मुग्लिन–नारायणगढ सडक : अहिले अवरोध छैन, असार मसान्तसम्म निर्माण सकिने

काठमाडौँ – पानी पर्ने क्रम सुरु भएसँगै निर्माणाधिन मुग्लिन–नारायणगढ सडकखण्डमा पहिरो जाने र त्यसले बाटो अवरुद्ध हुने क्रम सुरु भएको छ ।

आइतबार बेलुका इच्छाकामना गाउँपालिका–६ स्थित चारकिलो भन्ने स्थानमा आज अपराह्न ४ बजे पहिरो खस्दा सडक अवरुद्ध भएको थियो ।

तर पहिलो हटाएपछि बाटो खुलेको र अहिले दुई तर्फी नै गाडी चलेको मुग्लिन–नारायणगढ सडक आयोजनाका सिनियर डिभिजन गोविन्द खनालले जानकारी दिए ।

अहिले गाडी बिना अवरोध चलेका छन् । तर पानी पर्ने क्रम सुरु भएकाले पहिरो जाने र बाटो अवरुद्ध हुने सम्भावना भने रहेको उनले बताए ।

बाटो बनाइसक्नका लागि पछिल्लो पटक थपिएको समय जेठ १६ गतेसम्म थियो । तर काम पूरा भएको छैन । समय थप गर्नका लागि निवेदन दिइएको आयोजनाले जनाएको छ ।

यो आर्थिक वर्ष २०७४/७५ सम्ममा बाटो निर्माणको काम सकिने इन्जिनियर खनालले बताए । पहिलो चरणको कालोपत्रे गर्नका लागि अब साढे ३०० किलोमिटर बाँकी रहेको र त्यो पनि हप्ता १० दिनमा सकिने उनले बताए ।

त्यसपछि दोस्रो र तेस्रो चरणको कालोपत्रे गर्न सुरु हुनेछ । आउँदो असार मसान्तसम्ममा छिटफुट काम बाहेक अरु काम सकिने उनले बताएका छन् ।

यस्तै अहिले बाटोमा हिँड्ने यात्रु, चालक तथा सहचालकलाई सुरक्षित रहनका लागि सचेतनाका कार्यक्रम पनि सुरु भएको उनले जानकारी दिएका छन् ।

जेठ २१, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्