सांग्रिला बुक्स अब भारतमा पनि

काठमाडौँ- विगत एक दशकदेखि सञ्चालनमा रहेको सांग्रिला बुक्स सांग्रिला बुक्स पब्लिकेसन्स – इन्डियाका रुपमा भारतबाट समेत सञ्चालनमा आउने भएको छ।

‘सांग्रिला बुक्स पब्लिकेसन्स – इण्डिया’ नाममा प्रकाशन संस्था दर्ता भएको र हाललाई यसको प्रधान कार्यालय उत्तर बङ्गाल राज्यको सिलिगुडी, प्रधाननगरमा छ। सांग्रिला बुक्स – इन्डियाले नेपाल र भारतमा रहेका नेपाली भाषी लेखक र पाठकको बीचमा पुलको काम गर्ने उद्देश्य लिएको छ। नेपाली भाषा र साहित्यमा भारतीय नेपालीभाषी श्रस्टाहरुले पुर्‍याएको योगदान अविस्मरणीय छ। नेपाल र भारतमा रहेका स्रस्टा र पाठक बीचको सेतु अझै प्रगाढ बनाउने साथै भाषिक र सांस्कृतिक रुपमा दुई मुलुकमा रहेका नेपालीभाषी समुदायलाई जोड्ने संस्थाको लक्ष्य छ।

पब्लिकेसन्सले प्रधाननगरस्थित भानुभक्त समिति भवनमा रहेको कार्यालयमा बुक क्याफे समेत सञ्चालन गर्दैछ जहाँ नेपालीभाषामा प्रकाशित पुस्तकहरु समेत उपलब्ध हुने र अंग्रेजी, हिन्दी एवं बङ्गाली साहित्यका पुस्तक समेत सांग्रिला बुक्स इन्डियाको सोरुममा उपलब्ध हुने छ।

सांग्रिला बुक्स-इन्डियाले भारतमा रहेका नेपालीभाषी श्रस्टाका पुस्तक प्रकाशन गर्नुका साथै नेपाली साहित्यका कृतिहरुलाई अंग्रेजी, हिन्दी र बंगाली भाषामा समेत अनुवाद गर्ने र ती भाषाका उत्कृष्ट कृतिहरुलाई नेपाली भाषामा समेत अनुवाद गर्ने योजना बनाएको छ।

प्रधाननगरस्थित कार्यलयमा बुक क्याफेका साथै कला-साहित्य र संगीतसँग सम्बन्धित बिबिध कार्यक्रम र कार्यशाला  समेत संचालन गर्ने योजना छ।

सांग्रिला बुक्स-इन्डियाको संचालकमा,  सांग्रिला बुक्स नेपालका तर्फबाट मणि शर्माका साथै भारतका चर्चित कवि-लेखक राजा पुनियानी र मनोज बोगटी छन्। पुनियानीले सांग्रीला बुक्स- इन्डियाको सिईओ र बोगटीले प्रकाशन प्रमुखको जिम्मेवारी खेल्नेछन्।

जेठ १७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्