ को विश्वकप फाइनलमा विजयी गोल गरेर उपाधि दिलाएका मारिओ गोटेज परेका छैनन् । उनले चार वर्षअघि ब्राजिलमा भएको विश्वकपमा फाइनलमा अतिरिक्त समयमा अर्जेन्टिना विरुद्ध गोल गर्दै जर्मनीलाई चौथो पटक विश्वकपको उपाधि दिलाएका थिए ।

तर गएको सेप्टेम्बरदेखि चोटका कारण मैदान बाहिर रहेका बार्यन म्युनिखका गोलरक्षक म्यानुएल नुयर भने टोलीमा परेका छन् ।

गोलरक्षक : बेन्र्ड लिनो, म्यानुएल नुयर, मार्क आन्द्रे टेर स्टेगेन, केविन ट्राप्प

डिफेन्डर : जेरोमी बोएट्ङ, माथिएस गिन्टर, जोनास हेक्टर, म्याट्स ह्युमेल्स, जोशुए किमिच, मार्विन प्लाटेनहार्ड्ट, एन्टोनिओ रुडिगर, निक्लास सुली, जोनथन टाह

मिडफिल्डर : जुलियन ब्रान्डट्, जुलियन ड्रेक्सलर, लिओन गोरेट्स्का, इलकाइ गुण्डोगान, सामी खेडिरा, टोनी क्रस, मेसुट ओजिल, सेबास्टियन रुडी, लिरोय साने

स्ट्राइकर : मारिओ गोमेज, थोमस मुलर, निल्स पिटरसन, मार्को रुइस, टिमो वार्नर

समूह


रुस विश्वकपका लागि साबिक विजेता जर्मनी समूह एफ मा छ । उसले समूह चरणमा मेक्सिको, स्वीडेन र दक्षिण कोरियासँग खेल्नु पर्नेछ ।

यो समूहका मेक्सिको र स्वीडेन पनि बलिया टोली हुन् । जर्मनीले आफ्नो पहिलो खेलमा जुन १७ मा मेक्सिकोसँग प्रतिस्पर्धा गर्नेछ ।

विश्वकप इतिहास


अहिलेसम्म १८ पटक विश्वकप खेलेको जर्मनी ब्राजिलपछिको सबैभन्दा सफल टिम हो । सन् १९३४ देखि विश्वकप खेल्न थालेको जर्मनी अहिलेसम्म चार पटक विश्व विजेता बनेको छ ।

उसले पहिलो पटक सन् १९५४ मा उपाधि उचालेको थियो भने पछिल्लो पटक सन् २०१४ मा उ विजेता बन्यो । त्यसअघि सन् १९७४ र १९९० मा पनि उसले विश्व विजेताको स्वाद लिएको थियो ।

चार वर्षअघि विश्व विजेता बन्नका लागि जर्मनीले २४ वर्ष पर्खेको थियो । अहिलेसम्म १३ पटक सेमिफाइनलमा पुगेको जर्मनीले ८ पटक फाइनल खेलेको छ र चार पटक उपाधि जितेको छ ।

प्रशिक्षक


चार वर्षअघि उपाधि जिताएका योआखिम लो नै अहिले पनि जर्मनीको प्रशिक्षक छन् । उनी सन् २००६ देखि जर्मनीको प्रशिक्षक रहेका उनी जर्मनीका लागि राम्रो प्रशिक्षक साबित भएका छन् ।

दशक भन्दा लामो प्रशिक्षणकालमा उनले जर्मनीलाई जितको त्यो बाटोमा लगेका छन्, जसले उनलाई सबै माझमा सम्झिने बनेका छन् ।

उनले पछिल्लो पटक गएको वर्ष, सन् २०१७ मा फिफा कनफेडेरेसन कपको उपाधि दिलाए । जर्मनीले गएको अक्टोबर ८ मा अजरबैजानलाई ५–१ ले हराएसँग विश्वकपमा स्थान बनाएको थियो।

स्टार खेलाडी


जर्मनीका एक होइन सबै खेलाडी स्टार छन्, प्रभावशाली छन् । तर त्यसमा पनि रियल मड्रिडबाट खेल्ने टोनी क्रसको प्रभाव बलियो रहन्छ ।

उनी विश्वमा यो पुस्तका एक उत्कृष्ट मिडफिल्डर हुन् । उनले बार्यन म्युनिख र रियल मड्रिडबाट च्याम्पियन्स लिगको उपाधि पनि जितेका छन् ।

मारिओ गोमेज, थोमस मुलर, म्यानुएल नुयर, इलकाइ गुण्डोगान, सामी खेडिरा, टोनी क्रस, मेसुट ओजिल, सेबास्टियन रुडी, लिरोय साने सहितका प्रभावशाली खेलाडी छन् ।

जेठ १७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्