जातीय छुवाछुत उन्मुलन राष्ट्रिय दिवस : जातीय विभेद विरुद्ध उभिन प्रधानमन्त्रीको आह्वान

काठमाडौँ – जातीय छुवाछुत उन्मुलन राष्ट्रिय दिवस सोमबार विभिन्नका कार्यक्रम गरी मनाईँदैछ । १३ वर्षअघि तत्कालीन संसदले नेपाललाई छुवाछुतमुक्त राष्ट्र घोषणा गरेको स्मरणमा हरेक वर्ष जेठ २१ गते यो दिवस मनाउने गरिएको छ ।

२०६३ जेठ २१ गते तत्कालीन संसदले नेपाललाई छुवाछुटमुक्त राष्ट्र घोषणा गरेको थियो । नेपालमा विसं २०६८ जेठ २१ गतेदेखि जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवस मनाउँदै आइएको छ ।

दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले हरेक नेपालीलाई जातीय छुवाछुत र भेदभावविरुद्व दृढतापूर्वक उभिन आह्वान गरेका छन् ।

सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाईलाई जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना प्रदान गर्दै सबै नेपाली एक भएर लागेमा छुवाछुत प्रथा पनि विगतका दास प्रथा, सतीप्रथा, कमैया प्रथाजस्तै सधैँको लागि समाप्त हुने बताए ।

उनले नेपालको संविधानको प्रस्तावनामै सबै प्रकारका जातीय छूवाछुतको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समतामूलक समाजनिर्माण गर्ने संकल्प गरिएको समेत बताए ।

प्रधानमन्त्री ओलीले दलितको हकअन्तर्गत दलित समुदायको सशक्तिकरण, प्रतिनिधित्व र सहभागिताका लागि विशेष व्यवस्थाको प्रत्याभूति संविधानले गरेको भन्दै संविधान कार्यान्वयन हुने क्रममा भएको स्थानीय तहको निर्वाचनबाट दलित समुदायको प्रतिनिधित्व २२ प्रतिशत पुगेको बताउन पाउँदा आफूले खुशी महसुस गरेको उल्लेख गरेका छन् ।

जेठ २१, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्