खप्तड काव्य यात्रामा रमाए कवि-साहित्यकारहरु

खप्तड पुगेका कवि-साहित्यकारहरु सामूहिक तस्बिर खिचाउँदै।

खप्तड– खप्तड क्षेत्रको सौन्दर्यलाई साहित्यमा प्रवेश गराई पर्यटन प्रवद्र्धनमा सघाउ पुर्‍याउन राजधानीको कन्सेप्ट नेपालले खप्तड काव्य यात्रा २०७५ आयोजना गरेको छ। जेठ १० गते खप्तडमा मनाइएको गंगा दशहरा मेला भर्ने उद्धेश्यले सुरु गरिएको यात्रामा दुई दर्जन कवि, लेखक तथा पत्रकार सहभागी थिए।

टोलीले खप्तडमा तीन रात बितायो। त्यहाँ काव्य यात्रीले त्रिबेणीधामको गंगा दशहरा मेला भर्नुका साथै खप्तड क्षेत्रका पाटन, खप्तड ताल, सहस्रलिंग, खप्तड बाबा आश्रम र त्रिबेणीधाम भ्रमण गरेका थिए।

साहित्यिक पर्यटन मार्फत खप्तडको पर्यटन प्रवद्र्धन हुनेमा आयोजक विश्वस्त छ। खप्तड काव्य यात्राका संयोजक अमृत भादगाउँलेका अनुसार काव्य यात्रीले धनगढीको वायुयान संग्रहालयका साथै डोटीका तीर्थस्थलहरु शैलेश्वरी, सालमुनि र भागेश्वर मन्दिर दर्शन गरेका थिए।

जेठ ६ गतेदेखि १३ गतेसम्म चलेको काव्य यात्रामा व्याकुल माइला, अभय श्रेष्ठ, भूपिन, घनश्याम खड्का, निमेष निखिल, हेमन्त विवश, हेमन यात्री, गनेस पौडेल, सागर उदास, आरके अदिप्त गिरि, उदय अधिकारी, अमृत सुवेदी, दिपेन्द्रसिंह थापा, टोपेन्द्र शाह, सुरेन्द्र राना, होमनाथ भण्डारी, चन्द्र काफ्ले, तारानाथ पहारी, अरुण बम र अमृत भादगाउँले लगायत थिए।

यात्राकै सदस्यहरु सुदिप पौडेल, रञ्जन राजभण्डारी, देवेन्द्र बस्न्यात र गोपाल श्रेष्ठले खप्तडमा साइक्लिङ पर्यटनको अध्ययन गरेका थिए। उनीहरु माउन्टेन बाइक सहित खप्तड पुगेका हुन्।

यात्रामा कन्सेप्ट नेपालले डोटीका तीन जना संस्कृतिकर्मीलाई खप्तड काव्य सम्मान प्रदान एवं राष्ट्रिय गानका लेखक व्याकुल माइलाले कलाकार धनबहादुर मल्ल, डेउडा गायक गोपाल पार्की र हुड्केली कलाकार पदम नेपालीलाई जनही दश हजार रुपैयाँ र सम्मान पत्र प्रदान गरेका थिए।

संस्कृति संरक्षणमा महत्वपूर्ण योगदान पुर्‍याएका भुइँमान्छेलाई सम्मान गरिएको पुरस्कार छनोट समितिका संयोजक कवि हेमन्त विवशले जानकारी दिएका छन्।

यात्राको प्रवद्र्धक नेपाल पर्यटन बोर्ड छ भने सहयोगीहरुमा डोटी उद्योग वाणिज्य संघ, रैका टुर्स एण्ड ट्राभल्स, पूर्वी चौकी गाउँपालिका डोटी, नव जीवन सहकारी धनगढी, एभियसन म्युजियम काठमाडौं, शिखर नगरपालिका–१० डोटी, खप्तड राष्ट्रिय निकुञ्ज, मध्यवर्ति क्षेत्र व्यवस्थापन समिति लगायत छन्।

काव्य यात्रीको अनुभव संगालेर एउटा पुस्तक, खप्तडको बुकलेट प्रकाशन गर्नुका साथै खप्तड र साइक्लिङको छुटछुटै वृत्तचित्र निर्माण गरिने जनाइएको छ।

जेठ १७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्