मेरो माटो, मेरो चन्दन (अनुभव र अनुभूतिको श्रृंखला- २०)

दरबार हत्याकाण्डको त्यो रात

वीर अस्पतालमा न्यूरो सर्जरी शाखामा चापाचाप थियो। अप्रेसनका लागि कुर्ने बिरामीको संख्या धेरै थियो। उनीहरुको पीडा देखेर अप्रेसनका लागि अरु एकदिन थप्न पाए बिरामीको चाप घटाउन सकिन्थ्यो भनेर मैले करिब तीन वर्ष अनवरत कोसिस गरेँ। हप्ताको दुई दिनको अप्रेसनले मात्र त्यत्रो लोड क्लियर गर्न सक्ने कुनै सम्भावना थिएन। धेरै लामो संघर्षपछि शुक्रबार पनि एक्स्ट्रा अप्रेसनको दिन थपियो। त्यो दिन अलि ठूलो केस नै म गर्थेँ। त्यो भएपछि मेरो जम्मा हप्ताको तीन दिन अप्रेशन गर्ने दिन पुग्यो सोमबार, बिहीबार र शुक्रबार। शुक्रबार भर्खर पाएको बोनस थियो मेरो लागि, त्यही भएर ठुलठूला केसहरु त्यो दिनका लागि राख्ने गर्थें।

२०५८ जेठ १९ गते शुक्रबार परेको थियो। वीर अस्पतालमा ठूलो केस सिध्याएर म अलि अबेर नर्भिकमा पहिलो बिरामी हेर्दै थिएँ। त्यसताका मेरो प्राक्टिस के थियो भने वीर अस्पतालमा असाध्यै व्यस्त हुन्थेँ। दुईटा भएपनि अप्रेसन गर्न पायो भने गरिबहरुको उद्धार हुने।

विज्ञापन

अरुलाई कस्तो लाग्छ मलाई थाहा छैन, मलाई चाहिँ एउटा सन्तुष्ट बिरामी घर पठाउन पाए बीसौं/तीसौं लाख रुपैयाँभन्दा ठूलो उपलब्धि लाग्छ। वीर अस्पतालमा अप्रेसन गरेर सन्चो बनाएर घर फर्काउनुभन्दा ठूलो बोनस मान्छेले पाउँदैन। सरकारी अस्पतालमा बिनाखर्च त्यो स्तरको सेवा पाउनु ठूलो कुरा हो।

त्यो दिन पाएकोमा म धेरै सन्तुष्ट हुन्थेँ। त्यस कारण पनि वीर अस्पतालमा सर्जरीको दिनमा अप्रेसनका ‘ब्याक लग’ लिएर जान्थेँ। त्यो शुक्रबार पनि लामो केस राखेको थिएँ। त्यो सकेर, थाकेर अब नर्भिकमा अलिकति बिरामी हेरेर घर जान्छु भन्ने सोचेर म त्यहाँ पुगेको थिएँ।

अरुदिनहरुमा वीरबाट नर्भिकमा पुगी त्यहाँ अप्रेसन गरेर घर पुग्दा राति दुई पनि बज्थ्यो। मेरो दिनचर्या त्यसताका वीर अस्पतालमा कम्तिमा साँझ ५ बजेसम्म काम गरी त्यसपछि नर्भिकमा कि अप्रेशन कि प्राक्टिस गर्न जान्थेँ।

त्यो अवस्थामा नर्भिकमा प्राक्टिस नगरे खान पनि नपुग्ने। बाँच्न त केही गर्नै पर्थ्यो। त्यो बेलामा मेरो बाध्यता थियो। नभए ठूलो अप्रेसन सकेको दिन साँझमा सिधै घर आउन पनि पाउथेँ नि।

त्यो शुक्रबार नर्भिकमा गएर पहिलो बिरामी हेर्दै थिएँ। सायद आठ साढे नौ बजेको थियो होला रातिको। दुईचार जना अरु बिरामी कुरेर छेउमै बसेका थिए। मसँगै मेरा सहकर्मी डाक्टरहरु पनि हुनुहुन्थ्यो। उहाँहरुलाई साथमै लिएर म बिरामी हेर्दै थिएँ।

