मेरो माटो, मेरो चन्दन (अनुभव र अनुभूतिको श्रृंखला- २३)

‘आइ फिल सरी फर युु’

क्विन्स स्क्वायरमा बस्न क्वाटर थिएन। मेरो लेभलको मान्छे पाउन तिनीहरुलाई गाह्रो हुँदो रहेछ भनी बुझ्‍न पनि गाह्रो भएन मलाई।  मैले सर्भिस दिँदैछु भन्‍ने बुझेँ र त्यहाँको चलनअनुसार बार्गेन गरेँ।

‘मलाई एट्कीन्सन मोर्लेको क्वाटरमा बसेर क्वीन्स स्क्वायरमा काम गर्न देऊ’ भनेँ। उनीहरुले ‘हुन्छ’ भने। त्यसपछि यदाकदा मलाई, राति घर ढिला भएर फर्कन सकिनँ भने सिंगलरुम भएको क्वाटर देऊ भनेँ क्वीन्स स्क्वायरमा, उनीहरुले त्यो पनि हुन्छ भने।

सेन्ट्रल लण्डनमा एउटा कोठा पनि पाउन गाह्रो। तर, ८१ गिलफोर्ड स्ट्रिटमा मेरो एउटा सानो कोठा थियो। धेरै ढिलो भएको बेलामा र श्रीमती पनि डिउटीमा भएको बेलामा लामो समय लगाएर किन फर्कने भनेर म त्यही सुत्थेँ।

रोचक कुरा म एट्कीन्सन मोर्लेको क्वाटरमा बसेर क्वीन्स स्क्वायरमा काम गर्न थालेँ। बिहानै श्रीमतीले ट्रेन स्टेसनमा ड्रप गरिदिन्थिन् गाडीबाट। अनि साँझमा पनि पिकअप गर्न जाने।

उनको सपोर्ट नभएको भए म त्यो ‘जब’ गर्न सक्ने थिइन। राति इमर्जेन्सी पर्दाखेरि पनि उनी ड्राइभ गरेर अस्पताल छोडिदिन्थिन् र सर्जरी नसकुञ्‍जेल कुरेर बस्थिन्। कहिले त्यही गिलफोर्ड स्ट्रीटको क्वाटरमा त कहिले डिउटीको कोठामा कुरेर धेरैजसो सँगसँगै हिँड्थ्यौँ।

एट्कीन्सन मोर्लेको क्वाटरमा बसेको, हामी त्यहाँ काम गर्दाखेरि महिनाको तीन सय एकोमोडेसन, बिजुली यताउता गरेर काटिन्थ्यो। तलबबाटै काटिन्थ्यो, सब्सिडाइज्ड हो त्यो। लण्डनमा एउटा फ्ल्याट महिनाको तीन सयमा पाउँदैनथ्यो। मेरो विचारमा त्यो सब्सिडाइज्ड थियो र तलबबाट काट्ने चलन थियो।

क्विन्स स्क्वायरमा काम गर्न थालेपछि त्यो अर्कै संस्थाको अकोमोडेसन पर्‍यो। एट्कीनसन मोर्लेले मलाई सोध्दा पनि सोधेन। नयाँ संस्थाले मेरो तलबबाट काटेर उनीहरुलाई पठाइदिँदा पनि पठाइदिएन। एवम् रीतले कति महिना गयो, थाहा पनि भएन। एक वर्ष बितिसकेपछि म फर्कने बेलामा हठात् एट्कीन्सन मोर्लेले थाहा पायो कि मैले एकोमोडेसनको पैसा तिरेकै छैन। मैले पनि रियलाइज गरेँ। अनि एक्कैचोटि त्यो हुँदाखेरि झण्डै ४ हजार जति पाउण्ड तिर्नुपर्ने भयो। त्यो धेरै ठूलो रकम हो।

मैले केही भन्नुभन्दा पहिला नै एट्कीन्सन मोर्लेको म्यानेजरले मलाई अलिकति हिन्ट्स दियो, त्यो धेरै ठूलो रकम हो। हाम्रै गल्तीले हामीले चार्ज गर्न बिर्सियौँ। अब एकैचोटि घर जाने बेलामा तपाईँलाई माग्दा फेयर हुँदैन होला।

