अमेरिका उत्तर–कोरिया सम्बन्ध

ट्रम्प–किम वार्ता कालो इतिहास बोकेको सेन्तोसा आइल्याण्डमा

ट्रम्प–किम वार्ता सेन्तोसा आइल्याण्डमा रहेको पाँच तारे होटल क्यापेलामा हुने तयारी छ । तस्बिर : गेट्टी इमेज

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ–उनबिचको बहुप्रतिक्षित भेटवार्ता सिंगापुरको सेन्तोसा आइल्याण्डमा हुने भएको छ । ट्रम्प–किम वार्ता सेन्तोसा आइल्याण्डमा रहेको पाँच तारे होटल क्यापेलामा हुने तयारी छ ।

अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले सेन्तोसा आइल्याण्डको होटलमा ट्रम्प–किम वार्ता हुने पुष्टि गरेको हो । अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाका नेता किमबिच जुन १२ अर्थात जेठ २९ गते वार्ता हुँदैछ ।

अब वार्ताका लागि ६ दिन मात्रै बाँकी छ तर वार्ताका बारेमा अझै धेरै विवरण आउन बाँकी छ । यो अमेरिकी राष्ट्रपति र उत्तर कोरियाका नेताबिचको पहिलो वार्ता हुनेछ ।

तस्बिर : गेट्टी इमेज

ट्रम्प उत्तर कोरियाका नेतालाई भेट्ने पहिलो अमेरिकी राष्ट्रपति बन्दैछन्, जसले आफ्नो कार्यकालमै यस्तो गर्दै छन् । अमेरिकी राष्ट्रपति ट्रम्पले मंगलबार वार्ताको तयारी निकै राम्रोसँग भइरहेको बताएका छन् ।

उनले भनेका छन्, ‘सम्बन्ध धेरै सुधार भएको छ, वार्ता अघि धेरै छलफल भइरहेका छन् । यो निकै महत्वपूर्ण छ र अबको केही दिन झन महत्वपूर्ण हुनेछ ।’

वार्ता हुने भनिएको सेन्टोसा आइल्याण्ड सिंगापुरका ६३ आइल्याण्ड मध्ये एक हो । ५०० हेक्टरमा फैलिएको यो आइल्याण्ड मुख्य आइल्याण्डबाट नजिकै छ । यहाँ लग्जरी रिसोर्ट तथा गल्फ क्लबहरु छन् ।

तर यो आइल्याण्डसँग आफ्नो कालो इतिहास पनि छ । यो आइल्याण्ड विगतमा समुद्री डाँकाहरुको अखडा हो भने यहाँ धेरै झडप तथा युद्ध भएका छन् ।

यो दोस्रो विश्व युद्धमा मानव संहार भएको क्षेत्र पनि हो । तर सन् १९७० पछि यसले रुप फेर्न थालेको हो । त्यसयता यो पर्यटकीय केन्द्रको रुपमा विकास भएको छ ।

तस्बिर : गेट्टी इमेज
जेठ २३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्