पार्टी कमिटि र विधान निर्माणमा अपारदर्शी काम भयो

म अपमानित भएको छु-अमृत बोहोरा

काठमाडौं-नेकपा एमाले र माओवादी पार्टीको विघटनपछि जन्मिएको नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा)मा स्थायी कमिटिमा आमन्त्रित सदस्यमा झारिएका नेता अमृत बोहोराले आफू लगायत वरिष्ठ सदस्यहरुमाथि अपमान भएको र पार्टीको विधान अवाञ्छित तरिकाले परिवर्तन गरेको भन्दै त्यसमा आपत्ति जनाउँदै आएका छन्। त्यसलाई संवोधन नगरिएसम्म पार्टीका सबै बैठक बहिस्कार गर्ने निर्णयमा उनी पुगेका छन्।

बैठक बहिस्कारसँगै आफ्नो विरोध लिखितरुपमा पार्टीका दुवै अध्यक्ष केपी ओली र पुष्पकमल दाहालाललाई बुझाएका छन्।  तर उनले यो विरोध पदको लागि नभएर विधि, प्रक्रिया र विधानको पक्षमा रहेको बताएका छन्।

पार्टी निर्माणसँगै पञ्चायतकालमा त्यसलाई जीवनन्तता दिन भूमिका खेलेका तर पदको महत्वाकांक्षाबाट सँधै बाहिर रहदै आएका उनी देशसञ्‍चारकी वरिष्ठ संवाददाता दीपा दाहालसँग लामो अन्तरवार्ता क्रममा बीचबीचमा भावुक मात्र भएनन, भक्कानिए पनि वर्तमान अवस्थामा आफूप्रति भएको अपमानलाई सम्झिदै। उनीसँग गरिएको अन्तरवार्ता:

नेपाल कम्युनिष्ट पार्टी गठनको अर्थ थियो र हुनेछ

एमाले र माओवादीको अहिले ठूलो पार्टी बनेको छ।नेपाल कम्युनिष्ट पार्टी २००६ सालमा स्थापना भएको थियो। जसको नेतृत्व कमरेड पुष्पलाल श्रेष्ठले गर्नु भएको थियो। उहाँ लामो समय निरंकुश राणाशासन,पञ्चायती व्यवस्था विरुद्धको संघर्षमा होमिनु भयो। नेपालको कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउन जीवनपर्यन्त संघर्ष गर्नुभयो।उहाँले नागरिकको वाक स्वतन्त्रता र सभासंगठन खोल्न पाउने अधिकार सुनिश्चित गर्न नेपाल कम्युनिष्ट पार्टी गठन भएको थियो।

यो पार्टीले निरंकुश पञ्चायती राजतन्त्रको अन्त्यका निम्ति २०४७ साल भन्दा अघि धेरै ठूलो संघर्ष गर्‍यो। त्यसपछि विकसित निरंकुश राजतन्त्र विरुद्ध पनि उभियो। परिणाम स्वरुप अहिले महत्वपूर्ण उपलब्धी हासिल भएको छ।

संविधान निर्माणसँगै त्यो उपलब्धि संस्थागत समेत भएको छ।तीन चरणका निर्वाचन सम्पन्‍न भए। निर्वाचित स्थानीय, प्रदेश र संघीय सरकार गठन भए। निर्वाचित संसद पनि हामीसँग छ।जनअपेक्षित सुख-समृद्धिको सपना पुरा हुने मोडमा छ। त्यसैले यो पार्टी गठन हुनुको अर्थ थियो र हुने छ।

विधि र प्रक्रियालाई आत्मसाथ गरे पार्टी दीगो हुने

विधि र प्रक्रियालाई आत्मसाथ गरे यो पार्टी दीगो हुन्छ।नेपालको कम्युनिष्ट आन्दोलनको इतिहास हेर्दा अनेक उतारचढावको प्रक्रियाबाट गुज्रेको छ।त्यसका कतिपय सवल पाटाहरु पनि छन्। टुटफुट विभाजन, गुटबन्धीका अनेकन नकारात्मक पाटोहरु पनि छन्।तर पनि समयक्रममा त्यसलाई हामी सबैले व्यवस्थित गर्दै अगाडि ल्याएका छौं। दुवै पार्टी वैचारिक लगायत फरक पृष्ठभूमिबाट एकैठाउमा आएका छौं तर हाम्रो समाजलाई हेर्ने आधारभूत विषयमा सहमति छ, दृष्टिकोण एउटै छ।