त्यतिबेलै एकजना मान्छे एकदम तनावपूर्ण अवस्थामा मेरो कोठामा क्यु तोडेर पस्नुभो। खासगरी मेरो ओपिडीहरुमा असाध्यै अनुशासन हुन्छ। अनुशासनका कारण म धेरै आलोचित पनि छु।

मलाई अचम्म लाग्यो। मेरो ओपिडीमा मलाई सोध्दै नसोधी को पस्यो? म उठेर के भन्न खोज्दै थिँए, तर उहाँले नै हत्तरपत्त भनिहाल्नुभो। ‘तपाईँ तुरुन्तै मसँग हिँड्नुस्, एउटा ठूलो दुर्घटना भएको छ।’

मैले त्यहाँ बुझबुझारथ पनि गर्न पाइनँ। मैले बुझेँ, दरबारको मान्छे हुनुहुन्छ होला भनेर। त्यो बेलामा धेरै सोधपुछ पनि गर्नु भएन, सबैको अगाडि। ‘ठूलो दुर्घटना भएको छ, तपाईंको आवश्यकता छ, मसँग हिँडिहाल्नुस्’ भनेपछि त्यो मोटरमा म चढेँ। त्यसपछि उहाँले जुन स्पिडमा मोटर हाँक्नुभो, मलाई अहिले पनि सम्झँदा डर लाग्छ।

नर्भिकबाट थापाथली निस्किएर कालिमाटी हुँदै पुल तर्नेबितिकै दाहिने मोडेर ताहाचल पुग्यौँ। त्यति छिटो कसैले मोटर हाँकेको मैले देखेको पनि छैन। मोटरले हल्लाएर आर्मी अस्पताल पुग्दाखेरि रिंगटा लागेर आफैँ बान्ता भएर बिरामी होलाजस्तो अवस्थामा थिएँ म। आर्मी अस्पतालमा पुर्‍याउनुभयो मलाई।

त्यहाँ पुगेपछि मलाई क्याजुयल्टी भा’को कोठामा लगियो। अहिलेसम्म के भएको, कसो भएको मलाई केही भनिएको छैन। त्यस कारण के बोल्ने पनि थाहा भएन। त्यो हलभित्र दुई लहरमा मान्छेहरु सुताइएको थियो। मलाई ल्याउने मान्छे त्यहाँका डाक्टरहरुबीच छाडेर निक्लिहाल्नुभयो।

डाक्टरले मलाई चिनाउँदै जानुभो। एक नम्बरमा राजा वीरेन्द्रलाई राखिएको थियो।

पहेँलो अनुहार, पहेँलै कलरको कुर्ता सुरुवाल लगाएको, तीलचामले कपाल प्राणहीन।

मैले नाडी छामेँ, केही पनि छैन।

सरकारको स्वर्गवास भैसकेछ भनेर मैले पनि भनेँ। उनीहरुले हो भने। त्यसपछि क्रमशः मलाई चिनाउँदै लगियो। त्यहाँ आइपुग्दाखेरि बडामहारानीको पनि केही पनि बाँकी थिएन, माथिपट्टिको टाउको सबै ‘ब्लो’ भएको थियो।

त्यो बेलासम्म अत्यन्त गम्भीर रुपले घाइते भए पनि प्राण गइनसकेको श्रुतीको थियो। श्रुतीलाई अटेन्ड गर्दै हुनुहुन्थ्यो डाक्टरहरुले, बाहिर कतै पनि घाउ छैन। बिरामी सकमा। ब्लड प्रेसर ड्रप भएर मरणासन्न अबस्थामा पुगेको। कतै पनि चोट नदेखिने, भित्री चोट हुनसक्छ।

तल रेक्टम अथवा पछाडिको भाग कतैबाट बुलेट पसेको हुनुपर्छ, विभत्स इन्जयुरी हो यो। उहाँहरुचाहिँ ब्लड प्रेसर ड्रप भा’को उठाउन खोज्दै हुनुहुन्थ्यो। पेट ढाडियो र केही समयपछि उनको पनि मृत्यु भयो।

