स्पेनका कप्तान रामोसले ल्याए विश्वकपको गीत, यस्तो छ भिडियो

गएको हप्ता शनिबार राति युक्रेनको राजधानी किएभमा भएको च्याम्पियन्स लिग फुटबलको फाइनलमा रियल मड्रिडले लिभरपुललाई हराएर लगातार तेस्रो पटक उपाधि जित्यो र कीर्तिमान बनायो ।

यो क्लब र कप्तान सर्जिओ रामोसका लागि उत्सवको कुरो पक्कै थियो । तर विश्वकप फुटबल नजिकिएको र सिजनभर आफ्नो अविश्वनीय खेल कौशलका कारण समर्थक वा विपक्ष सबैलाई आफूतर्फ खिच्न सफल भएका इजिप्ट तथा लिभरपुलका भर मोहम्मद सालह चोटग्रस्त भए ।

रामोसले हात तानेर मैदानमा लडाएका कारण सालह चोटग्रस्त भए र उनी विश्वकपका केही खेलमा मात्रै मैदानमा उपलब्ध हुन सक्ने अवस्थामा छन् । यसले रामोसलाई नयाँ फ्यान कमाउन कठिन हुने अवस्था देखिएको थियो ।

तर उनले त्यसका लागि नयाँ बाटो अपनाएका छन् । स्पेनका समेत कप्तान रहेका रामोसले विश्वकप फुटबलका लागि आफ्नो गीत ल्याएका छन् । फिफाको तर्फबाट विश्वकपको आधिकारिक गीत आएको हप्तादिन हुन लाग्यो ।

रामोसले पनि विश्वकपका लागि आफ्नो तर्फबाट गीत सार्वजनिक गरेका छन् । उनले स्पेनिस गायक डमार्को फ्लामेन्कोसँग मिलेर आट्रा एस्ट्राएला इन तु कोराजोन अथार्त एनोदर स्टार इन योर्र हार्ट (तिम्रो मुटुमा अर्को तारा) बोलको गीत ल्याएका हुन् ।

रामोसले शुक्रबार आफ्नो इन्स्टाग्राम पेजमार्फत गीत सार्वजनिक गरेका हुन् । यो गीत अहिलेसम्म १२ लाख भन्दा धेरै पटक हेरिसकिएको छ । यस्तै स्पेन फुटबलको युट्युब मार्फत पनि गीत सार्वजनिक गरिएको छ ।

जेठ १८, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्