केही समस्या या चुनौति नभएका होइन त्यसलाई समाधान गर्नुपर्छ सबै मिलेर र देशको राजनीतिक स्थिरता र जन अपेक्षित विकासका निम्ति हामी एकतावद्ध हुनुको विकल्प छैन। काम गर्ने महत्वपूर्ण अवसर प्राप्त भएको छ।यो अवसरलाई जनहितमा सदुपयोग गर्नु पर्छ। सोही खालको नीति तथा कार्यक्रम लिएर अघि बढ्नु पर्छ। त्यसरी गयो भने पार्टी दीगो पक्कै हुने छ।

पार्टीमा वैचारिक, सैद्धान्तिक र संगठनात्करुपबाट व्यवस्थित गरेर अघि बढ्नुको विकल्प छैन। एउटा सदृढ र खदिलो एकतामा परिणत गर्नका निम्ति हामीले संघर्ष गर्नु पर्छ।

पार्टी एकता पद प्राप्तिका लागि मात्र होइन
कतिपय निर्णयहरु हेर्दा कतै पदीय आकाक्षा पूर्तिका निम्तिका लागि त होइन भन्ने प्रश्न उठेको छ। त्यस्तो हुनु हुन्न। पार्टी एकता पद प्राप्तीका लागि मात्र होइन।
मुलभुत उद्देश्यतर्फ जानुपर्छ।

पार्टीले गरेका राजनीतिक, आर्थिक, समाजिक घोषणातर्फ जानुपर्छ। कार्यान्वयन गर्ने कुरामा हामी दृढतापूर्वक हामी उभिनुपर्छ। सिंगो देशभरीका कार्यकर्ता र जनसमुदाय खुसी हुनुहुन्छ। पार्टी एकता कसैलाई पदीय धुरीमा पुर्‍याउनका निम्ति मात्र होइन, पद त त्यसको आवश्यकताले, पार्टीको नेतृत्वको निम्ति तोकिने वा लिइने कुराहरु हो।

ममाथि अपमान र अन्याय भयो

पार्टी एकताको पक्षमा निरन्तरुपमा पूर्णरुपमा उभिदा उभिदै पनि ममाथि अपमान र अन्याय भएको छ। तर मैले यो कुरा पद प्राप्तीका लागि भनेको होइन।
म एउटा मार्क्सवाद र लनिनवादप्रति निस्टा राख्ने मान्छे। मैले २०२२ सालमा नेपाल कम्युनिष्ट पार्टीको सदस्यता लिए।

म तत्कालिन नेकपा मालेको समन्व्य समिति, नेकपा एमाले हुँदै अघि बढेको थिएँ। यो पार्टीको संस्थापकहरु मध्ये एक जना म पनि हो। मैले राजनीतिक, बैचारिक र नेपालको कम्युनिष्ट आन्दोलनका लागि संघर्ष गरेको छु, त्यो सबैलाई थाहा छ।

हुनत म आफैले आफ्नो बारेमा धेरै भन्‍न रुचाउँदैन। तर मेरो पुरा जीवन पार्टीका लागि बित्यो। त्यो बेला दुखकष्ट मोलेको छु, घरपरिवार देखि धेरै कुरा गुमाएको छु, निष्टापूर्वक काम गरेको छु।

विगतको राजनीतिलाई सम्झिदा भावुक हुन्छु

कमरेड पुष्पलाल श्रेष्ठले दिक्षित गरेको मान्छे हुँ। इमान्दारितापूर्वक लाग्नु पर्छ…( बोलि रोकियो। भक्कानिए उनी ) भन्‍ने मान्छे…। राजनीतिमा बेइमानी गर्नु हुन्‍न। मार्क्सवाद को मुख्य कुरा त्यही हो। जनताका निम्ति सिधा राजनीतिक गर्नु पर्छ। कही कतै पनि पदका लागि आकांक्षा गर्न हुन्‍न। त्यसपछि मात्रै जनता वा पार्टीले सम्मान गर्छन्। सिद्धान्तप्रति कहिल्यै पनि बेमाइनी गर्न हुन्‍न। म त्यही विचारबाट शिक्षित मान्छे हुँ। तर नेपालको राजनीतिमा अलिकति बेइमानी हुन थालेको महशुस हुन्छ। त्यस्तो हुनुहुन्‍न।अहिले कता कता निष्टा कायम गर्ने सम्बन्धमा समस्या देख्छु। हरेक कुराहरु पारदर्शी हुनुपर्ने हो।

