गोली प्रहार गरी लुटपाट प्रकरण- मुख्य योजनाकारसहित ५ जना पक्राउ

धनगढी- धनगढीमा दिनदहाडै गोली प्रहार गरी साढे ९ लाख रकम लुट्ने लुटेरालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ।

जिल्ला प्रहरी कार्यालयमा मंगलवार पत्रकार सम्मेलनको आयोजना गरी मुख्य योजनाकारसहित घटनामा संलग्न ५ जना, ५ लाख ४८ हजार ६ सय रुपैयाँ, घटनामा नक्कली नम्बर प्रयोग गरिएको बा ४० प ४४३८ नम्बरको मोटरसाईकल र पेस्तोल सार्वजनिक गरिएको हो ।

जेठ १३ गते सिद्धार्थ बैंकबाट चौराहामा रहेको केन्ट ट्रेडर्स एण्ड सप्लायर्स (आईएमई) का कर्मचारी निर्मल काकीमाथि गोली प्रहार भएको थियो ।

गोली प्रहारबाट घाईते कार्कीको उपचार जारी छ। उनी खतरामुक्त छन् ।

मुख्य योजनाकार भनिएका कैलालीको धनगढी उपमहानगरपालिका, ६ का राजकुमार चौधरी सहित कञ्चनपुरको बेलौरी नगरपालिका, ६ रिचाहका उग्रसेन राना, सोही ठाउका कल्लु राना, कैलालीको धनगढी उपमहानगरपालिका १३ का प्रवेश राना र वडा नम्बर ६ का विरु चौधरीलाई प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको हो ।

प्रहरीका अनुसार मुख्य योजनाकार भनिएका राजकुमार चौधरीले योजना बनाई घटनामा प्रयोग गरिएको मोटरसाईकल र पेस्तोल व्यवस्था गरेको, उग्रसेन रानाले मोटरसाईकल चलाएको र गोली हानेको, कल्लु रानाले मोटरसाईकल पछाडी बसि पैसाको झोला लुटी लगेका थिए ।

उनीहरुमध्ये कल्लु राना र प्रवेश रानालाई काठमाडौंको गोङगवुबाट तथा अन्यलाई कैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट पक्राउ गरिएको थियो ।
गोली प्रहार गरि लुटपाटमा संग्लनहरु लामो समयदेखि अपराधिक कृयाकलापमा संग्लन भएको र उनीहरुले यसअघि पनि विभिन्न घटना घटाएको कैलालीका प्रमुख प्रहरी उपरिक्षक विनोद घिमिरेले बताए ।

घटनामा संलग्न कल्लु राना यसअघि पनि जबरजस्ती करणी मुद्दामा ६ वर्ष कैद भुक्तान गरी २०७४ माघमा छुटेका व्यक्ति हुन्।

यस्तै अर्का उग्रसेन रानाले डाँका चोरी मुद्धामा ४ बर्ष ८ महिना जेल जिवन बिताएको, योजनाकार राजकुमार चौधरीले हातहतियार खरखजाना मुद्धामा ७५ दिन कारागार बसेर २०६५ सालमा छुटेको देखिएको प्रहरीले जनाएको छ ।

गोली प्रहारपछि लुटिएको साढे ९ लाखमध्ये ५ लाख ४८ हजार ६ सय रुपैयामात्रै फेला पारेको प्रहरीले बाकी पैसाको खोजी कार्य जारी रहेको जनाएको छ ।

यसरी भएको थियो घटना
प्रहरीले पिडित परिवारको सुचनाको आधारमा घटनामा सग्लनसम्म पुग्न सकेको बताएको छ । प्रहरीका अनुसार मुख्य योजनाकार राजकुमार चौधरी घटना हुनुभन्दा करिव एक हप्ता अगाढी नै आईएमई आएका थिए । त्यसदिनदेखि नै उनले आईएमईका कर्मचारी कार्कीमाथी निगरानी बढाएका थिए ।

घटना हुनु तीन दिन अघि मात्र सबै अभियुक्तले धनगढी बजारमा आएर योजना बनाएका थिए । कैलाली र कञ्चनपुर जोड्ने लालझाडी जङगलमा योजना बनाईएको थियो ।

घटना भएको दिनकै विहान गोली प्रहार गर्ने व्यक्तिलाई कल्लु रानाले गोली हान्ने तरीका सिकाएका थिए । गोली प्रहारपछि उनीहरु गेटाको जङगलमा गएर लुकेर बसेको र राती कञ्चनपुरको बेलौरी गएर पार्टी गरेको खुलेको कैलालीका प्रमुख प्रहरी उपरिक्षक घिमिरेले जानकारी दिए।

‘कडा कारबाही होस्’
गोली प्रहारबाट घाइते निर्मल कार्कीका बुबा करीरले आफनो छोरालाई गोली हान्नेलाई कडा भन्दा कडा कारवाही हुनुपर्ने माग गरेका छन ।
पत्रकार सम्मेलनमा उपस्थित ६५ वर्षिय करविरले भने, ‘छोरालाई गोली हानेपछि पागल जस्तै भएको थिए । तिनीहलाई पक्राउ गरेको भन्ने थाहापाएपछि परिवार खुसि भएका छौ । उनीहरुलाई कडा कारवाही होस् ।’

जेठ २२, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्