यी मोडल डाक्टर जो भन्छन्, ब्युटी इज अ डिजिज

काठमाडौँ– कहिलेकाँहि आफूले चाहेको बेलामा सबै कुरा पाइदैँन, तर कहिले सबै कुरा आफ्नै लागि भनेर आएका हुन् कि जस्तो लाग्छ। ‘भन्छन् नि, समय उपयुक्त भयो भने र डेस्टिनी प्रतिको लगावले पनि चाहेको कुरा सोचेभन्दा सजिलै पुरा हुन्छ,’ पुरानो बानेश्वर चोकको आवरण स्कीन केयरको डाइनिङ रुमको बसाईमा डाक्टर आयुष्मानले भने।

सन् २००८ मा एमबीबीएस सक्किसकेको थियो। त्यसपछि सुरु भयो एमडीको यात्रा। प्रोफेसनल यात्रा तय भइरहँदा मनमा अर्को इच्छा पनि लुकेर बसेको थियो। एमबिबिएसपछि एकपल्ट ट्राई गर्न मन नलागेको होइन तर आफ्नो एकाडेमिक क्वालिफिकेसनलाई उनले छोड्न चटक्क छोड्न सकेनन्।

‘मोडल भनेरमात्र हिड्न मन थिएन, मोडल हुनु ग्ल्यामरको दुनियामा छाउनु मात्र होइन ।’ डाक्टर आयुष्मानले आफ्नो मोडलिङको यात्रा शुरु भएको सम्झना सुनाए, ‘एमबिबिएस सकिएपछि मिस्टर नेपालमा जाने मन लागेको थियो, तर त्यतिबेला यो प्रतियोगिता नै भएन।’
हुन पनि सन् २००७ देखि २०१० सम्म मिस्टर नेपाल प्रतियोगिता स्थगित भएको थियो । यो समयमा डा.आयुष्मानको सपना पुरा नहुने छाँट देखियो।

चितवनमा कलेज अफ मेडिकल साइन्सेसमा एमडी ज्वाइन गरिसकेपछि एक जना फोटोग्राफर साथीले खबर गरे। पढाइको बीचमा प्रतियोगितामा भाग लिनु अप्ठेरो कुरा थियो। घिमिरेले घरमा बाबा आमालाई सोध्नु भन्दा पनि पहिला आफ्नो कलेजको टिचरलाई सोध्न उचित ठाने। उनलाई जित्छु भन्ने कन्फिडेन्स थियो।

काठमाडौँ युनभर्सिटीको नियम अनुसार एक जना एमडीको विद्यार्थी दुई हप्ताभन्दा धेरै बिदा बस्न नपाउने नियम थियो। ‘मैले अर्गनाइजरसँग कुरा गरेँ, उनीहरुले हुन्छ भने।’

मिस्टर नेपालमा आवदेन दिइसकेपछि ६ हप्ताको तालिम लिनुपर्ने हुन्छ। मिस्टर नेपाल भनेको व्यक्तिको गुण हो र त्यो गुण पाउन छ हप्ता तालिममा नै बस्नुपर्छ भन्ने छैन। यो सबै उसले बाँचेको जिवन र उसको सोच्ने तरिकाको कुरा हो भन्छन् आयुष्मान। हरेक कुरालाई सोध्ने, उसले व्यक्तिगत रुपमा कसरी व्यवस्थापन गरे भन्ने बारे क्षमता नै मिस्टर नेपाल हो, तालिमले मात्र क्षमता निखार्छ ।

आयुष्मान एमबिबिएस पढ्दा क्लासका लिडर पनि थिए, कपडा लगाउने कुरामा सार्‍है ख्याल राख्थे उनी। धेरै मानिसको भिडमा आफू प्रस्तुत हुने र बोल्ने कुरामा खासै समस्या लाग्दैनथ्यो उनलाई, ‘एमबिबिएसका विद्यार्थी भाइभा दिँदा दिँदा प्रखर भएका हुन्छन्, त्यसैले पब्लिक स्पिकिङमा केहि समस्या भएन।’

