१ करोड ४० लाख फेसबुक एकाउन्ट प्रभावित, तपाईंको के भयो ?

सामाजिक सञ्जाल फेसबुकको प्राइभेसी बगका कारण दशौँ लाख प्रयोगकर्ता प्रभावित भएको हुन सक्ने चेतावनी दिइएको छ ।

प्राइभेसी सफ्टवेयर बगका कारण फेसबुक प्रयोगकर्ताले थाहैनपाइ आफ्नो गोप्य वा व्यक्तिगत जानकारी सार्वजनिक रुपमा पोस्ट गर्न सक्ने देखिएको भन्दै फेसबुकले चेतावनी दिएको छ ।

यो बगबाट विश्वभरमा एक करोड ४० लाख फेसबुक प्रयोगकर्ता प्रभावित हुन सक्ने छन् । फेसबुकका प्राइभेसी प्रमुख एरिन इगानले यो कमजोरीका लागि माफी मागेकी छन् ।

प्रभावित भएका प्रयोगकर्तालाई साइटको न्युजफिड मार्फत जानकारी गराइने पनि उनले उल्लेख गरेकी छन् । बगले प्रयोगकर्तालाई केही पोस्ट गर्न लागेका बेला अटोमेटिक रुपमा आफ्नो व्यक्तिगत जानकारी पोस्ट गर्न सुझाउने गरेको पाइएको उनले बताइन् ।

यो समस्या समाधान गरेको तर त्यसबाट झण्डै १४ मिलियन प्रयोगकर्ता प्रभावित भएको हुन सक्ने अनुमान छ । यसबारे बिहीबारदेखि प्रभावित प्रयोगकर्तालाई जानकारी दिन थालेको उनले बताएकी छन् ।

यो बगले यसअघि गरेका कुनै पनि पोस्टमा केही असर नगर्ने पनि फेसबुकले स्पष्ट पारेको छ । यो बग मे १८ देखि २२ सम्म सक्रिय रहेको र २७ मे सम्म पनि असर गरिरहेको थियो ।

जेठ २५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्