केही गर्न सकिन्छ कि हामी विचार गर्दैछौँ भनेँ। उनीहरुले विचार गर्ने कारण पनि थियो। त्यहाँको अकोमोडेसनमा बसेँपछि कहिलेकाही सहयोग पनि गर्थेँ म। त्यहाँको सिनियर रजिष्ट्रारहरु बाहिर बस्ने भएको भएर कहिले कहिले एट्कीन्सन मोर्लेको आईसियुमा सिरियस छ भने मलाई ‘रिक्वेस्ट’ गर्थे। मैले हेर्दिने गर्थेँ, सल्लाह दिने गर्थेँ। त्यस्तो सर्भिस मैले तिनीहरुलाई दिने गरेको थिएँ।

मेरो लागि खुसीको खबर आयो, ‘एउटा एप्लिकेसन दिनुहोस्।’ त्यति ठूलो रकम म एकैपल्ट बुझाउन सक्दिन, इस्टलमेन्टमा तिर्छु भन्ने खालको। मलाई उनीहरुले भने, ‘एप्लिकेसन दिनुहोस्, हामी बोर्डमा कुरा राखेर केही निर्णय गर्छौ’। मैले त्यो एप्लिकेसन दिएँ, तर कस्तो मजाको जवाफ आयो भने, ‘तपाईँले अहिलेसम्म हामीलाई दिएको सर्भिसको कदर गर्दै आफ्नो देशमा फर्कन लागेको बेलामा यत्रो ठूलो रकम लिन अलिकति अनुचित हुने जस्तो लागेको भएर तपाईसँग एकोमोडेसनको पैसा नलिने निर्णय गरियो। नेपालमा काम गर्नको लागि गुडलक, यसलाई हाम्रो सहयोगको रुपमा लिनुहोला।’ झण्डै ४ हजार पाउण्ड। मैले त्यो पैसा पछि इन्स्ट्रुमेन्ट किन्‍न खर्च गरेँ।

क्वीन्स स्क्वायरको काम पनि रोचक थियो। मलाई त एक्सपोजर धुनधानको भयो। बच्चाहरुको सर्जरी गर्न थालेपछि न्यूरो सर्जरीको कतिपय प्रोसिज्युरहरु हेर्ने दृष्टि नै फरक हुन्छ। सामान्य अप्रेसन: जस्तो दिमागमा पानी जमेर टाउको ठूलो हुने, जसलाई हाइड्रो सेफलस भन्छौँ, त्यसको सन्ट पाइपचाहिँ दिमागबाट पेटमा जसले पनि हाल्छ।

तर ग्रेट ओरमण्ड स्ट्रीट अस्पतालमा काम गर्न थालेपछि देखेँ, त्यहाँ त विशेष तरिकाले हाल्ने चलन रहेछ। यति विशेष तरिकाले हाल्ने कि त्यहाँको इन्फेक्सन रेट एकदमै कम। अन्‍त भने त्यो सिंगल अप्रेसन हो जसले पनि गर्न सक्ने। अनि २५/३० प्रतिशत इन्फेक्सन भइसकेपछि नतिजा डिजास्ट्रस हुने। अनि मैले सामान्य सन्ट हाल्न पनि ग्रेट ओरमण्ड स्ट्रीटमा काम गरेपछि असल तरिकाले हाल्न सिकेँ। त्‍यो पद्धति अध्यावधि कायम छ। मसँग तालिम लिएका नेपाली डाक्टरहरुले सबैभन्दा राम्रोसँग हाल्छन्, अहिले पनि भन्दिन्छु। ट्युबलाई हातले नछोइकन सन्ट हातले हाल्न सक्ने केटाकेटीहरु मैले मात्र सिकाएका मात्र छन्। त्‍यो चाँहि  ग्रेट ओर्मण्ड स्ट्रीटमा अन्तिम वर्ष सिकेको मैले।