मैले भनेको थेँ, सायद बुलेट भित्र गयो, मुटु छेड्यो तर बाहिर देखिएन।

त्यसपछि त्यहाँ सुताइरहेका अरु पनि परिवारका सदस्य सबै हेरिसकेपछि मलाई डाक्टरले तपाईंको आवश्यकता यहाँ हैन माथि हो भनेर सरासर माथि अप्रेसन थिएटरमा लैजानुभो। अप्रेसन थिएटरमा सबैभन्दा क्रिटिकल युवराज दीपेन्द्र। उनलाई लगेर अप्रेसन कोठामा सुताइसकेको रहेछ।

त्योभन्दा बाहिर करिडोरमा अरु सामान्य चोट लागेका भनिएका राखिएको थियो। तीमध्ये दुई जनाको विशेष कुरा म पछि गर्छु। अस्पतालका डाक्टरले मलाई भन्नुभयो, ‘तपाईँको विशेष रेस्पोन्सिब्लिटी उहाँ हो।’ तपाईँ यता लाग्नुस् भनेर दीपेन्द्रको मलाई जिम्मा लगाएर उहाँहरु अरु डाक्टरलाई जिम्मा लगाउन जानुभयो।

मैले भन्नैपर्छ, जुन किसिमले चिकित्सकहरुलाई बोलाइएको थियो, जति तदारुकतासाथ व्यवस्था गरिएको थियो, त्यो मान्नैपर्छ। प्रतिष्ठित, आफ्नो क्षेत्रमा दक्षता भएका आवश्यक सबै डाक्टरहरुलाई त्यहाँ जुटाइएको थियो। त्यो राम्रो कुरा हो।

देशभित्रको क्षमता एक किसिमले त्यहाँ देखिएको थियो। बाहिर करिडोरमा सुताइएका मान्छेहरु म हेर्न थालेँ। आफ्नो बिरामीलाई हेर्न आउँदा करिडोरमा सुतेकामध्ये दुई जना मान्छे गम्भीर देखेँ। मैले प्वाइन्ट आउट गर्दिएँ उहाँहरुलाई। धीरेन्द्रको नराम्रो चोट थियो।

कसैले राम्रोसँग पिकअप गरेजस्तो लागेन। मैले देखाइदेँ र उहाँ गम्भीर रुपले घाइते हुनुहुन्छ हेर्नुस् है भनेँ। त्यसपछि यतापट्टि आएको तत्कालीन अधिराजकुमारी, पछि महारानी कोमलको चोट गम्भीर थियो। तर एन्टिसिपेट भएजस्तो लागेन। बुलेट देब्रेतिरबाट गएको थियो। सास फेर्न गाह्रो भएर अलिकति अप्ठेरोसँग सुतिरहेको देखेँ मैले। मैले केही भनेको हैन, उहाँहरु दुईजना सिरियस हुनुहुन्छ, हेर्नुस् है भनेर आफ्नो काम गर्न भित्र गएँ।

मैले अन्दाज गरिसकेको थिएँ। यो विभत्स दृश्य! त्यहाँ कसलाई के सोध्ने, कसले गरेको, कसरी भयो भन्ने केही पनि थाहा थिएन हामीलाई त्यो बेलासम्म। सबै चुपचाप काम गरिरहेका थिए। बोल्दाखेरि के पर्ने हो, पर्ने हो।

त्यतिबेला झट्ट हेर्दा तीनवटा सम्भावना मेरो दिमागमा आयो। एउटा दरबार र दरबारनजिकका अथवा उच्च कर्मचारीबाट ‘कू’ भएको हुनसक्छ। किनभने सत्तामा कहिले पनि फेयर गेम हुँदैन र ‘कू’ नजिकबाट हुन्छ। सत्तामा पुग्नका लागि जे पनि गर्छन् र आफू सत्तामा पुगेपछि जे पनि गर्छन्। त्यसैले सत्ता भनेको कुरा कहिल्यै पनि फेयर हुँदैन। नजिकको उच्च कर्मचारीबाट त्यहाँ ‘कू’ भयो भन्ने लाग्यो।