राजनीतिक प्रतिवेदन निर्माण अपादर्शी 

दुई पार्टी पार्टीको एकताको प्रक्रिया चल्यो। हामी धेरै खुशी भयौं। आआफ्नो तर्फबाट त्यसका लागि के गर्न सकिन्छ लाग्न चाहन्थ्यौं। यसै पनि नेपालको कम्युनिष्ट पार्टीको एकताका लागि आन्दोलनमा होमिएको मान्छे हामी।

राजनीतिक विषयवस्तुलाई एकै ठाउँमा ल्याउनका लागि राजनीतिक प्रतिवेदन लेखन कार्यदल बन्यो। तर कार्यदलले सरोकारवाला सबैसँग व्यापक छलफल गरेन। हामीहरुको अनुभव समेट्ने कोसिस गरिएन। कस्तो राजनीतिक प्रतिवेदन लेख्ने विषयमा कम्तिमा सबै तहका प्रतिनिधि र विज्ञहरुबीच छलफल गर्नु पर्थ्यो। त्यसो भएन। अर्थात अलिकति पारदर्शी भएन।

अनायसै आमन्त्रित सदस्य किन बनाइयो?
संगठनात्मक व्यवस्थापन र मार्गनिर्देशनका निम्ति विधान बनाउनका लागि कमिटि बन्यो। त्यो किमिटिले व्यापक छलफल गरेर विधान बनाउनु पर्थ्यो, त्यो भएन। त्यसमा परिवर्तन गरिएका बुँदाहमा मेरो गम्भीर आपत्ती छ।

यसो भन्दा मान्छेहरुले यसले पद खोजेको हो भनिरहेका छन्।त्यस्तो होइन। त म यो पार्टीको संस्थापक हुँ। म भूमिगतकालमा आयोजित चौथो महाधिवेशनबाटै पोलिटव्युरो सदस्य बनेको थियो।त्यतिबेला स्थायी कमिटि थिएन। पाँचौ, छैटौं, सातौं, आठौं, नवौं महादिवेशनमा निर्वाचित स्थायी कमिटिको सदस्य भएँ। अनि आठौं महादिवेशनबाट अहिलेसम्म अनुशासन आयोगको अध्यक्ष भइरहेको थिएँ।

मलाई एउटै मानिस सँधै एउटै पदमा रहिरन पर्छ भन्‍ने पनि लाग्दैन।तर कतिपय मान्छेले आधारभुत गल्ति गरेको छैन भने या केही विराएको छैन भने उसको पदहरु हेरफेर गर्दा एउटा महाधिवेशनसम्म त कुर्नै पर्छ।कही नीतिगत छलफल पनि भएन। एकाएक वा भनौं अनायसै नेपाल कम्युनिष्ट पार्टीको स्थायी किमिटिमा आमन्त्रित सदस्यकारुपमा मलाई झारियो।पुरानो व्यवस्था अनुसार अनुशासन आयोगको अध्यक्ष हुनका लागि स्थायी कमिटिको सदस्य हुनैपर्छ। त्यो विधानमा स्पष्ट छ।

स्थायी किमिटीको सदस्य हुने योग्याता बनाएपछि मात्रै अनुशासन आयोगको अध्यक्ष हुन पाउँछ। त्यसो भएपछि मात्रै स्थायी, पालिटव्युरो र केन्द्रीय सदस्य हुन पाउँछ। मलाई स्थायी कमिटिको सदस्य बनाउ भन्‍ने खोजेको पनि होइन।म नेपाल कम्युनिष्ट पार्टीको सदस्य हुँ र त्यसैमा गौरव गर्छु। म जहाँ बसेर भूमिका खेल्नु पर्ने हो त्यही गर्छु।

