फुएगो ज्वालामुखी : मृत्यु हुनेको संख्या ६२, तातो ग्यास र चट्टानका कारण समस्या

एउफेमिया गार्कियाले आफ्नो त ज्यान जोगाइन्, तर हराएका आफ्ना सन्तानको खोजीमा विक्षिप्त छिन् । तस्बिर : रोयटर्स

ग्वाटेमालामा ज्वालामुखी बिस्फोट हुँदा ज्यान गुमाउनेको संख्या ६२ पुगेको छ । स्थानीय समय अनुसार आइतबार दिउँसो भएको ज्वालामुखी बिस्फोटका कारण धेरै मानिस हराएका छन् ।

उद्धारकर्मी तथा सुरक्षाकर्मीले ज्वालमुखीमा परी हराएका मानिसको खोजीका लागि अग्नीनियन्त्रकहरुलाई सहयोग गरिरहेका छन् । ज्वालामुखी बिस्फोट भएपछि निकै तातेका चट्टान, खरानी तथा लाभाहरु गाउँसम्म आइपुग्दा पूरै गाउँ नै ध्वस्त भएको छ ।

राजधानी ग्वाटेमाला सिटीबाट झण्डै ४० किलोमिटर दक्षिण–पश्चिममा रहेको फुएगो ज्वालामुखीबाट ताता चट्टान, कालो धुवाँ र खरानी निस्किएको छ ।

अग्नीनियन्त्रकले ज्वालमुखीमा हराएका मानिसको खोजी गरिरहेका छन् । तस्बिर : रोयटर्स

ज्वालामुखी बिस्फोट भएपछि हजारौँ मानिसलाई प्रभावित क्षेत्रबाट सुरक्षित स्थानमा लगेर अस्थायी सेल्टरमा राखिएको बिबिसीले उल्लेख गरेको छ । ज्वालामुखी बिस्फोटका कारण खरानी १० किलोमिटर माथि आकाशमा पुगेको थियो ।

अहिले ज्वालमुखी शान्त भएको छ र खरानी पनि झर्न कम भएको छ ।

ज्वालामुखी बिस्फोटका कारण निकै तीब्र गतिमा बग्ने तातो ग्यास र ज्वालमुखीजन्य सामग्रीको नदी जस्तै पनि बनेको थियो । जसका कारण तल रहेका एल रोडेओ र सान मिगुएल लोस लोटेससहितका क्षेत्रमा क्षति पुगेको छ ।

यो सन् १९७४ यताकै सबैभन्दा ठूलो ज्वालामुखी बिस्फोट हो । ज्वालामुखी बिस्फोटका कारण १७ लाख भन्दा मानिस प्रभावित भएको सरकारी अधिकारीले बताएका छन् ।

जेठ २२, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्