सडकमा सावधान हुनुस् है, ट्राफिकले यी गल्तीमा लगाउला हजार रुपैयाँ जरिवाना!

काठमाडौँ- महानगरीय ट्राफिक प्रहरीको तथ्याङ्क भन्छ- आर्थिक बर्ष २०७४–७५ सकिनै लाग्दा ३ लाख ७८ हजार ९ सय २७ सवारी साधनलाइ कार्वाही गरियो। यो गत आर्थिक बर्ष भन्दा झन्डै आधा कम हो। यीमध्ये सबैभन्दा धेरै ३८ हजार ८ सय १४ वटा लेन अनुशासनका कारवाही छन्।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका निमित्त प्रमुख एसएसपी वसन्त पन्त भन्छन्, काठमाडौंमा ट्राफिकका लागी प्रमुख समस्या दुई पाङग्रे सवारी हो।

साघुँरो र अव्यबस्थित बाटोका कारण ट्राफिक समस्या ज्युँका त्युँ छन्। उपत्यकामा गुड्ने करिव १० लाख भन्दा बढी गाडी व्यवस्थापन गर्न समस्या रहेको स्वयम् ट्राफिक कार्यालय नै बताउँछ। महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार एक ट्राफिकको भागमा १ हजार ४४ सवारीको व्यवस्थापन गर्नुपर्ने देखिन्छ।

ट्राफिक नियम पालनामा कडाइ गर्न आफुहरु कुनै कसुर बाँकी नराख्ने महाशाखाका निमित्त प्रमुख एसएसपी वसन्त पन्तले बताए। यातायात व्यवस्था विभागले आफुहरुलाई १००० रुपैयाँ सम्म जरिवाना लिन पाउने अधिकार दिएको छ, त्यसलाइ कडाइ साथ लागु गर्ने उनले बताए।

कुन कुनमा १००० जरिवाना

यात्रुवाहक सार्वजनिक सवारीमा तोकिए बमोजिमको सिट सुरक्षित नराखेमा कार्वाही गरिने छ, एसएसपी पन्तले वताए। ट्राफिक प्रहरीले महिला, अशक्त/अपाङ्ग र वृद्ध भनेर सार्वजनिक सवारी साधनमा सिट आरक्षित गरको छ। यो नियम २०७१ सालमा ल्याइएको हो।

सिट संख्या भन्दा बढि यात्रु राखेमा माइक्रो र टेम्पुलाई कारवाही गरिने पन्तले बताए । अहिले सानो माइक्रोबस र तीन पाङग्रे सवारी जसमा उभिन पनि गाह्रो हुन्छ तिनीहरुलाई सिटभन्दा बढी यात्रु राखे कारवाही गरिने र ठुला गाडीमा पनि अश्वभाविक यात्रु कोचेमा कारवाही गरिने उनले बताए ।

यस्तै पटके इजाजत नलिइ सवारी चलाएमा, सार्वजनिक सवारी साधनमा धुम्रपान गरेमा, हर्न वजाउन निषेध गरेको ठाँउमा हर्न बजाएमा, गति निर्धारण गरिएको स्थानमा निर्धारित गतिभन्दा बढी गतीमा सवारी चलाएमा र दुर्घटना गरी फरार भइ सम्पर्कमा नआएमा १००० जरिवाना तोकिएको छ ।

योजना

कान्तिपथ, जमलबाट विहान ७ बजेसम्म सञ्चालन हुने पर्यटक बसहरुलाई नयाँबसपार्कबाट सञ्चालन गर्ने प्रयास भइरहेको एसएसपी पन्तले बताए । तिब्र गति जथाभावी ओभरटेक र आकार बदल्ने मोटरसाइकललाइ योजना बनाइ कार्वाही गरिने उनले बताए । काठमाडौको यातायातमा सबैभन्दा खतारानाक मानिने ट्रिपर र ट्रकहरुबाट हुने दुर्घटना न्युनिकरण गर्न विषेश चेकिङको योजना बनाएको उनले बताए ।

जथाभावी यात्रु चढाउने र आराल्ने समस्या पनि प्रमुख छ । अव त्यसमा पनि कडाई गरिने पन्तले बताए । ट्राफिक देखेपछि नियम मान्ने नत्र नमान्ने परम्परा छ उनले भने । ट्राफिक नियम कडाइका लागी सादा पोषाकका प्रहरीबाट पनि सहयोग लिएको एसएसपी पन्तले बताए ।

ट्राफिक प्रहरीको पछिल्लो ३ बर्षको तथ्याङ हेर्ने हो भने दुर्घटना र दुर्घटनामा मृत्यु हुनेको संख्यामा कमि आएको छ । यो आर्थिक बर्षमा १४९ जनाको सवारी दुर्घटनामा मृत्यु भएको छ । गएको बर्ष सवारी दुर्घटनामा १८२ जनाको ज्यान गएको थियो ।

नयाँ नियम
अब काठमाडौंमा गुड्ने ट्याक्सीमा ३ वटा नम्बर प्लेट हुनेछन् । ट्राफिक प्रहरीले शुक्रबारबाट लागुहुने गरि भित्र बसेका यात्रुले देख्ने गरी ट्याक्सी भित्र नम्बर टास्नु पर्ने नयाँ नियम ल्याएको छ । ट्याक्सी चढ्दा यात्रुले नम्बर याद नगर्ने र सामान छुट्यो भने पत्ता लगाउन गाह्रो हुने भएकाले भित्र बसेका यात्रुले देख्ने गरि ट्क्सीको नम्बर टास्नु पर्ने एसएसपी पन्तले बताए । उनले बा २ ज १८१५ नम्बरको ट्याक्सीमा ड्राइभरको अगाडी सिसामा नम्बर प्लेट टासेर यसको सुरुवात गरे ।

सिसिटिभीको निगरानी बढाउने र दुर्घटना गरी फरार हुने, सवारी नियम उल्लंघन गर्ने सवारी साधनलाई कारवाहीको दायरामा ल्याउने उनले बताए । सिसिटिभीमा पनि नयाँ प्रविधि ट्राफिकले भित्राएको छ । मापसे चेकिङमा नयाँ प्रविधी ब्रेथ एनालाइजरको अब प्रयोग हुनेछ ।

जेठ १८, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्