प्राणायामका एकदमै काम लाग्ने यी नौ विधिहरु

प्राणायाम गर्न बिहानको समय सबभन्दा राम्रो हो। कुनै स्वच्छ, खुल्ला, एकान्त एवं शान्त स्थानमा आसन लगाएर बस्नुपर्छ। सुखसँग पलेंटी मारेर वा सादा पद्मासनमा छाती, घाँटी तथा मस्तिष्क तीनै एक लाइनमा सीधा रहून्। प्राणायामको समयमा मेरुदन्ड सीधा राख्नु अनिवार्य आवश्यक हुन्छ, ताकि मेरुदण्डको साथमा रहेको इडा तथा पिंगला नाडी हुँदै निर्बाध रुपमा प्राण आवागमन हुन सकोस्।

प्राणायामलाई तीन भागमा विभक्त गरिएको छ- (१) रेचक, (२) कुम्भक, (३) पुरक। कुम्भकका दुईटा भेद छन्- (अ) बाह्य कुम्भक र (आ) आन्तरिक कुम्भक। रेचक श्वास बाहिर निकाल्नु, आभ्यान्तरिक कुम्भक भित्र श्वास रोक्नु, बाह्य कुम्भक बाहिर श्वास रोक्ने र पूरक श्वास भित्र लिनेलाई भनिन्छ। तल प्राणायामका केही अभ्यास दिइएको छ।

  • प्रारम्भिक अभ्यासीका लागि साधारण प्राणायाम
  • छातीमा भरिएको श्वास नाकबाट विस्तार-विस्तारै बाहिर निकाल्ने।
  • जति समय लगाएर श्वास निकालिएको हो त्यसको एक चौथाई समयसम्म श्वासलाई बाहिरै रोकि राख्ने।
  • पुनः विस्तार-विस्तारै श्वास लिन सुरु गर्ने र पेटदेखि फोक्सोसम्म पुर्ण रुपले हावा भर्ने।
  • पहिले जति बेरसम्म श्वासलाई बाहिर रोकिएको थियो त्यति नै समय श्वासलाई भित्र रोकि राख्ने।
  • यस अभ्यासलाई पहिलो दिन कम्तिमा ७ पटक गर्ने र पुनः नित्य दुई पटक बढाउंदै जानुहोस्।
  • उपर्युक्त प्रत्येक क्रियाका साथ मन मनै ‘ॐ’ को जप गरिरहने। एउटा कुरा विशेष ध्यान दिने कि कुम्भक त्यति बेलासम्म मात्रै गर्ने जति बेलासम्म सजिलैसँग रोक्न सकिन्छ। जबरजस्ती लामो समयसम्म कुम्भक गर्नाले लाभको बदला हानी पनि हुन सक्छ।

 

  • फोक्सोको हरेक भागमा हावा पुर्‍याउन प्राणायाम
  • नाकबाट विस्तार-विस्तारै श्वास तानेर इच्छा शक्ति सहित पहिले त्यसलाई फोक्सोको तल्लो भागमा भर्ने, यसो गर्नाले पेटको माथिल्लो भाग पनि केही फुल्नेछ।
  • यसपछि त्यही श्वासलाई फोक्सोको मध्य भागमा भर्ने। यसले छातीको बीच भाग केही फैलिन्छ।
  • श्वासको तेस्रो भागले फोक्सोको माथिल्लो भाग भर्ने जसले छातीको माथिल्लो भाग फैलिन्छ।
  • अब केही बेर वायुलाई भित्रै रोकेर राख्ने र भावना गर्ने कि फोक्सोका सम्पूर्ण कोशहरुमा श्वास पूर्ण रुपले भरपूर मात्रामा भरिएको छ।
  • पुनः विस्तार-विस्तारै वायुलाई बाहिर निकालिदिने।

 

  • पेट तथा आन्द्रासम्म प्राण पुर्‍याउन प्राणायाम
  • श्वासलाई तानेर सीधा पेट सम्म लैजाने र जसले गर्दा पेट राम्रोसंग फुलोस्।
  • कुम्भक नगरी श्वासलाई बाहिर निकाल्दिने र पेट जतिसम्म भित्र जान सक्छ भित्र तान्दै जानुहोस्।
  • बाहिर भित्र कुनै कुम्भक नगरी लगातार यो क्रियालाई केहि बेर गरिरहने।
  • अभ्यासको समय नाकको अघिल्लो भागमा दृश्टि राख्ने।
  • थाकेपछि अन्त्यमा एकपटक कुम्भक गरेर अभ्यासलाई समाप्त गर्ने।

 

  • शक्ति बढाउन प्राणायाम
  • चिउंडोलाई कण्ठ कूप (करङको बिच छातिको माथी दुइटा व्यूटिबोनको विचमा जोड्ने) र केहि बेर कुम्भक गर्ने।
  • बायाँ नातृलाई बुढि औंलाले बन्द गरेर दायाँ नातृबाट श्वास तान्ने।
  • अनामिका र कान्छि औंलाले दायाँ नातृलाई बन्द गरेर बायाँ नातृबाट श्वास बाहिर निकाल्ने।
  • अर्को प्राणायाममा यसको उल्टो गर्ने अर्थात् बायाँबाट श्वास तानेर दायाँबाट निकालि दिने।
  • हरेक प्राणायाम पछि उपर्युक्त बदल्ने क्रम राख्ने अर्थात् एक पटक दायाँबाट तान्ने र बायाँबाट छोड्ने, अर्को पटक बायाँबाट तानेर दायाँबाट छोड्ने, अर्को पटक पुन दायाँबाट तान्ने र बायाँबाट छोड्ने।

