मेरो माटो, मेरो चन्दन (अनुभव र अनुभूतिको श्रृंखला- २४)

बेलायतबाट फर्केपछि वीर अस्पतालमा मेरो संघर्ष

त्यो फ्रेब्रुअरीको महिना थियो। अरु सामानहरु लगेजमा हालेँ मैले, सबैभन्दा महङ्गो एनमिजन क्लिप मैले कोटको खल्तीमा राखेर ल्याएँ। त्यो बहुमूल्य चिजलाई हराउन या ड्यामेज हुन दिनै भएन। ब्रिटिस एयरवेजको फ्लाइट ‘लण्डन टू दिल्ली’, अनि दिल्लीबाट रोयल नेपाल एयरलाइन्सको फ्लाइटबाट काठमाडौँ आएँ। दिउँसो १२/१ बजेतिर ल्याण्ड भयो। अनि घर गएर आफ्नो लगेजहरु राख्नेबित्तिकै म लुगा पनि चेन्ज नगरीकन ट्याक्सी लिएर वीर हस्पिटल गएँ। मेरो कर्मथलो त त्यही हो। वीर हस्पिटल पुग्दा २ बजेको थियो।

गएर सोझै सुपरिटेन्डेनलाई भेटेँ, ताराबहादुर खत्री हुनुहुन्थ्यो। अनि डाक्टर गंगोललाई भेटेर  ल म भोलिदेखि नै काम सुरु गर्छु भनेँ। अनि फेसिलिटीहरु पनि हेरेँ।  सिटिस्क्यान आइसकेको थियो। सिटिस्क्यान अलिकति कम्प्लिकेटेड खालको थियो। अलिकति पढिदिएँ पनि। किनभने त्यो बेलामा म जत्तिको सिटिस्क्यान पढ्न सक्ने कोही पनि थिएन। मैले भनेँ, पेपरवर्क मिलाउँदै गर्नुहोस्, म भोलिदेखि काम गर्न थाल्छु भनेँ सम्बन्धित निकायलाई।

भोलिपल्ट बिहान ९ बजे पुगिहालेँ वीर हस्पिटल। जाँदाखेरि डाक्टर गंगोलले एउटा केस राख्नुभएको रहेछ, सर्भाइकल स्पाइनको। त्यो अलिकति कप्लिकेटेड थियो। त्यो बेलामा अगाडिबाट स्पाइनको सर्जरी गर्ने एक्सपर्टिज थिएन यहाँ। त्यो स्पाइनल कर्ड थिचिएकाले उहाँले पछाडिबाट ल्यालेक्टोमी गर्ने भनेर राख्नुभएको रहेछ।

मैलै त्यो मायालोग्राम हेरेर ‘हैन सर, यसको पछाडिबाट हुँदैन, अगाडिबाट गर्नुपर्छ’ भनेर निर्णय गरेँ। अगाडिबाट गर्ने सामान त वीरमा थिएन। अनि मैले लिएर आएको सामान ल्याएर पर्सिपल्ट पहिलो केस पोखराकी एक महिलाको गर्धनको अप्रेसन अगाडिबाट मैले गरेँ। ती महिला पछि यहाँ फलोअपमा आएकी थिइन्।  मेलै उनको त्यो बेलाको ‘नेक’ को फोटो पनि खिचेर राखेको छु। ऐतिहासिक बिरामी मेरो। म बेलायतबाट आएपछि पहिलोपटक सर्जरी गरेको बिरामी। अप्रेशन राम्रो भयो। अनि वीर अस्पतालमा काम सकाएर मन्त्रालयमा ज्वाइन गर्न गएँ। मैले सोचेजस्तो सजिलो थिएन।

न्युरो सर्जनको सेकेण्ड क्लास दरबन्दीमा अरुलाई नै अप्वाइन्ट गरिसकेको थियो। नेपालको नियममा केही पनि नमिल्ने, सबैथोक मिल्ने। म न्युरो सर्जरी गरेर आएको मान्छेले चाहिँ न्युरो सर्जरीको सेकेण्ड क्लास नपाउने, न्युरो सर्जरीको ‘एन’ पनि नजानेको मान्छे चाहिँ न्युरो सर्जरीको सेकेण्ड क्लासको पोष्टमा बस्ने। त्यो अकुपाइ भो। पोस्टिङ गर्ने केही पनि आधार नै छैन, वीर हस्पिटलमा। पद खालि पनि छैन। तर मेरो आश्यकता वीर हस्पिटलमा छ। एडमिनिस्ट्रेसनले पद खालि गर्न नै सकेन। मन्त्रालयका मान्छेहरुले एउटा वेआउट निकाले। तपाईँ मन्त्रालयमा हाजिर भएर वीर हस्पिटलमा काम गर्न जानुस्।

मैले भनेँ, ‘मन्त्रालय १० बजे खुल्छ, १० बजे हाजिर गरेर म वीर हस्पिटल काम गर्न जाने?’

