मेरो माटो, मेरो चन्दन (अनुभव र अनुभूतिको श्रृंखला- २२) दरबार हत्याकाण्डबारे मेरो बयान

दीपेन्द्रको गोली कहाँबाट पसेर कहाँबाट निस्किएको थियो?

थुप्रै हल्ला फिजाइए। त्यसलाई अब फर्किएर केलाउने सम्भावना नै छैन। त्यसपछि अन्ततोगत्वा छानबिन आयोग गठन भयो। अनि छानबिन समितिले आफ्नो काम सुरु गर्‍यो। समितिमा सभामुख तारानाथ रानाभाट र नेतृत्व प्रधानन्यायाधीश केशवप्रसाद उपाध्यायको थियो।

राष्ट्रिय र अन्तर्राष्ट्रिय महत्व र चासोको घटना थियो त्यो। हामीलाई सबैतिरबाट के भएको थियो घटना? तपाईले बुझेअनुसार के लाग्छ भनेर थुप्रै मान्छेले चासो दिएर सोध्न थाले।

यस्तो हुन थालेपछि मैले पहिले दुई जनासँग कुरा गरेँ। पहिलो खगेन्द्र बहादुर श्रेष्ठ, उहाँ आर्मी अस्पताल र मेडिकल कमिटिको चिफ हुनुहुन्थ्यो, उहाँलाई सोधेँ– थुप्रै दबाब आइरहेको छ, के गर्ने तपाईँले मात्रै जवाफ दिने हो कि हामीले पनि बोल्ने?

उहाँले कम्प्लिट या स्पष्ट जवाफ दिन सक्नुभएन। त्यसपछि मैले दरबारमै सोधेँ– प्रेस र विभिन्न क्षेत्रबाट के भाको, तपाईँले देखेको बुझेको बताइदिनुस् भनेर थुप्रै चासो आइरहेको छ। यी कुराहरु सधैँ थेगेर बस्ने कि, हामीले बोल्ने? या बोल्दै नबोल्ने?

दरबारबाट जवाफ आयो– तपाईँले आफूले जेजे देख्नु भएको छ बोल्नुस्। किनभने प्रेसलाई जानकारी गराएकै राम्रो हुन्छ। तपाईँ चुप लागेर बस्नु पर्दैन भनेपछि म बोल्न थालेँ।

पहिलोपटक यो विषयमा बिबिसीका ड्यानिएल ल्याकसँग कुरा गरेँ। अनि नेपाली टाइम्स र अन्य मिडियासँग पनि कुरा गरेँ।

उता छानबिन आयोगले थुप्रै पाटाहरु केलायो। आफ्नै ठाउँबाट। अनि मेडिकल टिमलाई पनि बोलाएर तथ्य संकलनको बेलामा सोधखोज गरियो। मलाई पहिले देखिनै मेडिकल कुराहरु भन्न मज्जा लाग्थ्यो।

विशेषगरी बेलायतमा छँदा ४/५ पटक अदालतमा उपस्थित भएको छु। मेडिकल कुराहरुको प्रस्तुति अर्कै कला हो। अर्कै विद्या, मलाई मजा पनि लाग्छ। हामी अदालतमा जाँदा इज्जतसाथ लाने, दैनिक भत्ता पनि दिने। अदालतमा सबैको अगाडि ऊ डाक्टर, एक्पर्ट  भनेर अर्कै तरिकाको इज्जतसाथ उनीहरुले प्रश्न सोध्थे।

एकपटक मैले जिन्दगीमा सबैभन्दा धेरै पैसा कमाएको दिनचाहिँ यस्तै अवस्थामा नै थियो।

त्यो कोर्ट अटेन्ड गरेर एभिडेन्स दिए वापत मलाई ४ सय ५० पाउण्ड दिइयो त्यतिबेला। त्यो बेलाको साढे चारसय पाउण्ड भन्या धेरै ठूलो रकम हो। हाम्रो त्यो बेलाको १५ दिनको तलब बराबर। ९ सय पाउण्ड हुन्थ्यो मासिक तलब।

हामी अनि छानविन आयोगमा गयौँ। बढो रमाइलो थियो वातावरण।

तत्कालीन प्रधानन्यायाधीश केशवप्रसाद उपाध्याय र सभामुख तारानाथ रानाभाटले सोधखोज गर्नुभएको थियो। पछि गएर कस्तो सम्बन्ध भयो भने केशव प्रसाद उपाध्यायकी श्रीमतीलाई मैले उपचार गरेँ, सकको।

