उत्तर कोरियाका नेता किमलाई अमेरिका बोलाउने तयारीमा ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका नेता किम जोङ उनलाई अमेरिका भ्रमणमा बोलाउन सक्ने बताएका छन् । सिंगापुरमा जुन १२ मा हुने वार्ता सकारात्मक भएमा किमलाई अमेरिका भ्रमणमा बोलाउने बारेमा सोचेको ट्रम्पले बताएका हुन् ।
किमसँगको वार्ता बारे जापानका प्रधानमन्त्री सिन्जु आबेसँगको छलफलपछि ट्रम्पले यस्तो बताएका हुन् । किमसँगको वार्ताको क्रममा कोरिया युद्ध अन्त्य भएको घोषणा हुन सक्ने ट्रम्पले बताएका छन् ।
यो वार्ताको सबैैभन्दा सहज पक्ष रहेन सक्ने उनले बताएका छन् । अमेरिका र उसका सहयोगी जापान तथा दक्षिण कोरियासहितका देश उत्तर कोरियाले पूर्ण रुपमा परमाणु निशस्त्रिकरण गर्नु पर्ने बताउँदै आएका छन् ।
अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले उत्तर कोरियाका नेता किमले आफूसँग व्यक्तिगत रुपमै परमाणु निशस्त्रिकरणका लागि तयार रहेको बताएका उल्लेख गरेका छन् ।
लामो तयारी र आरोह अवरोहबिच ट्रम्प र किमबिच सिंगापुरमा चार दिनपछि वार्ता हुँदैछ ।