मेरो इमान र कामकै आधारमा मलाई निर्वाचित गरेर यहाँ सम्म पठाइएको थियो।तर अनायसै कसरी मलाई आमन्त्रीत सदस्य बनाइयो ? त्यसबारे कहाँ छलफल गरियो? संस्थागत निर्णय कहाँ भयो? भन्ने प्रश्‍न नेतृत्वसमक्ष उठाएको छु।मैले पनि थाहा पाउनु पर्छ त्यो कुरा। यदि पार्टीलाई नै समस्या परेको हो भने पनि त्यसबारे हामीसँग छलफल गर्न गर्नु पर्थ्‍यो। यस्तो यस्तो भयो भन्‍न सकिन्छ वा केही साथीलाई अटाउनु पर्ने भयो भन्‍न सकिन्थ्यो अनि त्यसमा छलफल गर्न सकिन्थ्यो।

उहाँहरुलाई नराखी नहुने हो वा एक जना मानिस नराख्दा एकता प्रक्रियामा बाधा पुग्न लाग्यो भन्ने थियो भने हामी त्यसमा विचार गथ्र्यौ। हामी पहिला कमरेड मनमोहन अधिकारी, कमरेड सहाना प्रधानले नेतृत्व गरेको तत्कालिन नेपाल कम्युनिष्ट पार्टी मार्क्सवादी र नेकपा मालेबीच एकीकरण हुँदा खेरी पनि हामी स्थायी कमिटि, पोलिटव्युरोबाट एकएक तह तल झरेका थियौं एकताका खातिर।

अहिले पनि त्यो गर्न तयार छौं

छलफल नगरी दिइएको पद मेरो निम्ति स्वीकार्य छैन। मैले पार्टीको स्थायी समिति मात्र होइन पार्टीको प्रमुख समेतको नेतृत्व गरेको थिएँ। त्यत्रो राजाको प्रतिगमन हुँदा वा सबै नेताहरु नजरबन्धमा हुँदा खेरी समेत शिला खोजेर कम्युनिष्टहरुलाई एकिकृत गरेर एउटा समन्वय केन्द्र बनाएका थियौं।

सीपी मैनाली, माधव नेपाल, झलनाथ खनाल लगायत जम्मै कमिटिका साथीहरु पक्राउ परेर जाँदा कार्यवहाक महासचिव भएर पार्टीलाई संगठित गरेको थिएँ। मैले आफ्नो बढाइचढाई गरे जस्तो कसैलाई लाग्ला त्यसमा माफी चाहन्छु। तर पटक पटक पार्टीको प्रमुखकको हैसियतमा काम समेत गरिसकेको छु। संगठन विभागमा बसे। सचिवालयमा बसे। कार्यालय सचिव भएँ। र आयोगको अध्यक्षका रुपमा काम गरिहरेका थिएँ।

विधानले पार्टीको क्रान्तीकारी धार कमजोर बनायो

वर्तमान पार्टीको विधान २००६ सालमा बनेको कम्युनिष्ट पार्टीको निरन्तरता हो। यो विधानलाई जोसुकैले मन लाग्यो भन्दैमा चलाउन पाइँदैन। यसलाई चलाउने, फेरवदल गर्ने विषय गम्भीर भएकाले निश्चित यवस्था र प्रत्रिया अपनाउनु पर्छ। यसलाई चलाउने काम राष्ट्रिय महाधिवेशनले गर्न सक्छ। शक्तिशाली निकाय प्रतिनिधि परिषदले चलाउन सक्छ।

एकता वा अन्य कुनै विशेष अवस्थामा केन्द्रीय कमिटिमा सबैलाई राखेर विस्तृत छलफल गर्नुपर्छ।पार्टी एकिरणको प्रक्रियामा मस्यौदा कमिटि बनाइयो। ५÷६ जना साथीहरु बस्नु भयो। उहाँहरुले चुपचाप परिवर्तन गर्नु भयो। कमसेकम हामी सरोकारवालालाई त त्यो विधान परिवर्ततनका बेला बोलाउन सकिन्थ्यो। तर विधानमा के के गर्नु पर्छ भनेर एक शव्द पनि सोधिएन। त्यसलाई कहिल्यै देखाइएन। जबकी पटकपटकको स्थायी कमिटिको बैठकमा म लगायत अरु धेरै साथीहरुले त्यो विधान देखाउनु पर्‍यो भन्‍ने माग राखेका थियौं।

यस्तो अपरदर्शीरुपबाट पार्टी अगाडि बढ्न हुन्न भन्यौं। तर पनि सुनुवाई भएन।के हुँदै छ भन्दा महाधिवेशनबाट निर्माण गरिएका आधारभुत कुराहरुलाई परिवर्तन नगरेको भनियो। विधानमा र नेतृत्व अर्थात स्थायी, पोलिटब्‍यूरो, केन्द्रीय कमिटी जस्ताको त्यस्तै रहन्छ भनियो। कम्युनिष्ट पार्टीको क्रान्तीकारी धारलाई कमजोर बनाउने गरी बाहिर आयो।

