‘किम जोङ–उनले हातबाँधेर, घुँडा टेकेर वार्ताका लागि भिख मागे’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका वकिल रुडी ज्युलियानीले उत्तर कोरियाले वार्ताका लागि ‘भिख’ मागेको दाबी गरेका छन् ।
अमेरिकी राष्ट्रपति ट्रम्पले वार्ता रद्दको घोषणा गरेपछि उत्तर कोरियाका नेताहरुले वार्ता फेरि हुने वातावरण बनाउनका लागि भिख नै मागेको वकिल ज्युलियानीले बताएका छन् ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले झण्डै दुई हप्ताअघि उत्तर कोरियाको तर्फबाट शत्रुताको प्रदर्शन भएको भन्दै वार्ता रद्द गरेका थिए ।
तर त्यसपछि भएका कूटनीतिक छलफलले ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ–उनबिचको वार्ता तोकिएकै मिति जुन १२ मा हुने तय भएको छ । त्यसका लागि स्थान पनि तोकिएको छ ।
वार्ता सिंगापुरको सेन्तोसा आइल्याण्डको एक पाँच तारे होटलमा हुनेछ । तर ट्रम्पका वकिलले भने अमेरिका भन्दा पनि उत्तर कोरियाको जोडबलका कारण वार्ता हुन लागेको दाबी गरेका छन् ।
इजरायलमा भएको लगानीकर्ताहरुको सम्मेलनमा बोल्ने क्रममा ट्रम्पका वकिल ज्युलियानीले यस्तो बताएका हुन् ।
द वालस्ट्रिट जर्नलले ज्युलियानीले, ‘किम जोङ–उनले आफ्ना दुई हात पछाडि लगेर घुँडाले टेकर वार्ताका लागि भिख मागे, र किमलाई राख्न चाहेको अवस्था पनि त्यहि हो ।’
तर राष्ट्रपति ट्रम्पले मंगलबार वार्ताको तयारी निकै राम्रो रुपमा अघि बढेको र धेरै कूटनीतिक सम्बन्ध बिस्तार भएको बताएका थिए ।