विश्वकप २०१८ : जर्मनीको टोलीमा को को ?

विश्व विजेता जर्मनीको अन्तिम टोली घोषणा, लिरोय साने अटाएनन्

विश्व विजेता जर्मनीको विश्वकप फुटबल २०१८ का लागि अन्तिम टोली घोषणा भएको छ । जर्मनीले तीन हप्ताअघि घोषणा गरेको २७ सदस्यीय प्रारम्भिक टोलीबाट चार खेलाडी हटाएर २३ सदस्यीय अन्तिम टोली घोषणा गरेको हो ।

अन्तिम टोलीमा म्यानचेस्टर सिटीको विङ्गर लिरोय सानेले स्थान बनाउन सकेनन् । योआखिम लोको अन्तिम टोलीमा बेन्र्ड लिना, जोनथन टाह र निल्स पिटरसन पनि अटाएनन् ।

चोटका कारण ९ महिना मैदान बाहिर रहेर गएको शनिबार राति अस्ट्रियासँग भएको खेलबाट मैदान फर्किएका गोलरक्षक म्यानुएल नुयर भने टिममा परेका छन् ।

गएको सिजन म्यानचेस्टर सिटीलाई प्रिमियर लिगको उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका साने टिममा नअटाउनु अप्रत्यासित देखिएको छ ।

सन् २०१४ को विश्वकप फाइनलमा विजयी गोल गरेर उपाधि दिलाएका मारिओ गोटेज प्रारम्भिक टोलीमा नै परेका थिएनन् ।

उनले चार वर्षअघि ब्राजिलमा भएको विश्वकपमा फाइनलमा अतिरिक्त समयमा अर्जेन्टिना विरुद्ध गोल गर्दै जर्मनीलाई चौथो पटक विश्वकपको उपाधि दिलाएका थिए ।

को को परे टिममा ?

गोलरक्षक : म्यानुएल नुयर, मार्क आन्द्रे टेर स्टेगेन, केविन ट्राप्प

डिफेन्डर : जेरोमी बोएट्ङ, माथिएस गिन्टर, जोनास हेक्टर, म्याट्स ह्युमेल्स, जोशुए किमिच, मार्विन प्लाटेनहार्ड्ट, एन्टोनिओ रुडिगर, निक्लास सुली

मिडफिल्डर : जुलियन ब्रान्डट्, जुलियन ड्रेक्सलर, लिओन गोरेट्स्का, इलकाइ गुण्डोगान, सामी खेडिरा, टोनी क्रस, मेसुट ओजिल, सेबास्टियन रुडी

स्ट्राइकर : मारिओ गोमेज, थोमस मुलर, मार्को रुइस, टिमो वार्नर

जेठ २२, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्