कर्णालीबासीका गुनासा सुन्‍न ‘हेल्लो मुख्यमन्त्री’ हटलाइन

सुर्खेत- के तपाईले कुनै समस्या भोगिरहनुभएको छ? यदि छन्, भने अब तपाईहरुले समस्या, गुनासो र सुझाव सिधै मुख्यमन्त्रीलाई सुनाउँन सक्नु हुनेछ।

कर्णाली प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले प्रत्यक्ष जनताका गुनासो सुन्न र त्यसको समाधानका लागि ‘हेल्लो मुख्यमन्त्री’ हटलाइन सेवा सुरु गरेको छ।

‘जनतासँग मुख्यमन्त्री’ कार्यक्रम सञ्चालन गरेको प्रदेश सरकारले अझै प्रभावकारी बनाउन र जनताको गुनासो प्रत्यक्ष मुख्यमन्त्रीसँग राख्न पाउने गरी बिहीबारदेखि ‘हेल्लो मुख्यमन्त्री’ हटलाइन सेवा सुरु गरेको हो।

मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयबाटै हटलाइन सेवा सञ्‍चालनमा आएपछि अब कर्णालीबासीले निःशुल्क १०९६ डायल गरि सिधै मुख्यमन्त्रीसँग गुनासो, सुझाव र समस्या राख्न सक्ने छन्। हटलाइन सञ्चालनमा आएसँगै जनताका समस्या पहिचान गरि कर्णाली प्रदेश सरकारले निती निर्माण तथा कामकारवाही अगाडी बढाउन मदत्त पुग्ने अपेक्षा सरकारले लिएको छ। कर्णाली प्रदेशको विकासका लागि जनताको प्रत्यक्ष सहयोग र सहभागिता आवश्यक रहेकाले हटलाइन सेवा सञ्चालन गरिएको कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बताए।

‘जनताका समस्याको तुरुन्तै जानकारी लिन सरकारले प्रविधिको प्रयोग गरेको छ’ उनले भने, ‘सरकारको मनपरि रोक्न, बस्तुगत समस्याको पहिचान गर्न, पारदर्शिता तथा योजना, कानुन निर्माणमा जनताका सुझाव आउनु भन्‍ने उपेक्षा छ।’

हटलाईनमार्फत जनताका समस्या जानकारी पाए तत्काल समाधानका लागि काम गर्ने उनले बताए। जनताको सुझाव विना सञ्चालित सरकार जनविरोधी र निरंकुश हुने भन्दै उनले सरकारलाई जवाफदेही र जिम्मेवार बनाउन जनताको सहयोगका लागि हटलाइन सेवा सञ्चालन गरेको बताए।

‘हेल्लो मुख्यमन्त्री’ हटलाईन सेवाको सञ्चालन गर्दै मुख्यमन्त्री शाहीले नरहरीनाथ गाउपालिका वडा नं. ९ कालिकोटका प्रेम सार्कीको गुनासो सुनेका थिए। वडा–९ का दलित वडा सदस्यसमेत रहेकी आफ्नी आमा मना सार्कीको हत्या भएको दावी गर्दै प्रेमले आवश्यक छानविन र दोषिलाई कारवाही गर्न माग गरे।

त्यसैगरि रुकुम पश्चिम मुसीकोट नगरपालिकाका दिपक वाँठामगरले त्रिभुवन जनता आधारभुत विद्यालय भवन र साना सहरी खानेपानी आयोजनाको निर्माण कार्यमा चरम लापरवाही भएको तथा वर्षौं देखि निर्माण कार्य अलपत्र रहेको गुनासो कर्णाली प्रदेशका मुख्यमन्त्रीलाई सुनाएका थिए।
मुख्यमन्त्री शाहीले दुवै समस्या सामाधानका लागि सम्वन्धित निकायलाई निर्देशनसमेत दिएका छन्।

यसैबीच, कर्णाली प्रदेशको परिचय र भईरहेको कामको जानकारी सार्वजनिक गर्न सरकारले अधिकारिक वेब साईटसमेत सञ्‍चालन गरेको छ। कर्णालीमा छरिएर रहेका विकट ठाउँदेखि छिमेकी तथा विश्वभर डिजिटल प्रविधिमार्फत सूचना प्रवाहका लागि अनलाईन सञ्चालन गरिएको हो।

कर्णाली पछाडी पर्नुको कारण प्रविधिको प्रयोगबारे जानकारी नहुनु भएको भन्दै मुख्यमन्त्री शाहीले अवको पाँच महिनामा गाउँ–गाउँमा इन्टरनेट सेवा पुग्ने गरि सरकारले काम अगाडी बढाएको बताए। उनले कर्णालीबासीलाई सूचनाको पहुँचमा ल्याउन रेडियो स्थापनासमेत गरिने बताए।

‘जनताका बारेमा जानकारी पाउनै मुस्किल छ’ उनले भने, ‘अवका दिनमा जनताका समस्याको बारेमा पूर्व जानकारी सहजै लिने र जनताको आवश्यकताअनुसार कानुन, निती र समाधान गर्न हटलाईन र अनलाईन सेवा सञ्चालन ल्याएका हौं।’

मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयको आधिकारीक वेवसाईट www.ocmcm.karnali.gov.np मा कर्णाली प्रदेश सरकारसंग सम्वन्धित सवै सुचना उपलब्ध गराईएको छ।

जेठ २४, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्