विधान हेर्ने मौका पार्टी एकीकरणको अघिल्लो दिन चार बजे प्रधानमन्त्री निवास बालुवाटारमा पार्टी स्थायी कमिटिको बैठक बसेका बेला पाइयो त्यो पनि धेरै नै माग गरेपछि। त्यो दिन रातीसम्मै बैठक चल्यो। पार्टी कमिटि बनाउँदा पनि एउटा नीति, मापदण्ड बनाएर काम गरौं भन्ने मैले आवाज उठाएका थियौं।

सदस्य पनि त्यसैगरी थपौं भनेका थियौं।कमिटी वैज्ञानिक र व्यवस्थित तरिकाले बनाउनु पर्छ भन्‍ने माग हाम्रो थियो। त्यो गर्दा कुनै पनि नेतालाई अन्याय महसुश हुँदैन तपाईहरुलाई पनि अपजसको भारी बोक्न पर्दैन भनेका थियौं नेतृत्वलाई।
तर विधान अध्ययन गर्दा त्यस्तो गरिएन। आफ्नो तरिकाले नाम राखियो। मेरो नाम आमन्त्रितमा राखिएछ। तत्कालै मैले आपत्ती जनाए र असहमति लिखितरुपबाट दर्ज गराए।

विधानमा अनुसान आयोगको मर्यादा घटाइयो

पार्टीको नियन्त्रण र सन्तुलनका लागि बनेको अनुशासन आयोग पूर्णरुपमा महाधिवेशनसँग उत्तरदायी हुन्छ। केन्द्रीय कमिटिको निर्देशन भित्र यो हुँदैन। किनकी आयोग केन्द्रीय कमिटिले नभई महाधिवेशनले गठन गरेको हो। यसले केन्द्रीय किमिटि र केन्द्रीय आयोगहरुले अनुशासन उल्लंघन गरेमा उनीहरुलाई महाविशेनबाट अनुमति लिएर कारवाही गर्ने अधिकार राख्छ र विशेष अवस्थामा विधान वा नेतृत्व परिवर्तन गर्न परेमा राष्ट्रिय प्रतिनिधि परिषद्ले गर्न सक्छ।

विधानमा अनुसाशन आयोगको मर्यादालाई घटाउने काम भएको छ।अनिवार्य रुपमा केन्द्रीय कमिटि र पोलिटव्युरामा राष्ट्रिय प्रतिनिधि परिषद् र अनुशासन आयोगले महाधिवेशनमा आफ्नो कामकारवाहीबारे प्रतिवेदन बुझाउनु पर्ने व्यवस्था विधानमा थियो।

त्यो हटाइएर एकैपटक महाधिवेशनलाई मात्रै दिने भनेर खुम्चाइयो
हाम्रो विधानमा केन्द्रीय कमिटी, अनुशासन लगायत केन्द्रीय निकायहरुले विधानविरित काम गरेको प्रमाणित भएमा एकैचोटीमा एक तिहाई सदस्यमाथि कारवाही गर्न गर्न सक्ने व्यवस्थालाई परिवर्तन गरिएको छ। मेरो त्यसमा सबभन्दा ठूलो आपत्ती छ। आयोगलाई अरु कसैको निर्देशन लिन पर्दैन, पार्टीकै अंग भएपनि। अहिले आयोगले केन्द्रीय कमिटिमाथि कारवाही गर्ने वाक्य नै हटाइयो।

आयोगले अरु केन्द्रीय निकायलाई पनि कारवाही गर्ने अधिकार पनि हटाइयो। र उल्टै अनुशासन आयोगलाई केन्द्रीय कमिटिको दुईं तिहाईले कारवाही गर्न सक्ने विधानमा व्यवस्था गरियो। आयोगलाई केन्द्रीय कमिटिले बनाएको विभाग र सल्लाहाकार जस्तो भयो।