दोस्रो कुरा, मैले अन्दाज के गरेँ भने माओवादीहरु पसे दरबारमा। कुनै माओवादी कर्मचारीका रुपमा गयो र माओवादीको टेकओभर भयो।

तेस्रो, भारतले ‘कू’ गर्‍यो। भारतले सिक्किम पनि आफ्नै तरिकाले लिएको हो। यी तीनवटा कुरा मेरो मनमा लागेको हो। तर वास्तविकता जे भएको, त्योचाहिँ मैले सोचेकै रहेनछु।

दीपेन्द्रलाई लगेर भित्र सुताइएको थियो। मैले गएर तत्काल असेस गरिहालेँ। सास फेर्नुभएको थियो। चिमोट्दा खुट्टा चलाउने। सबभन्दा सिरियस कुराचाहिँ के थियो भने बुलेट इन्जुरी देब्रे कन्चटबाट गएर दाहिने कन्चटबाट निस्किएको थियो। पहिलो कुरो चिकित्सकको नाताले एउटा कन्चटबाट हानेको गोली अर्को कन्चटबाट निस्किएर गएको मान्छेको बाँच्ने सम्भावना शून्यजस्तै हुन्छ। त्यो बुलेट जाँदाखेरि ब्रेनको यस्तो पार्टबाट पास हुन्छ कि जुन ड्यामेज भएपछि बाँच्ने सम्भावना नै राख्दैन। मलाई आर्मी अस्पतालको सुविधा सबै थाहा थियो।

मैले त्यो सुविधाभित्र बसेर नै काम पनि गर्नु छ। देशमा एउटा असुरक्षाको अनुभव हुन दिनु पनि भएन। बडा क्रिटिकल परिस्थिति थियो। त्यत्रो ठूलो दुर्घटना हुँदा बाँचेको सबैभन्दा महत्वपूर्ण व्यक्तिको अप्रेसन गर्ने जिम्मा मेरो भयो। धेरैलाई भन्ने कुरा हैन यो। पहिलो कुरो, आर्मी अस्पतालमा सिटिस्क्यान थिएन त्यो बेला। उनीहरुसँग एमआरआई मात्रै थियो। दोस्रो कुरो, त्यहाँ नियमित न्यूरो सर्जरी हुने ठाउँ थिएन।

न्यूरो सर्जरीका लागि चाहिने सबैभन्दा बढी सुविधा वीर अस्पतालमै छ। आर्मी अस्पतालमा साधारण सुविधा मात्रै छ। सोचेँ, बेस्ट ठाउँमा गएर अप्रेसन गर्‍यो भने पनि सम्भावना के त ? एउटा चिकित्सकको नाताले मैले देख्दाखेरि सम्भावना शून्य छ। शून्य सम्भावना भएको मान्छेलाई यहाँ यो सुविधा पुगेन, यो पुगेन भनेर त्यहाँबाट अन्तै लगेर गर्न खोज्नु भनेको मुर्खता मात्रै हो। त्यहाँ एकदुई जनाले भनेका पनि थिए, सिटिस्क्यान रहेनछ यहाँ, टिचिङमा वा वीरमा लैजाउँ। तर मैले नो भनेँ।

त्यो अवस्थामा सिटिस्क्यानको आवश्यकता पर्ने थिएन केस। बुलेट इन्जुरी भएको बिरामीको केस हेर्दा मैले याद गर्नुपर्ने बुलेट फ्र्यागमेन्ट बाँकी छ कि छैन, त्यो हो। मैले त्यसपछि स्टेरीलाइज गरेँ। यदि दिमागभित्र बुलेटको फ्र्यागमेन्ट बाँकी छ भने बिरामीको अप्रेसन सकेर एमआरआई गरेर कन्फर्म गर्छु भन्ने सोचेँ।

