हाम्रा सांसद

बोल्ने समय नै पाइदो रहेनछ : भूमि त्रिपाठीको संसद अनुभव

सांसद भूमि त्रिपाठी । तस्बिर : बर्षा शाह/देश सञ्चार

काठमाडौं – भूमि त्रिपाठी धादिङ क्षेत्र नम्बर १ बाट तत्कालीन एमालेबाट प्रतिनिधिसभामा निर्वाचित सांसद हुन् । लामो समय राजनीति गरे पनि उनले गएको मंसिरमा भएको प्रतिनिधिसभाको चुनावमा पहिलोपटक टिकट पाए र चुनाव पनि जिते ।

निक्कै उत्साहका साथ संसद छिरेका त्रिपाठी संसदीय अभ्यास सिक्दै पनि छन् । उनै सांसद त्रिपाठीसँग देश सञ्चारका लागि प्रकाश ढकालले उनको संसद अनुभव र भावी योजनाबारे कुराकानी गरेका छन् ।

झण्डै ४० वर्ष लामो राजनीतिक सक्रियतापछि सांसद बन्नुभएको छ, कस्तो अनुभुति गरिरहनुभएको छ ?

मेरो लागि संसद पहिलो अनुभव हो । राजनीतिक क्षेत्रमा सानै उमेर २०३५/३६ सालदेखि सक्रिय हुँदै आएको छु । पार्टीको विभिन्न जिम्मेवारीको रुपमा काम गरेँ । स्वभाविक रुपमा सुरुमा मलाई अनुभव थिएन ।

देशभरिका जनताको प्रतिनिधिका रुपमा काम गर्ने यो थलो हो । यति बेला अहिलेको संसद र सरकारबाट जनताले धेरै अपेक्षा गरेका छन् । यसमा मेरो भूमिका के हुने हो कस्तो हुने हो ? भन्ने धेरै कैतुहलता र रमाइलो पनि थियो ।

अहिले हामी बजेटको तयारीमा छौं । केही दिनमै नीति तथा कार्यक्रम र बजेटको चरणमा प्रवेश गर्दै छौं । पहिलो अधिवेशन सकिएर दोस्रो अविधेशन सुरु भएसँगै सांसदहरुसँग अनुभव साटासाट हुने एउटा अवसर मिलिरहेको छ ।

संसदमा धेरै औपचारिकता र ठूला नेताको दबाबभित्र बस्नुपर्ने हुन्छ । यस्तो अवस्थामा आफूलाई कसरी एक जना अब्बल सांसदका रुपमा प्रस्तुत गर्नुहुन्छ ?

सुरुको अवधिमा यस्तो हुँदो रहेछ । हामी ठूला पार्टीका सांसद धेरै जना सदस्य छौं । विशेष वा अन्य समयमा आज चाहिँ बोल्न पाए हुन्थ्यो भन्ने लागि रहेको हुन्छ ।

सांसद भूमि त्रिपाठी । तस्बिर : बर्षा शाह/देश सञ्चार

तर, सनियर नेताहरु नै अगाडि सर्ने र समय पाए पनि ३/५ मिनेट मात्र पाइने हुँदा भन्न चाहेका र भन्नुपर्ने धेरै कुरा छुटिरहेका छन् । हामी नयाँ सांसदहरुले संसदमा बोल्न पाउनु पर्‍यो भनेर संगठित रुपमा पनि कुरा राखेका छौं ।

त्यसलाई व्यवस्थापन गरौँला भन्नुभएको छ । धेरै संख्या हुँदा समय पाउन मुस्किल हुँदो रहेछ । थोरै साथीहरुले पटक पटक समय पाउनुहुँदो रहेछ । हामीले हप्ता दिन कुर्दा पनि समय नपाउने अवस्था छ ।

विगतमा संसद र सांसदप्रति एउटा गुनासो सुनिन्थ्यो, सरकारलाई उत्तरदायी र जवाफदेही बनाउन सकेन भनेर । अब तपाईंहरु जस्ता व्यक्ति सांसदका रुपमा आएपछि अब सरकारलाई बढी उत्तरदायी बनाउन के गर्नुहुन्छ ?

त्यो त गर्नैैपर्छ । हामी सांसदहरु जनताको मत जितेर आएका छौं । हामीप्रति संसदप्रति सरकार जवाफदेही बन्नैपर्छ । संसदप्रति सरकार उत्तरदायि भएन भने, त्यसले राम्रो काम गर्न सक्दैन ।

कहीँ कतै तलमाथि हुन खोज्यो भने हामी खबरदारी गर्छौँ । सत्ता पक्षकै सांसद भएर पनि सरकार उत्तरदायी भएन भने त्यो बनाउने काम हाम्रो हुन्छ ।

पछिल्लो समय सांसदहरु विधि निर्माता मात्र हुने कि विकासे कार्यकर्ता पनि बन्ने भन्ने चर्को बहस चलिरहको छ । अझ भनौं सांसदको निगरानीमा खर्च हुँदै आएको निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम स्थगित गरेर अर्कै नाम दिइएको छ, यो उपयुक्त हो त ?

यसमा सांसदहरुलाई बद्मान गर्ने हिसाबले चर्चाहरु भइरहेका छन् । म अनुरोध गर्छु, सांसदलाई बद्नाम गर्ने काम नहोस् । यो सांसद विकास कोष होइन । यो सांसदको हातमा दिने रकम होइन ।

सांसदहरुले योजना सिफारिस मात्र गर्ने हो । हिजो जिविसले खर्च गथ्र्यो भने अहिले गाउँपालिका र नगरपालिकामार्फत हुन्छ । तर, यहाँ हल्ला कस्तो गरिँदैछ भने यो सांसदको गोजीमा हालिदिने पैसा हो ।

यो गतल प्रचार हो । हामी कोही पनि सांसदले म विधि निर्माता मात्र बन्छु भनेर आएका छैनौं । हामीले जनतालाई विकास दिन्छु भनेर मत जितेर आएका छौं । त्यसका कारण सांसदलाई विकास निर्माणबाट टाढा राखिनु हुँदैन ।

जेठ २३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्