अनौठो खालको सक। बोल्ने केन्द्र माथि नै आक्रमण गरेको थियो त्यो सकले। अप्रेसन गर्ने, नगर्ने दुविधाको केस। केशव उपाध्यायजीको श्रीमतीको त्यस्तो समस्या भएर झण्डै एकडेढ महिना मेरो केयरमा बस्नुभयो पछि। रानाभाटको ब्लड क्लटको मैले अप्रेसन गरेँ। यी घटनाभन्दा पछिका दोस्ती हुन्।

मान्छेको जिन्दगी त्यही हो, कहिले कहाँ कोसँग कुन परिस्थितिमा भेट हुन्छ थाहा हुँदैन। अहिले दुवै जनासँग मेरो अत्यन्त नजिकको दोस्ती छ।

त्यो बेलामा डर लाग्ने सभामुख र प्रधानन्यायाधीश अगाडि गएर बोल्दाखेरि। प्रधानन्यायाधीशले कुन एङ्गलबाट सोध्ने हुन्, एउटा–एउटा अक्षरको अर्थ लाउने मान्छे परे भनेर। हुन त बेलायतमा यस्तो सोधपुछ क्रस क्वेश्चन हुने गरेकाले भएकाले ममा एक खालको कन्फिडेन्स थियो। त्यसरी आयोग समक्ष उपस्थित भयौं हामी।

उहाँहरुले सोधपुछ सिध्याउनु भो। अनि फाइल बन्द गर्न लागेको बेलामा मलाई लाग्यो, यो त भविष्यका लागि पनि चासोको विषय बन्ने चिज हो। अर्को छानबिन आयोग बन्दैन होला ।

छुटेको कुरा मैले आफैले भनिन भने राम्रो हुँदैन। मैले सोधेँ– मलाई सोध्ने प्रश्न सिध्दियो?  सिध्दियो यति नै हो भन्नुभो। मैले नै एउटा प्रश्न सोधिदिन अनुरोध गरेँ। एउटा अर्को प्रश्न सोधिदिनुस् न, मेरो अनुरोध छ। उहाँहरु दुवैजना ठट्टालु खालको। के होला डाक्टरसाब भन्नु भो। दीपेन्द्रको गोली कहाँबाट पसेर कहाँबाट निस्किएको थियो? भनेर सोधिदिनुस् न भनेँ।

त्यसपछि उहाँहरुले पुरक प्रश्नको रुपमा सोध्नुभो। मैले स्पष्ट जवाफ दिएँ– दीपेन्द्रको गोली देब्रे कन्चटबाट पसेर दाहिने कन्चटबाट निक्लिएको थियो। त्यसमा कुनै शंका छैन। कसले हिर्कायो गोली भन्ने कुरो त डाक्टरले भन्ने कुरो हैन। आफैँले हानेको पनि हुनसक्छ, यदि उनले देब्रेहात चलाउन सक्थे भने।

हैन भने अरुले हानेको हुनुपर्‍यो। तर दाहिने हात मात्र चलाउने मान्छेले देब्रेहातबाट हान्न सक्दैन। त्यस्तो अवस्थामा बुलेटको डिरेक्सन नै फरक हुन्छ। जुन ट्र्याजेक्टरी भएर त्यो बुलेट गाको छ, त्यो सोझै एउटा कान माथिबाट गएर अर्को काननेरबाट निक्लिएको छ।

त्यसपछि महत्वपूर्ण कुराको उत्तर भएजस्तो लाग्यो सायद उहाँहरुलाई। पछि उहाँले मलाई जिस्क्याउनु पनि भो, तपाईँ त कानूनको मान्छे हुनुहुँदो रहेछ भनेर। मैले बेलायतमा पनि कोर्टमा एभिडेन्स दिन जाने मान्छे हो, त्यसैले म यस्ता कुरा चासो राख्छु भनेँ। त्यसपछि हामी त्यहाँबाट निस्कियौँ।

ऐतिहासिक रुपमा यो घटना संसारभरमा भएको एउटा बढो नराम्रो मान्छेले गरेको डिजास्टरमध्ये हो। राष्ट्रिय अन्तर्राष्ट्रिय प्रेसको ठूलो अटेन्सन यसमा आयो। मलाई दुईतीनटा टेलिभिजनले अन्तर्वार्ता लिन आए, मैले दिएँ। बिबिसीका डोना सारले एउटा डकुमेन्ट्री पनि बनाएकी थिइन्। डकुमेन्ट्रीको क्रममा काठमाडौँ आउँदाखेरि मैले गरेको काम हेर्न वीर हस्पिटल पनि गइन्।

