सुर्खेतमा हटाइयो एमाले–माओवादी पार्टी कार्यालयका बोर्ड

सुर्खेत – नेकपा एमाले र माओवादी केन्द्रको सुर्खेत जिल्ला पार्टी कार्यालयमा टाँगिएका बोर्ड हटाइएको छ । एमाले र माओवादी केन्द्रबिच समायोजन भई नेपाल कम्युनिष्ट पार्टी भएसँगै वीरेन्द्रनगरस्थित दुवै पार्टी कार्यालयमा राखिएका बोर्ड हटाइएको हो ।

माओवादी केन्द्र र एमालेबिच केन्द्रमा भएको एकताले शक्तिशाली पार्टी निर्माण भएपछि जिल्ला तहका नेता तथा कार्यकर्ताले उत्साहित हुँदै शनिबार कार्यालयमा टाँगिएका बोर्ड हटाएका हुन् ।

केन्द्रमा भएको समायोजनले पुरानो संरचना भंग भएपछि जिल्लाका सबै संरचना हटाइएको हो । केन्द्रीय नेतृत्वले संयुक्त रुपमा काम कारवाही अगाडि बढाएसँगै जिल्लामा पनि पुरानो संरचना भंग गरिएको हो । पार्टी कार्यालयमा राखिएका बोर्ड हटेसँगै जिल्ला र प्रदेश तहको अनौपचारिक रुपमा समायोजन सुरु गरिएको नेपाल कम्युनिष्ट पार्टीका नेता मोहन बडुवालले बताए ।

उनले जिल्ला तहका नेताहरुबिच भएको सल्लाह अनुसार शनिवारदेखि दुवै पार्टीको कामकारवाही संयुक्त रुपमा गर्ने गरि कार्यालयमा टाँगिएका बोर्डहरु हटाइएको बताए ।

अर्का नेता कृष्णबहादुर जिसीले एमाले र माओवादी केन्द्रबीच जिल्लामा अवका गतिविधि संगै सञ्चालन गर्ने गरि काम थालिएको बताए । उनले जिल्लामा रहेका दुवै कार्यालयलाई उपयोग गर्ने गरी पार्टीका काम अगाडि बढाउने बताए । हाल कुन कार्यालयलाई मुख्य कार्यालय मान्ने भन्ने बारेमा टुंगो लागेको छैन् ।

जिल्ला तहमा पार्टी समायोजनका लागि गठित कार्यदलले नै कमिटीको टुङ्गो लगाउने छ । जसका लागि दुबै पार्टीका अध्यक्ष र प्रदेश इन्चार्जहरु पदेन सदस्य रहेको कार्यदल गठन गरिएको छ ।

सोही कार्यदलले जिल्ला र स्थानीय तहको पार्टी संरचना निर्माणमा काम गर्ने नेता जिसीले बताए । जिल्लामा नेतृत्वले गरेको कामलाई अस्वीकार गरी पार्टीको हित विपरित कोही कसैले काम गरेमा कारवाही हुने उनको भनाई छ ।

समान हैसियतमा समायोजन

नेकपा स्थायी कमिटी सदस्य जनार्दन शर्माले जिल्ला र स्थानीय तहमा समान हैसियतमा पार्टी समायोजन हुने बताएका छन् । पार्टी एकताको सन्देश दिन कर्णाली प्रदेश राजधानी सुर्खेत पुगेका शर्माले शनिबार पत्रकारसँग कुरा गर्दै केन्द्रमा संख्याका आधारमा नेकपाको जिम्मेवारी बाडफाँड गरिएपनि तल्लो तहमा भने समान हैसियतमै समायोजन हुने बताएका हुन् ।

उनले नेकपा पार्टीबाट जनअपेक्षा धेरै भएकाले पनि जनताप्रति उत्तरदायी भएर काम गर्नुपर्ने बताए । ‘प्रदेशस्तरदेखि स्थानीय तहसम्म पार्टीको समायोजन गर्न कार्यदल गठन गरिएको छ’ उनले भने, ‘प्रतिशतका आधारमा नभई आवश्यकता र प्राथमिकताका आधारमा पार्टीको तल्लो संरचना निर्माण गरिन्छ ।’

उनका अनुसार जिल्ला र स्थानीय तहमा पार्टी समायोजनका लागि कार्यदलले काम तीव्र पारेको छ । ‘समायोजनको काम थालिएको छ, जनवर्गिय संगठन एक बनाउन लागि परेका छौं’उनले भने, ‘नेकपाको महाधिवेश आगामी दुई वर्षमा हुन्छ र विधान अनुसार नयाँ नेतृत्व चयन हुन्छ ।’

फरक प्रशंगमा उनले केन्द्र सरकारले विनियोजन गरेको बजेट कर्णालीका लागि प्रयाप्त नभएको बताए । उनले सरकारको नीति तथा कार्यक्रममा सबै नसमेटिएपनि महत्वपूर्ण आयोजनाहरु रातो कितावमा समेटिने बताए ।

जेठ २०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्