विश्व विख्यात फेसन डिजाइनर केट स्पेडको निधन, आत्महत्याको आशंका

फेसन डिजाइनर केट स्पेड अमेरिकाको न्युर्योकमा रहेको आफ्नै अपार्टमेन्ट मृत भेटिएकी छन् । प्रहरीको उनको मृत्युका बारेमा अनुसन्धान गरिरहेको छ । स्पेडले आत्महत्या गरेको हुन सक्ने आशंका गरिएको छ ।

विश्वभरका फेसन तथा डिजाइन क्षेत्रका व्यक्तिले स्पेडलाई ट्रिब्युट दिएका छन् ।

फेसन म्यागजिन माडेमाइसेलीको एक पटक सम्पादन गरेकी स्पेड लुगा, जुत्ता तथा गहनाको डिजाइनरको रुपमा सुपरिचित थिइन् ।

यस्तै उनी आफ्नो एसेसोरी लाइनका लागि पनि चर्चित थिइन् । उनले सन् १९९३ मा श्रीमान एण्डी स्पेडसँग मिलेर केट स्पेड ह्याण्डब्याग कम्पनी खोलेकी थिइन् ।

म्यानहटनमा रहेको पार्क एभिन्यु अपार्टमेन्टमा केटलाई उनकी हाउसकिपरले अचेत अवस्थामा फेला पारेको सरकारी अधिकारीले बताएका छन् । न्युयोर्कको प्रहरी विभागले ५५ वर्षकी स्पेडको निधन भएको पुष्टि गरेको छ ।

केटले नोट पनि लेखेर छोडेको प्रहरीले बताएको छ । तर त्यो नोटमा के छ भन्ने चाहिँ खुलाइएको छैन । स्पेडको परिवारले एक वक्तव्य निकालेर आफूहरुको गोपनियताको सम्मान गर्न आग्रह गरेको छ ।

केट स्पेड ह्याण्डब्याग उनले सन् १९९३ मा खोले पनि त्यसको तीन वर्षपछि मात्रै उनले न्युयोर्कमा पहिलो स्टोर खोलेकी थिइन् । अहिले विश्वभर ३०० भन्दा बढी शाखा रहेका छन् ।

जेठ २३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्