सुध्रियो सम्बन्ध

ट्रम्प–किम वार्ता पक्का : ट्रम्पलाई उत्तर कोरियाको चिट्ठी, के छ होला ?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका नेता किम जोङ–उनसँग वार्ता हुने तय भएको बताएका छन् । झण्डै दुई हप्ताअघि वार्ता रद्द गरेका ट्रम्पले यो बिचमा भएको द्विपक्षीय छलफल सकारात्मक रहेको र वार्ता फेरि आफ्नो बाटोमा आएको ट्रम्पले बताएका हुन् ।

यसको अर्थ ट्रम्प र किमबिच जुन १२ मा सिंगापुरमा वार्ता हुने पक्का भएको छ । सन् २०१८ लागेसँगै लामो तयारीपछि जुन १२ मा सिंगापुरमा ट्रम्प–किम वार्ता हुने तय भएको थियो ।

तर झण्डै दुई हप्ताअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाको तर्फबाट शत्रुताको प्रदर्शन भएको भन्दै वार्ता रद्द गरेको बताएका थिए । तर त्यसपछि उत्तर कोरियाको प्रयासमा भएका छलफलका कारण फेरि वार्ता सम्भव भएको हो ।

ह्वाइट हाउसमा उत्तर कोरियाका उच्च दूतसँगको भेटपछि ट्रम्पले किमसँगको वार्ताका लागि फेरि वातावरण बनेको घोषणा गरेका हुन् ।

किमको दूत बनेर अमेरिका पुगेका जनरल किम योङ–चोलले अमेरिकी राष्ट्रपति ट्रम्पलाई उत्तर कोरियाको तर्फबाट चिट्ठी प्रदान गरे । ट्रम्पले चिट्ठी निकै आकर्षक रहेको बताएका छन् । तर ट्रम्पले आफूले चिट्ठी अहिलेसम्म नखोलेको बताएका थिए ।

सिंगापुरमा हुने वार्तामा कोरिया युद्ध औपचारिक रुपमा अन्त्य भएको घोषणा गर्ने सम्बन्धी विषयमा पनि छलफल हुने ट्रम्पले बताए । दुई कोरियाबिच सन् १९५०–५३ सम्म युद्ध भएको थियो । त्यसपछि सम्झौता भएको थियो तर त्यसले शान्ती सम्झौताको रुप भने लिएको छैन ।

ट्रम्पले भने, ‘हामी जुन १२ मा सिंगापुरमा भेट्दै छौँ । उत्तर कोरियाका अधिकारीसँगको भेट राम्रो रह्यो । उनीहरुका जनता राम्रो अवस्थामा छन् भन्ने थाहा पायौँ ।’

ट्रम्पले अघि भने, ‘एउटै भेटमा सबै समाधान हुन्छ भनेर कहिले भनेको छैन । यो प्रक्रियाको रुपमा जानेछ । अहिले सम्बन्ध बन्दै गएको छ र यो निकै राम्रो कुरा हो ।’

ट्रम्प र किमबिच हुने ऐतिहासिक वार्ता अमेरिकी राष्ट्रपति र उत्तर कोरियाली नेताबिच हुने पहिलो वार्ता हुँदैछ । ट्रम्पले उत्तर कोरियाको विकासका लागि सहयोग गर्ने प्रस्ताव गरेका छन् । त्यसका लागि उत्तर कोरियाले परमाणु कार्यक्रम छोड्नु पर्नेछ ।

यो वार्ता हुन्छ–हुँदैन भन्ने हुँदै हुन्छमा आएको हो । मे १६ मा उत्तर कोरियाले वार्ताबाट आफू पछि हट्न सक्ने बताएको थियो । अमेरिकाले बारम्बार दबाब दिन नछोडेमा वार्ताबाट बाहिरिने उत्तरको भनाई थियो ।

त्यसपछि २४ मे मा ट्रम्पले वार्ता रद्द गरे । २६ मे मा किम जोङ–उनले दक्षिण कोरियाका राष्ट्रपति मुन जे–इनसँग भेट गरे । जुन १ मा उत्तर कोरियाली उच्च दूत उत्तरको चिट्ठी लिएर ह्वाइट हाउस पुगे । त्यसपछि वार्ताको वातावरण बन्यो ।

जेठ १९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्