त्यही क्वीन स्क्वायरमा अर्को असाध्यै प्रख्यात न्यूरो सर्जरीको प्रोफेसर हुनुहुन्थ्यो, प्रोफेसर लिन्ड्से साइमन, उहाँ नेपाल पनि आउनुभएको थियो दुईपटक। उहाँ त्यतिबेला वर्ल्ड फेडरेसनको प्रेजिडेन्ट पनि हुनुहुन्थ्यो। उहाँ चासो लिनुहुन्थ्यो, मेरो बारेमा के कस्तो प्रगति गरिरहेको छ, काममा विकास भइरहेको छ भनेर। मैले डाइरेक्टली उहाँको अन्डरमा काम नगरे पनि मेरा गुरुहरु जर्मन नर्मन ग्राण्ट र रिचर्ड हेवर्ड, असाध्यै भद्र। नर्मन ग्राण्टले त रिसाएको देखेकै छैन। ग्राण्टबारे सँगै काम गरिसकेका सर्जनहरु भन्‍थे, ‘सर्जन भएपछि अलिलि इगो हुने, अलिकति रिसाहा बानी हुने हुन्छ नि। उहाँलाई चाहिँ ‘प्‍याथोलोजीकल्ली इगो लेस सर्जन’ भन्‍थे। उहाँ त्‍यति सरल। चर्को बोलीले बोल्‍दै नबोल्‍ने। असाध्‍यै क्षमतावान र शिष्ट। उहाँसँग काम गरे पनि लिन्डस साइमनले मेरो तालिममा चासो लिनुहुन्थ्‍यो।

नेपाल फर्कने १५ दिन अगाडि म अप्रेसन सिद्धाएर पाँच बजेतिर सर्जन कफी रुममा आए। अलिअलि रगतको छिटा परेको लुगा नै थियो। सर्जन स्क्रब भन्छौँ हामी, सर्जरी गर्दा लगाउने। धेरैजसो सर्जनहरुको बानी हुन्छ, अस्पताल पस्ने बित्तिकै पहिलो पटक आफ्नो अप्रेसन गर्ने दिन भएपनि नभएपनि अप्रेसन रुममा गएर एक कप कफी खाने, काम सुरु गर्ने र काम सक्किइसकेपछि पनि कोही नभएपनि, एक्लै छ भनेपनि फेरी थिएटरकै कफी रुममा गएर कफी बनाएर खाने अनि घरतिर फर्कने। ग्लास्गोमा पनि त्यस्तै चलन थियो। धेरै काम गर्ने कन्सल्ट्यान्टहरुको ‘ओटी’ प्रतिको लगाव होला त्‍यो। अनि प्रोफेसर सायमन पनि त्यस्तै गर्ने।

म अप्रेसन सिध्‍याएर कफी रुममा आए, उहाँ कफीमा चिनी घोल्दै हुनुहुन्थ्यो। अनि मलाई प्रश्‍न गर्नुभयो, ‘के केस गरेर आएको?’ मैले यो केस गरेको भनेर बताएँ, केस कम्प्लिकेटेड नै थियो। अनि सोध्नुभयो, ‘कहिले फर्कने नेपाल?’ मैले भनेँ एक महिनामा फर्कन्छु। प्रोफेसर साइमनले त्यसपछि भन्‍नुभयो, ‘माई बोई, आई एम जियलस अफ यू, एट द सेम टाइम आई फिल सरी फर यू।’ मैले सोधेँ, ‘प्रोफेसर यो परस्परमा विरोधी कुरो किन गर्नुभयो?’ अनि उहाँले भन्नुभयो, ‘तिमीप्रति इर्ष्‍या किन गर्दैछु भने तिमी नेपाल फर्केपछि जे गर्छौ, त्यो इतिहास बन्छ, तिमीले गरेको सबै कुरा नयाँ हुन्छ देशको लागि। हाम्रो ब्रिटेनमा तिम्रो समकालीनहरुले नयाँ कुरा गरेर इतिहास कायम गर्न नै सक्दैनन्। हामीले केही बाँकी राखेकै छैनौँ। तिम्रो देशमा तिमीले गरेको कुराले इतिहास बनाउँछ, त्यही भएर इतिहास बनाउने मान्छेसँग जसलाई पनि डाहा हुन्छ।’