मान्छेको सवल पक्ष, निर्बल पक्ष, अवसर र त्रास हेरेर मात्र आफ्नो भविष्य निर्धारण गर्छ। उनलाई मुटुको सर्जन बन्ने इच्छा थियो तर पछि उनको इच्छा मोडिएर गयो। उनी डर्माटोलोजिस्ट बने। सोच्दा लाग्छ, यो बाहेक अरु केही विषयमा विशिष्टता हासिल गरेको भए अहिले गरेको जस्तो पर्फमेन्स गर्न सक्ने थिएनन् होला।

सुन्दरता बरदान पनि हो। तर बाहिर सुन्दर देखिनुमात्र सुन्दरता होइन भन्छन् आयुष्मान। बाहिरी सुन्दरता बरदान किन हो भने, यसले सबैको अगाडि नोटिस हुन सजिलो हुन्छ। उनी भन्छन्, ‘बिउटी इज अ डिजिज, वन्ली हेल्दी पिपल क्यान ह्याण्डल इट,’ उनले आफूले आफूलाई चाहि उनलाई हेर्ने मानिसलाई छोडिदिन्छन्। आफू कति राम्रो अथवा नराम्रो हेर्ने मान्छे आफैँले निर्धारण गरोस् भन्ने उनको विचार छ। कोहीलाई धेरै मन पनि पर्छ, कोहीलाई देख्नै मन नलाग्ने पनि हुन्छ, तर नयाँ मान्छेले तारिफ गर्दा चाहिँ सामाजिक सञ्जालमा देखिएको जस्तो अनुहार ठ्याक्कै छ भन्छन् रे।

उनी छाला अनि सौन्दर्य रोग विशेषज्ञ हुन्। उनको बिरामीले उपचार गर्न आउँदा भन्ने पनि गर्छन्, ‘डाक्टरसाब मेरो पनि तपाइको जस्तै छाला बनाइदिनुहोस् न।’ यसो भन्दा उनको खुसी अलि बढ्छ। आफूलाई राम्रो बनाउन के गर्नुहुन्छ भन्ने प्रश्नमा उनले भने यसको लागि धेरै मेहेनत नगर्ने बताए, ‘आफूलाई राम्रो देखाउन भने सफा कपडा, शरीरिक सरसफाई र छालामा सन्सक्रिम, त्यत्ति हो।’ तयार हुन धेरै समय पनि लाग्दैन, १० मिनेटमा आफूले आफूलाई चिटिक्क पार्छन्।

डा. आयुष्मान भारतीय अभिनेता अर्जुन रामपालका फ्यान हुन्, केही समय अगाडि नेपाल आएको बेलामा रामपाललाई भेट्ने मौका पनि पाएका थिए । सधैँ त होइन, कहिलेकाँहि पछ्याउने पनि गर्छन् रामपाललाई।

उनको काम काठमाडौँ मेडिकल कलेज, बेलुकाको समय क्लिनिक। यति हुँदा हुँदै पनि विज्ञापन अनि चलचित्रको पर्दामा पनि उनको अनुहार देख्न पाइएको छ। तर यसको लागि धेरै मेहनत गर्नुपर्‍यो उनले, समय व्यवस्थापन गर्न सार्है गार्‍हो।

परिवारमा बाबा आमा हुनुहुन्छ तर उनी काठमाडौँमा एक्लै बस्छन्। उमेरले विवाह गर्न ढिला हुन लाग्यो भनिसक्यो तर उनी भने भरपर्दो जीवनसाथीको प्रतिक्षामा छन्। उनी प्रेम विवाहमा विश्वास गर्छन्।

कामको मामलामा एकदमै क्लियर छन् उनी, ‘मान्छेले भन्छन् नि काम गर्नुपर्छ र गरिहाल्नुपर्छ, म गरिहाल्नेमा पर्छु।’ कहिलेकाँहि अफिसका स्टाफले पनि भन्छन् कि यो काम भएन डाक्टर साब तर उनलाई नहुने कुरा केही छैन जस्तो लाग्छ। हाँस्दै उनी भन्छन, ‘हुँदैन भन्ने शब्द मेरो डिक्सनरीमा छैन।’ उनी भन्छन्, कुनै काम गर्ने इच्छा राखियो भने त्यो काम जसरी पनि पूरा गर्न सकिन्छ। कतिपय साथीले भन्छन्, पहिला मलाई पनि यस्तै रहर लागेको थियो, तर काममा व्यस्त हुनाले त्यस्तो केही गरिएन। तर समय हुँदैमा गर्‍यो भने त्यो रहिरहन्छ, मिडियामा आफ्नो प्रस्तुतिलाई पनि यही रुपमा लिन्छन्, ‘मैले कहिले गरेको कामले मलाई अहिले सम्म चिन्छन्, यसले मलाई परिचित गराएको छ।’ काम गरिहाल्नु पर्छ भन्ने आफ्नो स्वभाव उनलाई राम्रो र चुनौतीपूर्ण लाग्छ।

