पाकिस्तानबाट सस्तोमा ल्याएको चिनी ३० प्रतिशत भन्सार महसुल तिरेर छुटाए

सांकेतिक तस्बिर

विराटनगर – पाकिस्तानबाट सस्तो मुल्यमा चिनी आयात गरेको ज्ञान इन्टरप्राइजेजले सरकारले तोकेको ३० प्रतिशत भन्सार महसुल तिरेर चिनी छुटाएको छ ।

ज्ञान इन्टरप्राइजेजले विराटनगरस्थित रानी भन्सारमा थन्काएको चिनी सोमबार पुरै महसुल तिरेर चिनी झिकाएको हो । भन्सार कार्यालयका सूचना अधिकृत सुशील थापाका अनुसार, ज्ञान इन्टरप्राइजेजले भन्सार परिषरमा थन्काएर राखेको १ हजार ३ सय मेट्रिक टन चिनी छुटाएर लगेको जानकारी दिए ।

ज्ञानले ५ करोड ३५ लाख ८१ हजार ८ सय ४० रुपैया बराबरको चिनी आयात गरेको हो । थापाले भने, ‘उक्त चिनीबाट भन्सार महसुल तथा मुल्य अभिबृद्धि कर १ करोड ५५ लाख ४८ हजार ४ सय ८८ रुपैया राजस्व संकलन भएको छ ।’

ज्ञान इन्टरप्राइजेजका एक कर्मचारीका अनुसार पाकिस्तानबाट आयात गरिएको १ सय ८० भन्दा बढि चिनी कन्टेनर छुटाइएको हो। प्रत्येक एक कन्टेनरमा २० देखि २६ मेट्रिक टन चिनी भएको उनले बताए । जुन भन्सार क्षेत्रमा, विराटनगर जुट मिल्सको क्षेत्र विगत डेढ महिनादेखि थन्किएर रहेका थिए ।

सरकारले चिनीमा बढाएको भन्सार महसुल घटाउन र पुरानै दरको महसुल कायम गर्न दुगड समूहको ज्ञान इन्टरप्राइजेज र अर्को समूह श्यामबाबा इन्टरप्राइजेज गएको वैशाख २४ गते सर्वोच्चमा रिट दायर गरेका थिए ।

लगत्तै सर्वोच्चले बैशाख २८ गते उक्त रिटमा महसुल बृद्धिको निर्णय कार्यान्वयन नगर्नु नगराउनु भन्दै अन्तरकालिन आदेश दिएको थियो। तथापि सर्वाेच्च अदालतका न्यायाधीश दीपककुमार कार्की र आनन्दमोहन भट्टराईको संयुक्त इजलासले सोमबार अन्तरकालिन आदेश खारेजको गरेको थियो ।

ज्ञान इन्टरप्राइजेजले चिनी छुटाएर लगेपनि हाल, श्याम बाबा इन्टरप्राइजेज भने मौन देखिएको छ । श्याम बाबाले भने चिनी छुटाएर निकालेको छैन् । यसअघि चिनी आयात गरेका अन्य ब्यवसायीहरुले भने, सरकारले तोकेको भन्सार महसुल कर तिर्दै चिनी छुटाइ सकेका छन् ।

जेठ २३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्