‘आइ फिल सरी फर यू, किनभने तिमीले यति सिकेका छौँ की तिमीले त्‍यो सबै  ज्ञान र सीपको प्रयोग गर्न पाउँदैनौँ। किनकी नेपालमा एक साधन छैन। दोस्रो, कुरो तिमीले न्यूरो सर्जरीको एउटा विशेषज्ञ सेवा, सब-स्पेशलाइजेसन गर्न पाउँदैनौँ। सबै तिमीले नै गर्नुपर्छ। त्यो त टड्कारो भइहाल्यो।’

ग्राण्टबारे सँगै काम गरिसकेका सर्जनहरु भन्‍थे, ‘सर्जन भएपछि अलिलि इगो हुने, अलिकति रिसाहा बानी हुने हुन्छ नि। उहाँलाई चाहिँ ‘प्‍याथोलोजीकल्ली इगो लेस सर्जन’ भन्‍थे। उहाँ त्‍यति सरल। चर्को बोलीले बोल्‍दै नबोल्‍ने। असाध्‍यै क्षमतावान र शिष्ट।

ग्रेट ओर्मण्ड स्ट्रीटमा पीडियाट्रिक सर्जरी गरेको मान्छेले पीडियाट्रिक सर्जरी, न्यूरो सर्जरी मात्र गर्न पाइन नेपालमा। गर्न नै पाइन। त्यो बेलामा नेपाल फर्कदा मेरो जत्तिको पिडियाट्रिकको न्यूरो सर्जरी गर्ने मान्छे नेपालमा, इन्डियामा कोही पनि थिएन। तर मैले पीडीयाट्रिक सर्जरी गर्नै पाइन। एडल्ट न्यूरो सर्जरी गर्दागर्दै मेरो समय बित्यो। पिडियाट्रिक न्यूरो सर्जरी बिस्तारै बिस्तारै ब्याकग्राउण्डमा गयो।

म सबै पीडियाट्रिक ट्युमर, टाउकोको खप्परको सेप मिलाउन सिकेर आएको मान्छे। यहाँ केही पनि गर्न पाइन। एक दुई ओटा गरियो। तर त्यसलाई  संस्थागत रुपमा गर्न पाइएन। अरु न्यूरो सर्जन भएको भए म पिडीयाट्रिक मात्र गर्थेहोला सायद। उहाँको भनाइ के भने, ‘तैँले सब स्पेसलाइजेसन गर्न पाउँदैनस्, सबै गर्नुपर्छ नेपालमा। त्यो मानेमा ब्रिटेनमा सब स्पेसलाइजेसन गर्न पर्याप्त अवसर छ। एउटा विषय मात्र गरेर बस्न पाउँछन्।’ त्यसरी उहाँले समराइज गर्नुभयो।

अन्त्यमा मेरो नेपाल फर्कने तयारी सुरु भयो। म छ वर्ष बेलायत बसिसकेको थिएँ। पर्मानेन्ट रेसिडेन्सी पाउने क्राइटएरिया मैले पुरा गरिसकेको थिए। मेरो श्रीमतीका दुईजना दिदीहरु लण्डनमा नै बस्नुहुन्थ्यो। त्यो परिवेशमा बेलायतमा पर्मानेन्ट रेसिडेन्सी लिएर बेलायतमा बस्नको लागि मलाई धेरै अवस्ट्राक्सन या बहानाहरु थिए। विशेषगरेर मेरो श्रीमतीको अवस्था हेर्दाखेरी उनको धेरैजसो परिवार बेलायतमा नै थिए। दुईजना दिदीहरु, दिदीको छोराछोरीहरु इन्डियामा, कोही पनि थिएन बाँकी। दुईजना दिदीहरु फरक फरक ठाउँमा। आमा बितिसक्नुभएको थियो, ससुरा मात्र हुनुहुन्थ्यो। उहाँ पनि वृद्ध भइसक्नुभएको। उनको परिवार उतै बेलायतमा नै झाँगिइसकेको थियो।