अन्तिममा मेरो एक दिनभरिको दैनिकी पनि उनले खिचिन्। वीर हस्पिटलको अप्रेसन थिएटरको पनि फोटो खिचिन्। उनीहरुले डकुमेन्ट्री बनाउँदाखेरि मलाई लिने अन्तर्वार्ता त आफ्नै ठाउँमा छ, अन्त पनि मेरोबारे इन्क्वाइरी गरे। तर अन्त सोधपुछ गरेर आउँदाखेरि उनीहरुले पाएको वास्तविकता पनि त्यही थियो ।

दीपेन्द्रले नै हिर्काएको हो अरुलाई तर दीपेन्द्रलाई कसले हिर्कायो यकिन गर्न सकिँदैन। बुलेट देब्रेपटिबाट पसेर दाहिनेपटिबाट निस्किएको छ। दीपेन्द्रले कि देब्रेहात चलाउने हुनुपर्छ, कि दुबै हात उतिकै चलाउने हुनुपर्छ। हामीलाई के थाहा छ भने सामान्य जनसङ्ख्याको ७० प्रतिशत मान्छेहरु दाहिने हात चलाउने हुन्छन्।

बाँकी रहेका देब्रे हात चलाउनेको पनि धेरै जसोको ब्रेनको डोमिनेन्ट सेन्टर दाहिने हात चलाउनेकै जस्तो हुन्छ। अब दीपेन्द्रको केसमा मेडिकल इन्क्वाइरी भन्दा बाहिर गएर सोध्नु पर्ने कुरा– दीपेन्द्र देब्रेहात चलाउँथे कि दाहिने हात चलाउँथे? अथवा दुईटै हात चलाउँथे। त्यो डाक्टरले गर्ने कुरा हैन, पुलिसले गर्ने कुरा हो।

यी सबै कुराको विश्लेषण गरेर बिबिसीले पनि त्यही भन्यो। अरुलाई दीपेन्द्रले गरेको हो तर दीपेन्द्रलाई कसले गर्‍यो?

मैले अन्तर्वार्तामा पनि त्यही भनेको थिएँ। व्यक्तिगत कौतुहलका कारण बुढानीलकण्ठमा मैले उहाँलाई पढाउने केही शिक्षकहरुसँग सोधेँ, अनौपचारिक रुपमा।

उहाँहरुले दीपेन्द्र दुईटै हात चलाउँथे जस्तो लाग्छ भन्नुभो। जोजो आए अन्तर्वार्ता गर्न उनीहरुलाई पनि अन्तर्वार्ता सकिएपछि म यही प्रश्न गर्थेँ– तपाईँले त धेरै मान्छेसँग कुरा गरिसक्नु भएको छ के लाग्छ भनेर। बिबिसीको अन्तर्वार्ता मेरो लागि बढो रमाइलो भयो। दोहोर्‍याएर पनि आए उनीहरु। उनीहरुले मेरो जिन्दगीको धेरै इन्ट्रेस्टिङ पाटाहरु देखे।

विशेषगरी बेलायतमा तालिम लिएर आएको डाक्टर बेलायतीको चासोको कुरा पनि भो, यो घटना। मसँग उनीहरुले कन्ट्र्याक डकुमेन्टमा सही पनि गराए। हामीले अहिलेसम्म लिएको फोटो, अन्तर्वार्ता हाम्रो कपिराइट हो भनेर मसँग अनुमति लिए। त्यसपछि उनीहरुले तिम्रो लाइफ इन्ट्रेस्टिङ रहेछ हामी अब बिबिसीसँग डकुमेन्ट्रीको लागि कुरा गर्छौं भने।

हुन्छ भनेको थिएँ मैले तर पछि बिबिसीले मानेनछ। उनीहरुको चाहना बेलायतको कुन ठाउँमा तालिम लिएको, त्यो तालिम लिएर नेपाल आएपछि कति फरक पार्‍यो भन्ने हिसाबको प्रस्तुतिमा रहेछ।

