गाउँमा मकै छर्ने मेसिन पुगेपछि…

लमही नगरपालिका वडा नं. ८ निमुखुट्टीमा मेसिनको प्रयोग गर्दै मकै र विउ छरिँदै। किसानको बारीमा लमही नगरपालिकाका मेयर कुलबहादुर केसी र प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना सुपरजोन मकैका प्रमुख महेश रेग्मी। तस्बिर: दशरथ घिमिरे। ।

दाङ– वर्षे मकै खेती हुँदै आएको लमही नगरपालिका वडा नं. ८ निमुखुट्टी गाउँमा फरक विषयले चर्चा पायो । मकै छर्न बारीमा गोरु नारेकाहरु मेलो छोडेर आइपुगे । सबैको चासो थियो मकै र मल एकै साथ छर्ने मेसिन कस्तो हुन्छ ?

बारीमा ट्र्याक्टर थियो। पछाडि मकैको विउ र मल एकै साथ छर्ने हलो जोडिएको। ट्र्याक्टरले खेतबारी जोत्नु सामान्य बनिसकेको छ। तर, मल, विउ एकैसाथ छर्ने मेसिन किसानले अझै देख्न पाएका छैनन्।

निमुखुट्टी निवासी शिवा बुढा मकै छर्ने मेसिन हेर्न आइपुगिन्। मकै छर्ने मेसिन सिड्रिल देखेपछि उनी छक्क परिन्। ‘हामी त गोरुले बारी जोतेर मकै छर्दै आएका थियौं । यहाँ त मल विउ छर्ने मेसिन आइसकेको रहेछ । मकै छर्नलाई मेसिन आएछ, गोडमेल गर्न पनि मेसिन आएको सुनेको छु’, उनले भनिन्, ‘यो मेसिन देखेर रहर जाग्यो ।’

निमुखुट्टी गाउँमा सिँचाईको असुविधा छ। आकाशे पानीको भरमा यहाँका किसानले परम्परागत रुपमा वर्षे मकैखेती गर्दै आएका थिए । ८५ विगाह जमिन मकै खेतीका लागि उपयुक्त छ । निमुखुट्टीका जनक बुढा मगरले गाउँमा कृषि यन्त्रको प्रयोग गरेर पहिलो पल्ट मकै छरे । एक विगाह ३ कट्ठा १० धुरमा मेसिनको प्रयोग गरेर छरिएको हो । ‘हाम्रो गाउँ मकै उत्पादनको दृष्टिले उपयुक्त छ भनेर कृषि विज्ञहरुले वताउनु भयो। त्यसै अनुसार पहिलो पल्ट गाउँमा मेसिनबाट मकै छरेका हौं’,` बुढामगरले भने– ‘गाउँभरीका मानिसलाई मेसिन बाट मकै छर्न सिकाउन पहिलो पल्ट मैले मकै छरेको हुँ ।’

६१ बर्षीय केशरबहादुर बुढाले मेसिनले मकै छरेका देखेका थिएनन् । परम्परागत रुपमा मकै खेती गर्दै आएका बुढालाई अब कृषि क्षेत्रले ठूलै फट्को मारेछ जस्तो लागेको छ । ‘अहिले सम्म पुरानै शैलीमा खेती गरियो । अब त मेसिन आएछ । हामी किसानलाई अब सजिलो हुने भयो’, उनले भने, ‘उन्नत तरिकाबाट खेती हुने भयो । श्रम कम लाग्ने भयो । धेरै बचत हुने भयो ।’

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना (मकै–सुपरजोन) लागू भएपछि परम्परागत रुपमा मकै खेती गर्दै आएका किसानहरु प्रविधिसँग जोडिएका हुन् । मेसिन नदेखका किसानहरुले मेसिनको प्रयोग गरेर मकै छर्न पाउँदा उत्साहित बनेका छन् ।

‘परम्परागत रुपमा हुदै आएको मकै खेति प्रणालिलाई सुधार गर्नुपर्ने समय आएको छ । अव आधुनिक प्रविधिको साहेताले खेति गर्ने हो’, नगरप्रमुख केसीले भने–‘कृषि औजारको प्रयोगले उत्पादक लागत घटाउन सकिन्छ र धेरै आम्दानी गर्न सकिने भएकाले नगरपालिकाले पनि यस्तो कार्यमा प्रोत्साहन प्रदान गर्छ ।’

मकै खेतिलाई पूर्ण यान्त्रीकरण बनाउन किसानहरुलाई कृषि औजारको प्रयोग गर्न प्रेरित गर्न कृषि यन्त्रको प्रदर्शनी गर्ने गरेको प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, परियोजना कार्यान्वयन ईकाइ(मकै–सुपरजोन)का प्रमुख महेश रेग्मीले वताए ।‘कृषि औजार नदेखेका किसानहरुको खेत बारीमै पुगेर मेसिनको प्रयोग गरेर मकै छर्ने काम गरेका छौं । मेसिनको प्रदर्शन गरिएको छ । जसले गर्दा धेरै किसानहरुले कृषि औजारको प्रयोग गर्न थाल्नु भएको छ’, रेग्मीले भने–‘जमिन तयार पार्ने देखि लियर छर्ने, गोड मेल गर्ने र छोडाउने सम्म मेसिनको प्रयोग गरेर लाभ लिन सकिन्छ ।’

एक हजार हेक्टर क्षेत्रमा मकै खेति गरिएको छ । भारतबाट मकै हरेक वर्ष नेपाल भित्रने गरेको छ । आयातलाई घटाउँदै स्थानीय स्तरमै मकैको उत्पादन बढाउन देउखुरीको लमही नगरपालिका र राप्ती गाउँपालिकामा मकै सुपरजोन लागु भएको कृषि अधिकृत पिताम्वर बस्नेतले बताए । ‘यहाँ बसन्ते, हिँउदे र बर्षे मकै खेति गरिन्छ । मकै खेतिमा पूर्णयान्त्रीकरण गर्दै उत्पादकत्व बढाउने योजना हो’बस्नेतले भने–‘मकै उत्पादन गरेर किसानले आम्दानी बढाउन सक्ने प्रसस्त आधारहरु छन् ।’

जेठ २३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्