त्यो बेलामा पर्मानेन्ट रेजिडेन्सी लिएर एउटा एउटा बहानामा बेलायत बस्न सायद उपयुक्त नै देखिन्थ्यो। मलाई मेरो शुभचिन्तकहरुले तपाईँ पर्मानेन्ट रेसिडेन्सी लिनुहोस्, छ वर्ष यतै बसिहाल्नुभयो भनेर सल्लाह पनि दिएका हुन्। अनि मैले जानिजानी एउटा निर्णय गरेँ। मैले बेलायत फर्कने कुनै पनि एउटा बाटो छोडेर गएँ भने नेपालमा गएर म संघर्ष गर्न सक्दिन। फेरि फर्केर आइहाल्छु। त्यसैले यो ढोका मैले बन्द गरेर जानुपर्छ। जस्तो लडाईँमा जाँदा सिपाहीले भाग्ने बाटो छोडेर गयो भने लडाईँ लड्दैन, भिड्दैन, मौका पाउनासाथ भाग्छ। यस्तै मैले यो फर्कने बाटो छोडेर गएँ भने म जरुर एक वर्षमा फेरि फर्कन्छु।

त्यसकारण श्रीमतीसँग कुरा गरेँ, ‘डोन्ट माइन्ड, म पर्मानेन्ट रेसिडेन्सी लिन्न, प्रोपर्टी पनि किन्दिन।’ प्रोपर्टी किन्यो भने पनि उतै बस्नुपर्छ। हेरचाह गर्नुपर्छ। त्यसपछि म बेलायतसँग टाँसिन्छु धेरै। उनलाई पनि त्यो निर्णय चित्त नबुझेर पनि कताकता उनको सतप्रतिशत समर्थन रह्यो त्यसमा। त्यो मेरो श्रीमतीले गरेको अनेकौँमध्ये एउटा त्याग थियो। दोस्रो कुरा चाहिँ यहाँ आउनुभन्दा एक महिना अगाडि मलाई निन्द्रा लाग्न छोड्यो। म छटपटाउन थालेँ। नेपाल फर्केर आएपछि म के गर्ने कसो गर्ने भन्ने चिन्ताले सताउन थाल्यो। उनले सोधिन्, एक दिन, ‘के भयो, केले सताइराखेको छ तपाईलाई?’ अनि मैले बताएँ, नेपाल फर्केर जानु छ, दिनदिनै यति धेरै काम गरेको मान्छे, गएको भोलिपल्ट देखि के काम गर्ने केही उपकरणहरु छैन वीर हस्पिटलमा। के गर्ने? अप्रेसन गरिन केही समय भने बिर्सन्छु, त्यही चिन्ताले सतायो। अनि उनले मलाई सोझै तीनओटा प्रश्न गरिन्।

१. नेपाल जाने हो ?

– हो।

२. वीर अस्पतालमा सामान छैन भने सरकारले सामान किन्न कति लाग्छ?

– छ महिना। सरकारी प्रक्रिया हो, पहिला त्यहाँ गएर त्यहाँको सुपरिटेन्डनलाई कन्भिन्स गर्नुपर्‍यो। उहाँहरुको सहयोग नभईकन उपकरण किन्नमा पैसा कसैले खर्च गर्दैन। अर्डर गरेर सामान आइपुग्दासम्म छ महिनादेखि एक वर्षसम्म लाग्ने।

त्यसपछि उनले तेस्रो प्रश्न गरिन्।

३. तपाईँ ६ महिना १ वर्ष अप्रेसन नगरी बस्न सक्नुहुन्छ?

– सक्दिन, म त ६ दिन पनि सक्दिन। सबै सिकेको सीप सिद्धिहाल्छ नि।

उनले भनिन्, तपाईको शारीरिक र मानसिक तन्दुरुस्ती मेरो लागि सबैभन्दा महत्वपूर्ण कुरा हो। हामीले अहिलेसम्म बचाएको पैसाबाट चाहिने सामान किनेर जाने आफ्नै पैसाले। त्यसरी उनले घर बनाउनलाई, जग्गा जोड्नलाई जम्मा गरेको पैसाबाट ४ हजार पाउण्ड निकालेर, यति खर्च गर्न सकिन्छ भनिन्।