पर्दामा डाक्टर आयुष्मान एक चलचित्रमा देखिइसकेका छन्, नेपाली चलचित्र अलि अलि हेर्छन् पनि, उनको विचारमा पछिल्ला समयमा बनेका नेपाली चलचित्रहरु राम्रो हुँदै छन्। जात्रा, पशुपति प्रसाद जस्ता चलचित्रले सामाजिक परिवेशको चित्रण पनि गरेको नै हो तर चलचित्रका कथावस्तुमा अझै धेरै काम गर्न बाँकी छ। कता कता चुकेको जस्तो, हिन्दी वा अंग्रेजी चलचित्रबाट प्रभावित भएका जस्तो। उनलाई पनि सामाजिक र समसामयिक परिवेशमा बनेको चलचित्रमा देखिन मन लाग्छ। भर्खरै आएको एउटा भिलेनको रोल उनले खेल्न मानेनन्।

उनको जन्म स्याङ्जामा भएको हो, त्यसपछि उनी तनहुँ आए। त्यहाँबाट कक्षा ८ मा बाट ग्यालेक्सी पब्लिक स्कूल ज्ञानेश्वरमा पढ्न थाले, त्यसपछि उनको बसाइ यतै छ। अहिले काठमाडौँ मेडिकल कलेज र आवरण स्कीन केयरमा काम गर्छन् र अब दरबारमार्गमा क्लिनिक खोल्ने इच्छा पनि छ। जीवन सफल बनाउने माध्यम खुसी उनको लागि।अहिलेको व्यस्त समयले आफ्नो खुसी खोस्ला भन्नेमा पनि उनी सचेत छन्।

एक जना लोभी किसानलाई मालिकले जग्गा दिने उदाहरण दिए उनले । दिनभरी दौडिएर घेरा लगाएको जत्ति जग्गा तिम्रो भन्दा किसान जग्गाको लोभमा दौडँदादौडँदै ज्यान गुमाउँछ। गोलो पूरा गर्न सक्दैन, किनभने जति दौडियो, उति ठूलो फाँट देख्छ र झन धेरै जग्गा पाउने आशामा दौडन्छ र अन्त्यमा घाम अस्ताउने बेलामा उसले त्यो सर्कल पूरा नगरी ज्यान जान्छ। डाक्टर आयुष्मान आफ्नो खुसीको गोलाई पूरा गर्न चाहन्छन्। परिवार, साथीभाई सबैलाई समय दिएर काम र प्यासनलाई सँगै लैजाने उनको इच्छा छ र यसलाई पूरा गर्न उनी प्रयत्नरत छन्।

यसो भन्दैमा चाहेको हरेक कुरा पाएको भन्ने पनि होइन, उनलाई साल्सा डान्स सिक्ने धेरै ठूलो इच्छा थियो तर सिक्दा उनले थाहा पाए, ‘मलाई नाच्न आउँदैन।’ यस्तै घटना अर्को पनि छ, गिटार सिक्न गएको तीन महिना तर त्यो रहर पनि उनको पूरा भएन। जीवन परीक्षण भएकोले आफूलाई चिन्नका लागि हरेक कुराको प्रयोग गर्दै जानुपर्छ र जुन कुराले सकारात्मक नतिजा ल्याउँछ, त्यसैलाई आत्मसात गर्दै लैजाने हो।

अहिले आफ्नै बलमा केही गर्न सक्ने क्षमता विकास भएको सामाजिक र आर्थिक रुपमा पनि। आफू हुर्केको ठाउँ तनहुँमा सामाजिक काम गर्ने र नेपालमा नै अन्तर्राष्ट्रिय स्तरको स्किन क्लिनिक खोल्ने उनको इच्छा छ। योसँगै उनले बुनेका आफ्नो भविष्यमा आफूलाई सामाजिक अभियन्ताको रुपमा पर्दामा देखाउने खालको पनि छ।

जेठ २०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्