नेपाली फुटबलरको नजरमा विश्वकप

रोनाल्डोका ‘खतरा’ फ्यान नवयुग श्रेष्ठ

फुटबलर नवयुग श्रेष्ठ । सबै तस्बिर : बर्षा शाह/देश सञ्चार

काठमाडौं- ‘रोनाल्डोले राम्रो खेल्छ। रोनाल्डोले राम्रो खेल्यो । रोनाल्डो…रोनाल्डो..रोनाल्डो।’

एउटै व्यक्तिको चर्चाले उनको मष्तिस्कमा रोनाल्डो ‘भयानक खत्रा’ खेलाडीको छाप बस्यो। परिवारमा, गाउँमा सबै रोनाल्डोको फ्यान थिए।

नबुझिकनै उनी पनि रोनाल्डोको फ्यान बने। रोनाल्डोले जस्तै खेल्न प्रयास गरे। साथीहरु उनलाई भन्न थाले,‘तेरो खेल रोनाल्डोको जस्तै छ यार।’ नवयुग श्रेष्ठको ‘रोनाल्डो प्रेम’ थप बढ्यो।

‘खेलाडी मन पर्ने भएपछि उसको जस्तै खेल्न प्रयास गर्नु सामान्य हो। गाउँमा एउटा विश्व चर्चित खेलाडीसँग आफ्नो तुलना हुनु निकै खुशीको कुरा हो।’ सिंहदरबारस्थित आर्मी क्लबको मैदानमा बुधबार नियमित प्रशिक्षण गर्दैगर्दा भेटिएका नवयुगले भने।

फुटबलर नवयुग श्रेष्ठ । तस्बिर : बर्षा शाह/देश सञ्चार

सन् १९९० को दशकको अन्त्यतिर ब्राजिलका रोनाल्डो र फ्रान्सका जिनेदिन जिदानको खुबै चर्चा थियो। विश्व फुटबलमा ‘इन्डीभिज्युअल प्लेयर’ का रुपमा जिदान र रोनाल्डोबिच तीव्र प्रतिस्पर्धा थियो। त्यहि समयमा फुटबल सिक्न थालेका र विश्वकप हेर्न सुरु गरेका नवयुगलाई रोनाल्डोको गहिरो प्रभाव प्रभाव पर्‍यो।

नवयुग आफू पनि स्ट्राइकर बने। पछि नेपाल आर्मीमा भर्ना भए। २०६५ सालमा आर्मीमा भर्ना भएपछि उनले राम्रो फुटबल खेलेरै क्लबको टोलीमा स्थान बनाए।

उनको नियमित काम नै फुटबल खेल्ने बन्यो। क्लबबाट राम्रो खेलेपछि राष्ट्रिय टोलीमा स्थान बनाए, तीन वर्ष अघि। त्यहाँ उनले आफ्नो स्थान पुष्टी गरे।

सन् २०१६ को जनवरीमा बंगलादेशमा आयोजित बंगबन्धु गोल्डकप नेपालले जित्दा नवयुगको प्रदर्शन निर्णायक रह्यो। नेपालले उक्त प्रतियोगिता जितेर सिनियर अन्तर्राष्ट्रिय फुटबलमा २३ वर्षपछि पहिलो उपाधि हात पार्‍यो।

नवयुगले माल्दिभ्सविरुद्ध ह्याट्रिक गरे,प्रतियोगिताकै सर्वाधिक गोलकर्ता पनि बने। लगत्तै नेपालले भारतमा आयोजित दक्षिण एसियाली खेलकुद–सागको फुटबलतर्फ स्वर्ण जित्यो।

नेपालले सागको फुटबलमा स्वर्ण जितेको पनि २३ वर्षपछि थियो। यहाँ उनले दुई खेलमा ह्याट्रिक गरे। त्यसको केही महिनापछि नेपालले मलेसियामा आयोजित सोलिडारिटी कप जित्यो। अर्थात एकै वर्षमा तीन वटा उपाधि।

‘राष्ट्रिय टोलीका लागि उपाधि जित्ने सपना थियो। तर त्यति चाँडै जितिएला भन्ने सोचेको थिइन। बंगबन्धुमा हामी उपाधि जित्ने लक्ष्य लिएर गएका थिएनौँ।

तर सबै कुराले साथ दियो। सागमा पनि त्यहि गेम, त्यहि फर्म र त्यहि टिमवर्क देखियो। सोलिडारिटी कपमा पनि त्यस्तै भयो। यो त लगभग सपनाजस्तै थियो’, नवयुग सम्झन्छन्।

खेलको प्रदर्शन र नतिजाले नै हो खेलाडीलाई स्टार बनाउने।

त्यसमा पनि उपाधिले माथिल्लोस्तरमा पुर्‍याउँछ। खेलाडीलाई रातारात सेलिब्रेटी बनाउँछ। त्यस्तै भयो नवयुगलाई। नवयुगलाई नेपाली फुटबलकै ‘नवयुग’ भन्न थालियो।

लगभग उनि भए नै त्यस्तै। ‘तर यो त टिम गेम हो नी’ प्रशिक्षण गरेर हसिनपसिन भएका नवयुगले हास्दै निदारबाट चुहिरहेको पसिना पुछे।

विश्वकप नजिकिरहेका बेला सहभागी देश र स्टार खेलाडीको चर्चा चोक चोकमा बढ्दो छ। नेपाली खेलाडी पनि कुनै न कुनै टिम तथा खेलाडीको फ्यान छन्।

‘आफूभन्दा राम्रो खेलाडीको फ्यान हुनु स्वभाविक हो। मलाई चाँही क्रिस्टियानो रोनाल्डो मनपर्छ। भरसक उसैको टिमले जितोस् भन्ने चाहन्छु। तर मेरो अनुमानमा पोर्चुगलले जित्दैन। स्पेनले जित्छ जस्तो लाग्छ। फ्रान्स, जर्मनी, स्पेन र ब्राजिलमध्ये एउटा च्याम्पियन बन्न सक्छ’ नवयुग भन्छन्।

विश्व, विश्वकपमा रमिरहेका बेला नवयुगले आफ्नो नियमित कर्म भने भुलेका छैनन्। हरेक दिन प्रशिक्षणमा सहभागी हुन्छन्,कडा मिहेनत गर्छन।

‘खेलाडीलाई राम्रो बनाउने र रंगशालामा राम्रो गर्न सक्ने बनाउने नै प्रशिक्षणले हो। अब साफ च्याम्पियनसिप आउँदैछ। हामीले आफ्नो स्तर बढेको देखाउन पनि साफ च्याम्पियन बन्नुको विकल्प छैन’ उनी भन्छन्।

नवयुगलाई खुशी लाग्छ, जब उनलाई समर्थकहरु भेट्न आतुर देख्छन्। सबैभन्दा बढी खुशी त तब लाग्छ उनलाई, जब साना साना केटाकेटीहरु ‘नवयुग’जस्तै खेलाडी बन्ने सपना सुनाउँछन्।

जेठ २४, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्