त्यसपछि मैले त्यो ४ हजार पाउण्ड आफूसँग भएपछि उपकरण बेच्ने कम्पनीहरुसँग विशेष नेगोसिएसन गरेँ। उनीहरुको पनि मन अलि कमलो, नेपाल फर्कन लागेको। नेपालमा सिनियर लेबलको रजिष्ट्रार भनेको धेरै माथि मानिन्छ। मैले कम्पनी वाला चिन्थेँ पनि धेरैलाई। मलाई कडम्यान भन्ने कम्पनीले राम्रो डिल दियो। चार हजार पाउण्डभित्र मैले मोटामोटी टाउकोको अप्रेसन गर्न मिल्ने, कप्लिकेटेड हैन, ड्रिल हैन, सामान्य टाउकोको सर्जरी गर्न मिल्ने र स्पाइनको सर्जरी गर्न मिल्ने इन्ट्रुमेन्टहरु दुईओटा किनेँ। एक दुई ओटा उनीहरुले एक्स्ट्रा पनि हालिदिए।

म फर्केर आउँदा त्यति धेरै इक्युपमेन्ट कसरी लगेँ, अचम्म लाग्छ। जम्मा ४ हजार पाउण्डमा टाउकोको अप्रेसन गर्ने र मेरुदण्डको माथिको गर्धन र तल ढाडको अप्रेसन गर्ने मोटामोटी सामान सबै किनेँ। महंगा सामान किन्न सक्ने त अवस्था थिएन, रगतको नशा फुटेमा हाल्ने क्लिपहरु एउटैको दुई तीन पाउण्ड पर्छ। ती क्लिपहरु मैले काम गरेका ठाउँका, अप्रेसन थिएटरका नर्सहरुलाई, एट्कीन्सन मोर्लीमा, क्वीन्स स्क्वायरमा र ग्लास्गोका मेरा साथीहरुको उपहार थियो। म नेपाल जाँदै छु, सक्छौ भने पुरान क्लिपहरु र ठट्टामा अझ सक्छौ भने नयाँ चोरेर भएपनि बन्दोवस्त गर भनेर साथीलाई खबर पठाएँ। एट्कीन्सन मोर्लीबाट अलिकति, क्वीन्स स्क्वायरबाट अलिकति र बिदा हुन जाँदा ग्लास्गोमा जाँदाखेरि अलिकति गरेर जम्मा ५० ओटा जति एनभिजन क्लिप जम्मा गरेँ। अहिले त्यो एन भिनज क्लिपलाई २५ देखि ३० हजार रुपैयाँ तिरेर हामी प्रयोग गर्छौँ।

आफ्नो पैसाले किन्न सकिने अवस्था थिएन, सरकारले किन्दैन। न्यूरो सर्जरीमा एनभिजन क्लिप गर्ने भनेको धेरै उपल्लो दर्जाको न्यूरो सर्जरी मानिन्छ। म त्यो सिकेको मान्छेले त्यो गरिनँ भने बिर्सिहाल्छु नि। एनभिजन क्लिप ५० ओटा जम्मा गरेँ र अरु पनि सप्लाइजहरु ट्युव क्याथेडरहरु जहाँ जहाँ पाइन्छ त्यहीँबाट जम्मा गरेर एउटा झोला बनाएँ। आफूले किनेको इन्स्ट्रुमेन्ट त भइहाले। अनि मैले विचार गरेँ यति भएपछि म छ महिना, वर्षदिन तगिहाल्छु। त्यो बिचमा कन्भिन्स गरेर वीर अस्पताललाई इक्विपमेन्ट किन्न लगाउँछु। आउटपुट देखेँपछि उनीहरुले इक्विपमेन्ट पनि किन्छन्, बोली मात्र होइन, यसले गरेर पनि देखाउँछ भनी आश्वस्त गर्नु थियो उनीहरुलाई। त्यही तयारीका साथ नेपाल फर्कने तयारी मेरो भयो।

