नगरकोटी, ज्ञ र ती पञ्चपुरुष

‘पञ्च पुरुष!’

कार्यक्रमको सुरुमा नै उद्घोषकले पञ्चपुरुषलाई हामी स्टेजमा बोलाउछौ भन्दा करिब १ सय ५० जनाले भरिएको सभाहल हाँसोले गुञ्जिएको थियो।

अनि स्टेजमा आए साहित्यकारहरु राजकुमार वानियाँ, घिमिरे युवराज, राजन गाेदार, गनेस पौडेल र विप्लप प्रतिक ‘पञ्चपुरुष’।

ललितपुरको मोक्ष क्याफेमा सामान्य ढंगबाट सुरु भएको कुमार नगरकोटीको किताब ‘ज्ञ’को विमोचन सामान्य ढंगबाट नै सकियो। न त नगरकोटीले कितावको बारेमा आफूले केही बोले, न अरुलाई नै बोल्न दिए।

स्टेजमा चढेका पञ्चपुरुषले नगरकोटीको किताबमा भएका एक एक लाइन पढे जुन पहिला नै तयार पारिएको थियो र स्टेजमा भएको कुर्सीमा गएर बसे।

अब पालो किताव विमोचनको आयो। विमोचनको शैली पनि फरकै थियो।

६० नाघेका दौरा सुरुवाल र टाउकोमा ढाका टोपी लगाएका पुरुषले खर्पनमा एकातिर किताव र अर्को तर्फ ह्विस्की बोकेर स्टेजमा चढ्छन्। स्टेजमा नगरकाेटीले ह्विस्कीको बोतल खोल्न्छन् र स्टेजमा रहेका पञ्चपुरुषको गिलामा ह्विस्की हालिन्छ।


‘उहाँ पहिला खानुहुन्थ्यो तर अहिले खानु हुँदैन त्यसैले ह्विस्की नगरकोटी दाइको पूर्व प्रेमिका हो,’ उद्घोषले भन्दा कतैकतै सुनिएको हाँसो एकसाथ हलभरी गुञ्जिएको थियो।

कितावको विमोचन मार्टिन चौतारीकी सगुना शाहले गरिन्। उनले भनिन्, ‘म पनि साहित्यमा रुचि राख्ने मान्छे। त्यसमा खरो उत्रने प्रयास गर्दै छु, नसके ‘हु केयर्स।’ कुमार नगरकोटीको मुखमा हेर्दै उनकै शब्द सापटी लिएर भनेकी थिइन् उनले।

स्टेजमा कार्यक्रम चलिरहेकै बेला एक ठाउँमा नबसी घरि यता त घरि उता गरिरहेका नगरकोटी कार्यक्रममा पुरै मुडमा देखिन्थे। उनले कितावको बारेमा केही बोलेनन् तर किताबमा भएका केही अंश पढेर सुनाए। बीचबीचमा हिन्दी तथा नेपाली गीत पनि गुनगुनाए र केही अभिनय गर्न पनि भ्याइहाले।

‘आई लभ द वुमन, सि लभ हर हस्बेन्ड, हर हस्बेन्ड लभ माई वाइफ’ भन्दा हलमा हाँसोको फोहोरा छुटेको थियो।

नगरकोटीले यसअघि घाटमान्डु, फोसिल, मोक्षान्तः काठमाडौं फिवर लगायतका चर्चित किताब लेखेका छन्। १८४ पेजको ‘ज्ञ’ उनका अनुसार ‘नोभिला’ हो। किताबमा अंग्रेजी भाषाको पनि भरपूर प्रयोग गरिएको छ। किताबका बारेमा आफू केही नवताउने र किताब पढेपछि पाठकले सम्पूर्ण प्रश्नको उत्तर पाउने दाबी उनले गरे। किताव अलिकति थ्रिलर छ त्यसैले पहिले नै बताए पढ्न मजा नआउने उनले बताए।

बुकहिल प्रकाशनले निकालेको कितावको मूल्य ४ सय रुपैयाँ छ।

जेठ १९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्