पार्टीका अन्य साथीहरुबाट पनि विरोध

आजसम्म अनुशासन आयोगले पद्धती, प्रक्रिया, दण्डहिता, पार्टी मुकदर्शक बनेर बसेको बारेमा बारम्बार आवाज उठाएको थियो। त्यो चिज मन परेन अलिकति ठेगानमा राख्‍ने हो की भने जस्तो गरी विधान आएको छ। यस्तो खालको गम्भीर संसोधन भइसकेपछि मैले मात्र नभई पार्टीका धेरै जना साथीहरुले आपत्ति जनाउनु भएको छ। तत्कालिन माओवादी अनुशासनका आयोगका अध्यक्ष अमिक शेरचनले पनि त्यस्तै आपत्ती जनाउनु भएको छ।

यसबाट ठूलो अपमान महसुस गरेको र यो हुँदैन भनेका छौं हामीले। विधानमा अवाञ्छित तरिकाले संसोधन गरिएको छ। यो संस्थागत छैन। यो हामीहरुले मान्दैनौ।छलफल भएको छैन।

अध्यक्षलाई भेट्न पाइन

विडम्बना मेरो आपत्तीको जवाफ नेतृत्वबाट आइपुगेको छैन। मैले त्यो भन्दा अघि पार्टी अध्यक्ष कमरेडलाई भेट्न धेरै पर्यत्‍न गरे। उहाँको व्यस्तता म बुझ्छु तर मैले एक मिनेट पनि यो विषयमा औपचारिकरुपमा नेतृत्व समक्ष कुरा राख्ने मौका पाइन। तर म अहिलेसम्मका बैठकमा पनि गएको छैन। मैले आमन्त्रितको माइन्युटमा हस्ताक्षेर पनि गरेको छैन। म त्यसको प्रस्ट छिनोफानो नभइकन हस्ताक्षेर पनि गर्दिन। र, मैले अपमान महसुस गरेको छु। र त्यो अपमान तपाईहरुले नै फिर्ता लग्नुहोस समेत भनेको छु।

मैले धेरै उहाँको सचिवालयमा टेलिफोन गरे सम्पर्क हुन सकेन। अरु धेरै जिम्मेवारहरुलाई सम्पर्क गर्न खोजे त्यो पनि सम्भव भएन। अव नयाँ व्यवस्था अनुसार विष्णु पौडेल पार्टीको महासचिव हुनुहुन्छ। उहाँ मार्फत मेरो आपत्तीलाई नेतृत्वसमक्ष पुर्‍याउनुहोला भनेको छु। यो विधान संसोधनका कारणबारे स्पष्ट उत्तर चाहिन्छ भनेको छु।केही सीप नलागेपछि एउटा सार्वजनिक कार्यक्रममा सुरक्षाको घेराभित्र म पसेर प्रधानमन्त्रीलाई भेटेर आफ्नो आपत्ती गम्भीररुपमा प्रकट गरे। असहज लाग्दा लाग्दै पनि मैले किन कमरेड भेट पनि हुँदैन भने।

टेलिफोनमा पनि रेस्पोन्स हुँदैन यो के भयो भने। भेटै नहुने हो त मैले भने। उनले त्यस्तो होइन कमरेड म व्यस्त भएर हो भन्ने जवाफ दिनु भयो। तपाइले उठाएको विषयमा म जानकार छु। म व्यवस्था मिलाउने कोसिस गर्छु पनि भन्‍नुभयो।तीन÷चार दिन भयो केही खवर केही आएको छैन।

धैर्यता गुमाएको छैन
यति हुँदा हुँदै पनि मैले धैर्यता गुमाएको छैन। पर्खेर बसेको छु। अरु विकल्पबारे सोचेको छैन। अहिले पनि म यो विषयलाई आन्तरिक बनाउन चाहन्थे। तर पनि पार्टीका नेताहरु, सुभचिन्तकले पार्टीमा के भइहरेको छ भन्नेबारे थाहा पाउनु पर्छ भन्ने लाग्यो।

मैले उठाएको कुरा ठिक वा बेठिक भन्ने उहाँहरुले पनि जान्नु पर्छ।तर जे भएको छ त्यो बेठिक भएको छै्रन। यस्तो अपादर्शी तरिका अविलम्ब बन्द गर्नुपर्छ। संस्थागत परिपार्टी अपनाउनु पर्छ। अहिलेको लोकतान्त्रिक युगमा हामी पारदर्शी काम नगरेर गुपचुप राख्नु हुन्न। केही व्यक्तिको विषय यसलाई विल्कुलै बनाउनु हुन्‍न।