फर्केर बेलायत जाने बाटो बन्द गरेँ, आफूलाई चाहिने उपकरणहरु व्यवस्था गरेँ। आफ्नै खल्तीबाट पैसा निकालेर सरकारी अस्पतालका लागि चाहिने उपकरणहरु किनेँ। घर र गाडी किन्नुभन्दा पहिलो प्राथमिकता त्यो बन्यो।  अन्त्यमा मैले काम गरेको सबै ठाउँमा बिदावारी हुन गएँ। गुरुहरु सबैलाई मलाई तालिम दिनुभएकोमा धन्यवाद भन्दै गएँ। उहाँहरु यति भावुक हुनु भयो कि हरेकले ‘तैले के गर्छस्, कसो गर्छस्’ भनी चासो देखाउनु भो। आफ्नो सल्लाह पनि दिनुभयो। हृदयदेखि नै सबैले मलाई माया गरेर बिदा गर्नुभयो। विशेष गरी ग्लास्गोका एकजना कन्सल्टेन्टले सोध्नुभयो, ‘हरेक किसिमको सर्जरी नेपालमा कसरी गर्छस्?’ मेरो जवाफ सुनेपछि आफ्नो सल्लाह पनि दिनुभयो, आधा घण्टा बसेर। त्यो मिस्टर हाइडले गर्नुभयो। त्यसपछि अर्को हुनुहुन्थ्यो मिस्टर टर्नर, मलाई ट्याक्टफुलनेस सिकाउनुभयो।

उहाँले के भन्नु भयो भने, ‘त फर्केर जाँदा सबै जनरल सर्जनको बिचमा काम गर्नुपर्छ, बाँच्नुपर्छ। त्यसकारणले तैले जनरल सर्जनहरुलाई थ्रेटेन्ड महशुस नगराईकन विस्तारै उनीहरुको कन्फिडेन्स जित्ने काम गर्नुपर्छ। त्यसको लागि तिमीचाँहि जनरल सर्जनले हेर्ने हेड इन्जुरीलाई म हेर्दिन्छु भनेर अफर गर। त्यो उहाँले सजिलै दिनुहुन्छ, किनभने त्यो हेड इन्जुरी अलि गार्‍हो हुन्छ। हेड इन्जुरी हेर्न थालेपछि अरु अरु केशहरुपनि माग्दै विस्तारै आफ्नो ठाउँ बनाउनु।’

यस्तो खालको स्ट्राटेजी कुनै बेलामा प्रोफेसर नोर्मन डटले गर्नुभएको थियो। अमेरिकाबाट तालिममा आएपछि उहाँलाई बेड नै दिएनन्। त्यो अवस्थामा डटले तिमीहरुको हेड इन्जुरी हेरिदिन्छु नि त म भनेर हेड इन्जुरी हेर्न थाल्नु भयो। जहाँ बिरामी छन्, त्यही गएर हेरिदिने। ६ महिनामा बिरामीहरु बढ्दै गए र धेरै भएपछि ‘यी बिरामीहरु सबै एउटै कर्नरमा राखौँ म?’ भनेर सोध्नुभयो र हेड इन्जुरीका बिरामीलाई एउटा कर्नरमा सेग्रीग्रेट गर्न थाल्नु भएछ।  सबैले माने।

त्यसपछि हेड इन्जुरीको बिरामीको बिचमा ब्रेन ट्युमरको बिरामी पनि राख्न थाल्नु भएछ। त्यहाँ पनि अब्जेक्सन भएन। त्यसरी नै अन्तत: दुई महिनाभित्रमा उहाँले एउटा युनिट सेटअप गर्नुभयो। अनि मिस्टर टर्नरले मलाई त्यस्तै भन्नुभयो। प्रोफेसर डटले गरेको जस्तै त ट्याक्टफुल्ली पहिला हेड इन्जुरी सबै, अनि वार्ड सेट गरेँ अनि ट्युमरतिर लागेँ। यसरी त्यो लेबलको सल्लाह दिनुभयो सबैले हृदयदेखि नै।