 

  • मानसिक शक्ति बढाउन प्राणायाम
  • दायाँ खुट्टाको कुर्कुच्चा, बायाँ खुट्टाको जांघमाथि र बायाँ खुट्टाको कुर्कुच्चा मलद्वारमा रख्ने । च्यूडोलाई छातीमा टाँसेर राख्ने र आँखा बन्द गर्ने।
  • गहिरो तथा लामो श्वास तान्ने।
  • केहि बेर भित्रै रोकेर हावा बाहिर निकाल्दिने।
  • शरीरमा उष्णता बढाउन प्राणायाम
  • पहिले साधारण तरिकाले विस्तार-विस्तारै पूरक तथा रेचक गर्ने।
  • यस अभ्यासमा कुम्भकको आवश्यकता छैन।
  • क्रमशः श्वास-प्रश्वास क्रियालाई छिटो छिटो बढाउंदै जाने, यहाँसम्म कि श्वास लोहारेको पंखा जसरी चल्न थालोस्।
  • ब्रह्मचर्य पालनका लागि प्राणायाम
  • बायाँ पाउको कुर्कुच्चा सीवन (मलद्वार र अंडकोषको बिचको स्थान) मा राख्ने र दायाँ पाउको कुर्कुच्चा मुत्रेन्द्रियको माथि रहोस्।
  • सजिलोको लागी चाकको मुनी पातलो तकिया लगाउने।
  • जुन स्वर चलिरहेको छ, त्यसबाट श्वास तान्ने, अर्को प्वाललाई बन्द गर्ने।
  • केहि समय कुम्बक गर्ने जुनबाट श्वास तानिएको थियो त्यस नातृलाई बुढि औलाले बन्द गरेर अर्कोबाट श्वास बाहिर निकाल्ने।
  • श्वास तान्ने समय मलद्वारलाई एकदम खुम्च्याउने (टाइट गर्ने) कुम्भकको समय त्यसलाई टाइट गरेरै रोकिरहने र रेचकको समयलाई लचिलो छोडिदिने।

 

  • चित्तको एकाग्रताका लागी प्राणायाम
  • शवासन-शिथिलासनमा सुत्नुहोस्। शरीरलाई एकदमै लचिलो बनाउनुहोस्।
  • कानमा रुवा लगाएर आँखा बन्द गर्नुहोस्, जसबाट बाहिरको शब्द नसुनियोस्। दृष्टि नाकको टुप्पोमा राख्ने।
  • साधारण तरिकाले गहिरो श्वास लिने तथा छोड्ने गर्ने। बीचमा केहि समय कुम्भक पनि गर्ने।
  • पुनः आँखाका पुतलीलाई माथि चढाएर आँखि भूंईको बिचमा अर्थात् आज्ञाचक्रमा दिव्य तेजको ध्यान गर्ने।
  • केहि निद्र जस्तो आयो भने त त्यसलाई नतोड्नु होला।
  • यस अवस्थामा ‘अनाहत’ नाद सुनिन थाल्छ र ज्योति स्वरुप परमात्माको दर्शन हुनाले चित्तको एकाग्रता दिन-दिनै बढ्दै जान्छ।

 

  • थकाइ मेटाउन प्राणायाम
  • साधारण तरिकाले पूरक गर्ने र त्यस्तै एकैछिन कुम्भक गर्ने।
  • रेचक मुखबाट गर्ने। मुख खुम्च्याएर सिट्टी बजाए जसरी हावालाई बाहिर फ्याँकिदिने।
  • पुरा हावा एक पटकमा बाहिर ननिकाली बिस्तार विस्तारै रोकिँदै तीन पटकमा बाहिर निकालि दिने।

उपर्युक्त नौ प्राणायाम पर्याप्त छन्। त्यसोत अनेकौं प्रकारका प्राणायाम विभिन्न योग्यताका व्यक्तिहरुको लागी छन्, तर सर्वसुलभ प्राणायाम जसमा कुनै प्रकारको खतरा छैन र जो सजिलैसँग गर्न सकिन्छ त्यस्तै प्रणायाम माथि दिएको हो। साधकहरुले यसलाई नित्य अभ्यास गर्नु पर्छ। एक प्राणायामलाई जति पटक गर्नुछ त्यति गरिसके पश्चात जब अर्को गर्नुपर्छ तब केहि विश्राम लिनुपर्छ र थकान मेटाउने खालको नवौं प्राणायाम एक-दुई पटक गर्नु पर्छ। यी सबैलाई नित्य अभ्यास गर्नु पर्ने केहि आवश्यक छैन। आफ्नो रुचि र आवश्यकता अनुसारका तीन-चार प्राणायाम छान्नु पर्छ र तिनैलाई अभ्यास गरिरहनु पर्छ। व्यायाम तथा प्राणायामको समय यदि साथ-साथै राख्नु छ भनेत दुवैको विचमा यति अन्तर राख्नु पर्छ कि शरीरको उत्तेजना तथा उष्णता शान्त भएर जाओस्।

(योगाचार्य पौड्याल योग प्रशिक्षक एवं उत्प्रेरक हुन्।)

जेठ १९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्