पत्रकार लक्ष्मी लम्सालको पुस्तक ‘निहाउ! नमस्ते!’ कस्तो छ?

काठमाडौं – लामो समयदेखि रेडियो पत्रकारिता गर्दै आएका पत्रकार लक्ष्मी लम्साल ‘लक्ष्मीपूजा’ को ‘निहाउ! नमस्ते!’ नामक पुस्तक सार्वजनिक भएको छ।

बुधबार ललितपुरमा आयोजित एक कार्यक्रममा विभिन्न क्षेत्रका पत्रकारहरुले संयुक्तरुपमा यो पुस्तक सार्वजनिक गरेका हुन।

बुलबुल पब्लिकेशनद्वारा प्रकाशित सो पुस्तकमाथि पत्रकार तीर्थ कोइराला, अमृता लम्साल र पवन आचार्यले समीक्षा गरेका थिए।

पुस्तकमा लेखकले आफ्नो चीन बसाइका क्रममा बटुलेको अनुभव, खासगरी चिनियाँ जीवन शैली, बदलिँदो चीनको विकासक्रम, नेपाल–चीन सम्बन्धको इतिहास, भविष्य र दुई पक्षीय सम्बन्ध विस्तारका आयामहरू बारे चर्चा गरेका छन्।

उक्त अवसरमा पत्रकार कोइरालाले पुस्तकबाट चीन चियाउन सजिलो हुने बताए। हालसम्म पश्चिमा मिडियाबाट चीनबारे जानकारी लिइरहेकाका लागि पत्रकारको आफनो अनुभवले चीन घुमेजसरी जानकारी लिन सहयोग पुग्ने उनको भनाई थियो।

पुस्तकी टिप्पणीकार अमृता लम्सालले पुस्तकमा लैंगिक विभेदका ठाउँ धेरै भएको र रेडियो पत्रकार पवन आचार्यले पुस्तकमा भाषिक कमजोरी रहेको तर त्यसमा सुधार गर्न सकिनेमा जोड दिए।


चीनले अघि सारेको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीरआरआई) बाट नेपाल लगायत विश्वलाई हुनसक्ने फाइदा, चिनियाँ रेलका विषय, नेपालप्रतिको चिनियाँ जनताको अवधारणा, चीनको गरिबी निवारणका सुत्रहरू, शक्तिशाली बन्दै गइरहेका चीनका राष्ट्राध्यक्ष सी चिन फिङको पारिवारिक जीवनका बारेमा पनि पुस्तकमा उल्लेख गरिएको छ।

चीन र नेपालको मित्रलाई प्रगाढ बनाउन योगदान पुर्याएका ऐतिहासिक व्यक्ति मन्जुश्री, सोङ्गचान गम्पो, भृकुटी, अरनिको, चिनियाँ तथा नेपाली यात्रीहरू, नेपालका तत्कालीन राजाहरूको चिनियाँ नेताहरू माओत्सेतुङ, चाउएनलाई, च्याङ च मिन लगायतसँगको साक्षात्कारबाट ऐतिहासिक सम्बन्धलाई वर्तमान युगसम्म जोड्न खोजिएको छ।


विगत छ वर्षदेखि चिनको राजधानी बेइजिङमा रहेर रेडियो पत्रकारिता गर्दै आएका लेखकले आफ्नो अनुभव यस पुस्तकमा उतारेका हुन्।

जेठ १७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्