त्यो धेरै सोचेर लिएको निर्णय थियो। लिगली डकुमेन्टेसनको लागि समेत। यदि बुलेट फ्र्यागमेन्ट मस्तिस्कमा छ भने त्यसले एमआरआई गर्दाखेरि नराम्रो इमेज दिन्छ। एमआरआई गरेर कामै छैन।  यदि बुलेट फ्र्यागमेन्ट छैन भने एमआरआईले राम्रो पिक्चर दिन्छ। आर्मीमा एमआरआई मात्रै थियो। पछि कमेन्ट गरे अरुले, सिटिस्क्यान पनि नभएको अस्पतालमा उपचार गर्न जरुरी थिएन। ओभरकम गर्न सकिन्छ केही कुरा। मैले त्यही सोचेर प्लेन एक्सरे गरेँ पहिला। प्लेन एक्सरे गरिसकेपछि टाउकोमा बुलेट फ्र्यागमेन्ट देखिएन। प्लेन एक्सरेमा नदेखिएपछि अब त्यो अवस्थामा एमआरआई गर्न लैजाँदा झन खतरा हुन्छ। पहिला अप्रेसन सिध्याउँ अनि पोस्टअपमा लैजाँदा खेरि बाटामा एमआरआई गरौंला भनेर मैले सर्जरी सुरु गर्ने निर्णय गरेँ। मैले प्रस्ट भन्देको थेँ।

मलाई चाहिने स्टाफहरु वीर अस्पतालबाट पनि झिकाउनु पर्ने हुनसक्छ, वीर अस्पतालबाट सामान ल्याउनु पर्ने पनि हुनसक्छ। सकेसम्म म यहीँ गर्छु, नसकेको खण्डमा मात्रै वीरबाट झिकाउँछु भन्दिसकेको थिएँ। मैले यसो हेर्दाखेरि धेरै ठूलो अप्रेसन हुने सम्भावना देखिएन। धेरै ठूलो अप्रेसन गरेर फाइदा हुने पनि देखिएन। त्यस कारणले मैले वीर अस्पतालको मेरो टिमलाई स्ट्यान्डबाई भनेर राखेको थिएँ।

पछि मैले अब ‘तिमेरु चाहिँदैनौ’ भनेर फोन गरिदिएँ। आर्मी अस्पतालकै स्टाफ र उपकरण लिएर अप्रेसन थालेँ। त्यहाँ पनि मसँग काम गर्ने स्टाफहरु थिए। प्राइभेट प्राक्टिसमा मलाई हेल्प गर्नेहरु आर्मीमा थिए। मेरा टिमका मान्छेहरु त्यहाँ पनि फेला पारेँ। मलाई सजिलो भयो काम गर्न। त्यो सोच र योजना बनाएर एक्स्प्लोर गर्न सुरु गर्नुभन्दा पहिले त्यहाँको व्यवस्थापनलाई भनेँ– यो छाला क्लोज गर्नका लागि मलाई प्लास्टिक सर्जन चाहिन्छ। वीर अस्पतालबाट प्लास्टिक सर्जनलाई बोलाइदिनुस् भनेँ।

डा. केशवदास जोशीलाई वीर अस्पतालबाट झिकाइयो। वीरका हामी दुईजना डाक्टर भयौँ। अरु टिचिङका र आर्मीका हुनुहुन्थ्यो। सर्जरीवाइज मैले दिपेन्द्रको देब्रे कन्चटको घाउ हेरेँ। सफा गरेँ। देब्रेभन्दा ठूलो थियो दाइनेपट्टि। बुलेट इन्जुरी हामी त्यसरी नै निर्णय गर्छौँ, कताबाट पस्यो, कताबाट निस्कयो भनेर। पसेको प्वाल सानो र निक्लेको ठूलो हुन्छ। दिपेन्द्रको देब्रेपटि सानो र दाहिनेपटि ठूलो थियो। देब्रेपटि धेरै गर्ने ठाउँ नै थिएन।

