अस्ट्रेलियन टोलीमा १९ वर्षीय विंगर, कीर्तिमानको संघारमा काहिल

अस्ट्रेलियाले रुस विश्वकपका लागि राष्ट्रिय टोलीको घोषणा गरेको छ। डच प्रशिक्षक बर्ट भान मार्विकले पाँच महिना अघिमात्र ए डिभिजन लिगमा डेब्यु गरेका १९ वर्षीय ड्यानियल अर्जानीलाई समावेश गरेका छन्।
जुन १४ देखी सुरु हुने विश्वकपमा अस्ट्रेलियन टोलीमा अनुभवी खेलाडीको बर्चस्व छ। ३८ वर्षीय टिम काहिललाई लगातार चौथो विश्वकपमा गोल गरेर इतिहाँस रच्ने अवसर छ। हालसम्म चार विश्वकपमा गोल गर्ने तीन जनामात्र खेलाडी छन्।
अन्तिम पटक यो सफलता जर्मनीका मिरोस्लाभ क्लोसले हात पारेका थिए। रक्षक मार्क मिलिगान चौथोपटक र कप्तान माइल जेडिनाक तेस्रो पटक विश्वकप खेल्दैछन्।
टोलीमा समावेश चर्चित स्ट्राइकर रोब्बी क्रुज,मिडफिल्डर टम रजिक र रक्षक ट्रेन्ट सेन्सबरीले ब्राजिल विश्वकप चोटका कारण गुमाएका थिए। अस्ट्रेलियाले विश्वकप तयारी अस्ट्रियामा बसेर गरिरहेको छ।
गत शुक्रबार भएको अभ्यास खेलमा उसले चेक गणतन्त्रलाई ४-० गोलले हराएको थियो। अस्ट्रेलियाले विश्वकपअन्तर्गत समूहगत चरणको पहिलो खेलमा जुन १६ तारिख फ्रान्सको सामना गर्दै छ।
सन् १९७४ पछि पहिलो पटक सन् २००६ को विश्वकप खेलेको अस्ट्रेलिया त्यसयता लगातार विश्वकपमा खेल्दै आएको छ। सन् २००६ को संस्करणमा अन्तिम १६ मा पुगेको अस्ट्रेलिया त्यसपछिका लगातार दुई संस्करणमा समूहगत चरणबाटै बाहिरिएको थियो।
अस्ट्रेलियन राष्ट्रिय टोली
गोलरक्षक- ब्राड जोन्स, म्याट राएन, ड्यान्नी भुकोभिक
रक्षक- अजिज बेहिच, मिलोस डेगेनेक, म्याट जर्म्यान , मार्क मिलिगान, जेम्स मेरेडिथ,जोस रिसडन, ट्रेन्ट सेन्सबरी
मिडफिल्डर- ज्याक्सन इर्भिन,माइल जेडिनाक (कप्तान), मेस्सिमो ल्वोनगो, आरोन मुई,टम रोगिच
फर्वार्ड- ड्यानिय अर्जानी,टिम काहिल,टोमी जुरिक, रोब्बी क्रुज,म्याट लेस्की,जेमी म्याकलरेन,एन्ड्रियु न्याब्यौट, देमेत्री प्याट्राटस