काम नगर्ने ठेकेदारलाई कारबाही गर्ने सिडिओको चेतावनी

नेपालगञ्‍ज-बाँकेका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले समयमा काम नसक्ने ठेकेदार कम्पनीलाई कारबाही गर्ने चेतावनी दिएका छन् ।

बाँकेको ठेकेदारहरुलाई बोलाएर प्रजिअ केसीले समयमा काम सक्न र कुनै समस्या भए बताउन आग्रह गरेका थिए। प्रजिअ केसीले विकासमा बाधा अवरोध कतैबाट आएमा त्यो सह्य नहुने चेतावनी दिए।

उनले ठेकेदारका पनि समस्य छन् भने त्यसलाई फुकाउन आफूले सहयोग गर्ने बताए । ‘राष्ट्रिय समृद्धिको मार्गमा सबैले सहयोगी भूमिका खेल्नु पर्छ । विकासका बाधा फुकाउन हामी सहयोग गर्छौ, प्रजिअ केसीले भने, नियतबस लिंगरिङ गरेर समयमा काम नसक्ने अवस्था अब हुनुहुँदैन ।’

जिल्ला प्रशासन कार्यालयले बोलाएपछि पुगेका ठेकेदार नेताहरुले ठेक्का लगाउने अड्डाबाट सहयोग नपाएको गुनासो गरेका थिए । उनीहरुले सरकारी कार्यालयबाट उपलब्ध गराइएको डिजाइन र स्टीमेट उपलब्ध नभएको र काठमाडौंबाट कन्सल्टेन्सीहरुले उपलब्ध गराएको डकुमेन्टका आधारमा ठेक्का लगाउने गरेको आरोप लगाए ।

ठेक्का लगाउने अड्डाले आइपरेका समस्याहरु समाधान गर्न सहयोग नगरेको, प्राविधिक डिटेल सर्वे नगर्दा फिल्डमा काम गर्न अप्ठेरो परेको, काम सकेपछि पैसा दिन ढिलाई हुने गरेको, साइट क्लियर समयमा नहुने, निर्माण सामाग्री पाउन नसकेको ठेकेदारहरुले गुनासो गरेका थिए।

सरकारले ठेक्का लिने तर काम नगर्ने ठेकेदारहरुलाई प्रहरी लगाएर पक्राउ गर्ने नीति अगाडि बढाएपछि ठेकेदार कम्पनीहरुमा कोलाहल मच्चिएको छ । बाँकेमा पनि दुई ठेकेदार कम्पनीका सञ्चालकलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

जिल्ला प्रशासन कार्यालय, बाँकेका प्रवक्ता खगेन्द्र पौडेलले काम छिटो सक्न र ठेकेदारलाई परेका समस्या र गुनासोहरु बुझ्नका लागि प्रमुख जिल्ला अधिकारीले सबैलाई बोलाएर छलफल गरेको बताए।

जेठ १७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्