तर मेरो अवस्था त्यतिविधि नाजुक थिएन। म फर्कनुभन्दा केही अगाडिदेखि नै डाक्टर गंगोलले वीर हस्पिटलमा अलिअलि तयारी गरिसक्नुभएको थियो। उहाँको तत्कालीन प्रधानमन्त्री मरिचमान सिंहसँग राम्रो सम्बन्ध थियो। न्यूरो सर्जरीको लागि तालिममा गएको छ, वार्ड बनाउनुपर्छ भनेर त्यो बेला ३५ लाख रुपैयाँ निकासा गरेर त्यो सर्जिकल ब्लकको तेस्रो तला थप्नुभयो। अब तेस्रो तलामा न्यूरो सर्जरीको वार्ड र दुईवटा अप्रेसन थिएटर थिए तर न्यूरो सर्जनले मात्र हैन अरुले पनि प्रयोग गर्थे त्यसलाई।

जे होस् त्यो बनिसकेको थियो। स्ट्रक्चर बनिसकेको थियो। धेरै इक्पिमेन्ट चाहिँ थिएन।

ओटी टेबलहरु मात्र थियो। अरु थिएन। समानहरु केही पनि थिएन। तर कमसेकम वार्ड बनेको थियो।

बेलायत छोड्नु अघि अन्त्यमा ब्रिटिस काउन्सिलसँग बिदा हुन जानुपर्‍यो। उनीहरुसँग मैले ट्रेनिङ सर्टिफिकेट पनि लिनुथियो। मलाई ब्रिटिस काउन्सिलले स्पोन्सर गरेको हो। ब्रिटिस काउन्सिलमा जाँदाखेरि त्यो बेलामा मलाई तर्साउने ‘मारग्रेट हेग’ रिटायर्ड भएर उनको ठाउँमा जोन उड भन्ने अर्को व्यक्ति भेडिकल एडभाइजर भएर बस्नुभएको थियो । ट्रेनिङ्ग सक्काएर आएको न्यूरो सर्जनसँग उनीहरुको डिलिङ सम्मान जनक थियो, आदरपूर्ण थियो। प्रोगाम अफिसरले मलाई चिनाइदिए र बिदा भए।

जोन उडले बडा इन्ट्रेस्ट्रिङ कुरा गर्नुभयो। जुन पछि आएर सही पनि सावित भयो। उहाँले के भन्नु भयो भने, तपाईँले यति राम्रो तालिम लिएर जाँदै हुनुहुन्छ, जरुर नेपालमा राम्रो गर्नुहुन्छ। कुनै समयमा तपाईँ मन्त्री हुन बेर लगाउनुहुन्न। हाम्रो ब्रिटिस काउन्सिलका अफ्रिकी स्कलरहरु मध्ये राम्रो गर्नेहरुको त्यहि नियति भएको छ। राज्य सञ्चालकहरुको आँखा लाग्छ, यिनीहरुले यति राम्रो गरेका छन्, मन्त्री बनाए झन राम्रो गर्छ भनेर मन्त्री बनाएका छन्। ‘र तपाईँ चाहिँ मन्त्री नहुनुहोला। न्यूरो सर्जरी नै गर्नु होला’ भने। ‘मलाई यसो डर लागेको छ, कुनै बेला तपाईलाई मन्त्री बनाउछन् भन्ने। तपाईको तालिमको स्तर हेरेपछि आउटपुट राम्रो हुन्छ। नतिजा देखेपछि यो मान्छेलाई मन्त्री बनायो भने अझ राम्रो गर्छ भनेर मन्त्री बनाउँछन्।’ पछि म मन्त्री हुँदा त्यो याद आयो। बेग्लै परिवेशमा मन्त्री भएको हुँ।

बिदावारी भएँ। उहाँहरुले मलाई बिजनेस क्लासको टिकट दिनुभयो जाँदाखेरी जस्तै। मेरो श्रीमतीलाई सँग सँगै बिजनेस क्लासको टिकटमा ल्याउन सक्ने कुरा भएन। उनलाई चाँहि अर्को दुई दिनपछिको फ्लाइटबाट बुक गरेर म नेपालमा आएँ। उनलाई रिसिभ गर्न मिल्ने तरिकाले हाम्रो प्लान भयो।

यो पनि पढ्नुहोस्

जेष्ठ २२, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्