पछि बिबिसीले ती फुटेज युटिलाइज त गरेन तर जेहोस्, मलाई बिबिसीले डकुमेन्ट्री बनाउन लायकको काम गरेछु भन्ने लाग्यो।

अब यो दरबार हत्याकाण्डलाई लिएर मान्छेले धेरै कुरा भन्छन्। कतिले त मलाई दरबार हत्याकाण्डमा ज्ञानेन्द्रको फेबरमा ओपिनियन दिएकाले खुशी भएर मन्त्री बनाए भन्छन्। मैले दिने जवाफ सोझो छ। म मन्त्रीभन्दा माथि पुग्ने क्षमताको मान्छे हो।

मन्त्री बनाएर कसैले पनि गुन लगाएको जस्तो लाग्दैन, एक नम्बर। त्यो तर्क नै गलत हो। दोस्रो म केही स्पष्ट लक्ष्य र राष्ट्रिय हितका उद्देश्यका साथ मन्त्री बनेको थिएँ ।

अझ महत्वपूर्ण कुरा मेडिकल एथिक्स होस् अथवा व्यक्तिगत फिलोसोफी, आफ्नो व्यक्तिगत फाइदाका लागि झुटो नबोल्नु भनेर सिकेको मान्छे हुँ म। त्यस कारण भोलि मन्त्री हुन पाइन्छ, राजालाई खुशी बनाइयो भने भनेर, झुटो रिपोर्ट दिएर फाइदा लिन खोज्ने मेरो चरित्र हैन।

त्यस्तो हल्ला गर्ने मान्छेहरु देखेपछि मलाई टिठ लाग्छ। दरबार हत्याकाण्डसम्म आइपुग्दा वास्तवमै देशका सम्पूर्ण संरचनाहरु शिथिल भैसकेका थिए। माओवादी आन्दोलनले गर्दाखेरि एउटा नेपाली अर्को नेपालीसँग लडिरहेको बेला थियो।

२०४६ सालको आन्दोलन र माओवादी आन्दोलन फरक आन्दोलन हुन्। ०४६ सालको आन्दोलनमा सारा जनता एकतिर थिए। राजा र पञ्च मात्रै अर्कोतिर थिए।

तर माओवादी आन्दोलन त्यस्तो थिएन, दुध फाटेजस्तो थियो। माओवादी आन्दोलनमा एक पक्षको नेपाली जनता अर्को पक्षको नेपाली जनतासँग लडिरहेका थिए। त्यसै भएर म कता कता सिभिल वार नै हो भन्ने गर्छु।

त्यो नबुझेका कारणले पनि अहिले कन्फ्लिक्ट पछिको व्यवस्थापन राम्रो दिशामा गएको जस्तो मलाई लाग्दैन। किनभने त्यो द्वन्द्वको प्रकृति नै हामीले एनलाइज गर्न सकेका छैनौं। जति बोलेका छन्, मान्छेले प्रस्टीकरणको भाषा बोलेका छन्। वास्तविकता बोल्ने हिम्मत कसैले गरेका छैनन्।

जति बोलेका छन् मान्छेले, माओवादीका कार्यकर्ताले सतही बोलेका छन्। माओवादीले एमालेका कार्यकर्ता मार्नु भनेको जनआन्दोलन हैन। ०४६ सालमा त्यस्तो थिएन। जनता राज्यको इतरमा थिए। दरबार हत्याकाण्डको अवस्थामा आइपुग्दा राज्य हैसियत बिहीन जस्तो थियो।

एक पक्षका जनता एर्को पक्षसँग लडिरहेका थिए। राज्य यति शिथिल भएको थियो कि राजा वीरेन्द्रले कामै गरेका रहेनछन् कि भनेजस्तो देखिन थालेको थियो।

उता आर्मी लडिरहेका छन्, हारिरहेका छन्। त्यो अवस्थामा मैले अनुमान गरेँ- कतै यो आर्मीले कू गरेको त हैन। त्यसको पछाडि मेरो सोचाइको कारण त्यही थियो। यति कमजोर राज्य, यति इनएक्टिभ राजा भएको ठाउँमा कसरी माओवादीसँग लड्न सकिन्छ?

बरु आफैले हतियार लिएर अगाडि गयो भनेचाहिँ सकिन्छ भनेर आर्मीले कू गरेको हो कि भनेर अन्तर्राष्ट्रिय स्थिति नियाल्ने एक जना मान्छेले सोच्नु अस्वभाविक थिएन।

जेष्ठ २०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्