यत्रो लामो इतिहास बोकेको र संस्थागत प्रक्रियाबाट हुर्केको पार्टीको विषय हो यो। जीवन बाजी राखेर, रगत पसिना बगाएर जेलनेलमा परेर, निर्वासनमा परेर, भूमिगत भएर निर्माण गरेको पार्टीब सरोकारको विषय पनि बन्छ।

संस्थागत निर्णयको विकल्प छैन

केही नेता विशेषले कसलाई हटाउने र कसलाई राख्ने भन्ने निर्णय गर्न मिल्दैन।नीति, विधि, मापदण्डका आधारमा मान्छेहरुको चयन हुनुपर्छ। त्यस्तो गरिएन भने त बाटोमा हिड्दाहिड्दै मान्छेलाई हटाइदिने र हिड्दाहिड्दै मान्छेलाई पदउन्नती गर्ने काम हुन्छ।

मार्क्सवाद, लेनिनवाद भनिएको छ, रटिएको छ तर यी वादहरुल बहस र छलफललाई नै प्राथमिकता दिन्छ, संस्थागत निर्णयलाई जोड दिन्छ, सामूहिक नेतृत्वको कुरालाई जोड दिन्छ। यो मेरो मात्रै विषय होइन।

पार्टीभित्र अनेक हिसावले अपमान र अन्याय महशुस गरेको, विधान र पद्धतीलाई सम्मान नगरेका कारणले धेरै साथीहरु असन्तुष्ट हुनुहुन्छ।तर यो समस्या समाधान गर्ने उपाय पनि पार्टीको विधानले दिएको छ। आन्तरिक बैचारिक छलफलबाटै समस्या समाधान गर्नुपर्छ। विधि र पद्धती पार्टीको जीवन हो। पार्टी त त्यसैमा टिकेको हुन्छ। पद्धती भए पार्टी हुन्छ नभए हुन्न।

व्यक्तिले जे चायो त्यो गर्‍यो भने त्यो कसरी पार्टी भयो? जव पद्धतीलाई कुल्चिने काम हुन्छ अनेकौं राम्रा मान्छे अवसरबाट बञ्चित हुन्छन्। मान्छेले अन्याय महसुश गर्छ। कम्युनिष्ट पार्टीमा अन्याय महसुस गर्नु पर्दैन भनेर मान्छे लाग्छन् तर यहाँ नै निरंकुशता भयो भने या त्यहाँ भित्र विवेकशीलता भएन भने अफठेरो पर्छ। हुन त पार्टी भर्खरै एकीकरण भएको छ।

राजनीति परिस्थिति पनि मिलाउनु पर्ने र पार्टीको आन्तरिक व्यवस्थापन पनि मिलाउनु पर्ने बाध्यता नेतृत्वलाई छ। त्यो मैले बुझेको पनि छु। तर उठेका कुरालाई गम्भीरतापूर्वक लिनु पर्छ र कार्यान्वयनमा जोड दिनुपर्छ। बैठक बसालेर बहस र छलफल गर्नु पर्छ। गलतलाई सच्च्याउने प्रक्रिया थाल्नु पर्छ।

जीवन रहेसम्म वैचारिक लडाई जारी रहन्छ
म विकटमा जन्मिए, राजनीतिसँगै हुर्किए। शोषणका विरुद्ध होमिए। मार्ने घोषणा गरिएको थियो मलाई तर जनताको मायाले बचेर आएँ। मेरा आस्था र विश्वास जनताप्रतिनै छ। पार्टीभित्रै पनि धेरै गुटबन्दी, जालझेल र षड्यन्त्रका विरुद्ध लड्दै आएको हो। पुष्पलालजस्तो अडानमा रहने व्यक्तिबाट राजनीति सिकेको छु।

आचारण र अनुशासन भएन भने के पार्टी ? के संगठन? त्यसैले मैले न्याय पाउँछु भन्ने विश्वास छ। राजनीतिमा आवेग वा उत्तेजनामा आएर हुन्न। वैचारिकरुपमै लड्नु पर्छ भन्ने मान्यता राख्छु। र मेरो जीवन रहेसम्म त्यही गर्छु। अन्तरपार्टी संघर्षकै माध्यमबाट यो गलत प्रक्रियालाई ठाउँमा ल्याउने कोसिस गर्छु।

जेठ २०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्