मरेको ब्रेनजति सबै निकालेँ सफा गरेर। त्यसपछि मांसपेशी ल्याएर ब्रेनलाई कभर गरेँ। छाला सिलाइ गर्न प्लास्टिक सर्जन बोलाएको थियो। उहाँले आएर क्लोज गर्नुभयो। त्यो सकिएपछि मैले पहिला निर्णय गरे अनुसार आइसियुमा लैजाँदा बाटामा पहिला एमआरआई गरेर लैजाने भनेर तल लगियो।  कहाँबाट गएको छ बुलेट, के छ, कसरी भयो भनेर थाहा पाउन एमआरआई गरिएको हो। एमआरआई गर्दाखेरि विभत्स देखियो। एमआरआई गर्दाखेरि हामी थ्रु वाइ थ्रु इन्जुरी भन्छौं, एउटा कन्चटबाट अर्को कन्चटमा निस्कँदा खेरि दिमागको महत्वपूर्ण भाग डाइनकेफ्लन ड्यामेज गरेर गएको थियो। दुईटै डाइनकेफ्लन ड्यामेज गरेर निक्लेको बुलेटपछि बाँच्ने सम्भावना जिरो छ। अहिलेसम्म बाँचेको रेकर्ड छैन। त्यसमा पनि त्यो बुलेट इन्जुरीको केसमा बुलेट ट्रयाकमा देखिएको ड्यामेजभन्दा अरु बढी ड्यामेज हुन्छ। त्यो देख्ने बित्तिकै बुझिहालेँ, यो कुनै सम्भावना नभएको केस हो। प्रश्न अब कति लामो समयसम्म बाँच्ने भन्ने कुरा मात्रै हो।

अप्रेसन सकिने बितिकै मैले घरमा श्रीमतीलाई फोन गरेँ, युवराजलाई तल लैजानुभन्दा पहिले। आत्तिएका होलान् यति ढिलो भैसक्यो, १०/११ बजिसक्यो, स्पष्ट शब्दमा र छोटकरीमा भनें, ‘अहिलेसम्म कसले गरेको हो? किन गरेको हो भन्ने स्पष्ट छैन तर दरबारमा ठूलो काण्ड भएको छ। बुलेट इन्जुरी भएका मान्छेहरुको उपचारमा म संलग्न छु। त्यस कारणले कसैलाई पनि नभन्नू, केही पनि नभन्नू। घरमा म नआएसम्म गेट बन्द गरेर ताला लगाएर बस्नू। कसैले सोधिहाल्यो भने ‘अहँ, मलाई थाहा छैन भन्नू, केही बोल्दै नबोल्नू। म कुनबेलाई आइपुग्छु, ठेगान छैन।’ त्यति भनेँ।

‘अहिलेसम्म कसले गरेको हो? किन गरेको हो भन्ने स्पष्ट छैन तर दरबारमा ठूलो काण्ड भएको छ। बुलेट इन्जुरी भएका मान्छेहरुको उपचारमा म संलग्न छु। त्यस कारणले कसैलाई पनि नभन्नू, केही पनि नभन्नू। घरमा म नआएसम्म गेट बन्द गरेर ताला लगाएर बस्नू। कसैले सोधिहाल्यो भने ‘अहँ, मलाई थाहा छैन भन्नू, केही बोल्दै नबोल्नू।

त्यसको कारण के हो भने कति कुरा थाहा पाए पनि प्रेसलाई चाँडै भनिँदैन। मैले श्रीमतीलाई त्यति भनेर फोन राखेँ। त्यसको ५ मिनेटपछि हिमाल खबर पत्रिकाका कनकमणि दीक्षितले फोन गर्नुभो। उनी मेरो श्रीमतीका भतिजा पनि। ‘के भएको हो यहाँ अनेकअनेक खालको हल्ला छ। तपाईँ बिरामीको उपचार गर्दै हुनुहुन्छ रे, कति जना घाइते छन्, कोको छन्, केके भाको हो, मलाई बताउनुस्’ भनेर मलाई कनकले भन्नुभो।

मैले कनकलाई स्पष्ट भनें–  कनक म पनि प्रोफेसनल, तिमी पनि प्रोफेसनल। यो अवस्थामा मैले थाहा पाएको सबैकुरा तिमीलाई भन्न मिल्दैन। म पछि मात्रै कुरा गर्छु। त्यसपछि कनकले शीष्ट भाषामा फेरि मलाई अनुरोध गरे–  यति ठूलो घटना हो यो, पब्लिकको जान्ने अधिकार छ र त्यहाँ पुर्‍याउने कर्तव्य प्रेसको पनि हो। तपाई पनि जिम्मेवार नागरिकको हैसियतले यी दुईटा मर्यादाभित्र पर्नुहुन्छ। त्यसो भएर भन्न मिल्ने जति हामीलाई भन्नुहोस् भन्नुभो जुन अत्यन्त राम्रो कुरा थियो। त्यहि पनि मैले भनेँ, ‘कनक, अहिले मैले भन्न मिल्दैन, केही पनि। एक्सक्युज मी, म समय आएपछि सबै भनौंला। अहिलेचाहिँ यो के भैरहेको, कसो भैरहेको थाहा नभैरहेको बेलामा केही कुरो बोल्दाखेरि गल्ती हुनसक्छ। फेरि प्रोफेसनल मर्यादा अनुसार बिरामी परिवारको अनुमति नलिई चिकित्सकले बोल्नु पनि हुँदैन। अरुले गर्लान् तर डाक्टरले गर्नु हुँदैन। यो अवस्थामा कसको अनुमति लिने, कहाँ लिने भन्ने कुरा थाहा छँदैछ तिमीलाई। यो क्रिटिकल बेलामा अहिले अरु केही भन्न सक्दिन, मैले भन्न मिल्दैन।’

त्यसपछि दीपेन्द्रलाई लगेर एमआरआई गरिसकेपछि मैले बुझेँ, अब जिरो प्रतिशत चान्स छ। अब अन्तिमलाई कसरी प्लान गर्ने कुरा मात्रै हो। आइसियुमा लगेर सेट गराएँ बिरामीलाई। त्यो बेलासम्म ब्ल्ड प्रेसर मेन्टन सबै कुरा ठिक थियो। सेट गराएर सबै काम सकेँ। अब घर जाने भनेँ।

त्यो बेलासम्म बिस्तारै अलिअलि हल्ला सुनिँदै थियो– युवराजले नै गरेको रे यो। युवराजले नै गरेर आफैंले पछि गोली हानेको भनेर कसैकसैले गाइँगुइँ गरे। तर मौनता थियो त्यहाँ, काम गर्नेहरु बीच पनि। डाक्टरहरुले पनि केही बोलेका थिएनन्। त्यहाँका अरु पनि नबोलेका, म्यानेजमेन्ट पनि नबोलेको। त्यहाँ सबैलाई शंका थियो, कसले गरेको हो भन्ने थाहा थिएन। गर्नेलाई गाली गरौं पनि त्यही मान्छे त्यहाँ हुन सक्छ। सबैजना केही कुरो भन्न, बोल्न असुरक्षित थिए। त्यस्तो एउटा अनौठो, कटमरिएको, उकुसमुकुसको वातावरणमा काम गर्‍यौँ।

भोलिपल्ट कतिबेला भेट्ने अस्पतालमा भन्ने निर्णय गरेर आएका थियौँ हामी। आर्मी अस्पतालको खगेन्द्रबहादुर डाक्टरले भन्नुभो, भोलि ९ बजे भेटौं। सबै मेडिकल टिम भोलि ९ बजे भेट्ने अनि बिरामीलाई असेस गर्ने भन्नुभो। अनि म निक्लेँ। घर पुग्दा राति १२/१ बजेको थियो होला। त्यसपछि श्रीमतीलाई भन्न मिल्ने जति सबै बताएँ। उनी पनि प्रोफेशनल भा’ भएर त्यसको महत्व बुझ्थिन् नै। अनावश्यक कुरा केही गर्ने कुरा पनि भएन। भनेँ, ‘यस्तो दुर्घटना भयो। राजपरिवारका अरु सदस्य मरिसकेको, युवराजधिराजको यस्तो घातक चोट जुन अप्रेसन गरेर म आको छु, बाँच्ने सम्भावना छैन, यो कसले गरेको कसरी भएको हो भन्ने कुरा अहिलेसम्म थाहा छैन।’

(क्रमश:)

यो पनि पढ्नुहोस्

जेष्ठ १८, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्