त्यो ‘ह्युमिलेटिङ’ पोस्टिङ हो। अपमानजनक हो। मेरो योग्यताको सबभन्दा तल्लो लेभलको अपमान थियो। मैले सोचेँ, ‘कम से कम काम गर्न त पा’छु।

‘त्यसो भए महिनामा एकपल्ट आएर हाजिर गरेर जानुहोस्। मलाई चिन्थे पनि। एवं रीतले तीन महिना जति मैले बिहानै आएर वीर हस्पिटलमा काम गर्‍यो अनि मन्त्रालयमा एकपटक गएर हाजिर गरेर मन्त्रालयबाट तलब लिएर वीर हस्पिटलमा काम गरेँ। त्यसपछि वीर हस्पिटलमा मेडिकल अफिसरको पदमा म स्पेशलाइजेसन गरेर आएको कन्सल्ट्यान्ट लेभलको डाक्टरलाई थर्ड क्लास मेडिकल डाक्टरको रुपमा पोस्टिङ गरियो। त्यो ‘ह्युमिलेटिङ’ पोस्टिङ हो। अपमानजनक हो। मेरो योग्यताको सबभन्दा तल्लो लेभलको अपमान थियो। मैले सोचेँ, ‘कम से कम काम गर्न त पा’छु। काम गरेर देखाउने हो अब।’ ‘धन्यवाद’ भनेर मैले मेडिकल अफिसरकै पोस्टिङ लिएर काम गर्न थालेँ।

सेकेण्ड क्लासको न्युरो सर्जरीमा पुग्न झण्डै सात/आठ वर्ष लाग्यो मलाई। त्यो सेकेण्ड क्लासको पोस्ट त खाली हुने बित्तिकै अर्कालाई गर्दिहाल्दो रैछन्, न्युरो सर्जरीलाई एड्भर्टाइज नै नगर्ने। त्यस्तो कुचक्र। काठमाडौँ कसैलाई बस्न मन लाग्यो भनेदेखि अलिकति पहुँचवाला डाक्टर जाने, फटाफट न्युरो सर्जरीकै पोस्टिङ लिने, बस्दिने। काम अन्तै गर्ने तर न्युरो सर्जन चाहिँ थर्ड क्लास मेडिकल अफिसर भएर वीर हस्पिटलमा काम गर्नुपर्ने बिडम्बना। तर, म थर्ड क्लास भए पनि डाक्टर गंगोलले मलाई राम्रो व्यवहार गर्नुभो। सबै बिरामी हेर्ने जिम्मा दिनुभयो। उहाँ हेड अफ द डिपार्टमेन्ट भएर उहाँको अन्डरमा भर्ना भएका सबै बिरामी म नै म्यानेज गर्थेँ।

त्यसपछि मैले काम गर्ने स्ट्राटेजी बनाएँ। वीर हस्पिटलमा २१ ओटा बेड थियो। २१ वटा बेडमा बिरामी भर्ना गर्न थालेँ। हप्ताको दुई दिन ओपिडी, दुई दिन अप्रेसन। नर्सहरुलाई तालिम दिन थालेँ। अरु समयचाहिँ हप्ताको दुई दिन, तीन दिन नर्सहरुलाई तालिम दिन थालेँ। मैले त्यसरी ५२ ओटा क्लास लिएछु। त्यहाँ काम गर्ने त्यहाँका कोर नर्सिङ स्टाफहरुलाई मैले आफैँ तालिम गराएँ। यो भनेको यो, यो भनेको यो भनेर न्युरो सर्जिकल नर्सिङको अलिकति थ्योरी र प्राक्टिकल पढाएर त्यसरी समय बिताएर पहिलो वर्ष आफ्नो स्टाफ आफैँ तालिम गराएँ।

समस्या थियो, मलाई सहयोग गर्ने जुनियर डाक्टरको अभाव। जुनियर डाक्टर कोही पनि आउन नमान्‍ने न्युरो सर्जरीमा। अफ्ठेरो छ, धेरै काम गर्नुपर्छ भन्थे, तिनीहरुको २ बजे भाग्ने बानी। कोही पनि नआउने। आए पनि दुई चार हप्ता काम गर्ने, भाग्ने। अनि म आफैँ सबै कुरा गर्ने गर्थेँ। बिरामी भर्ना गर्ने। हिस्ट्री पनि लेख्‍ने। डिस्चार्ज समरी पनि लेख्‍ने। अप्रेसन पनि आफैँ गर्ने गर्थेँ। यसरी म्यानेज गरेँ चार-छ महिना।

त्यसपछि बडा अनौठो घटना भयो। न्युरो सर्जरीमा कसैले मन नगरेपछि डिपार्टमेन्टलाई पनि अफ्ठेरो। दबाब दिउँ जाँदै जाँदैनन्। मैले एक दिन गएर कम्प्लेन गरेँ। ‘ल मलाई मेडिकल अफिसर दिनुस्, सहयोग गर्न।’ एक घण्टापछि एक जना जर्मन डाक्टर आइपुगे। ती जर्मन डाक्टरचाहिँ विद्यार्थी छँदाखेरि ‘इलेक्टिभ’ गर्न वीर हस्पिटल गएका रहेछन्, कुनै बेलामा।

त्यहाँ काम गर्दाको अनौठो खालको रोगको प्रकृति देखेपछि उनलाई फेरि पास गरिसकेपछि पनि नेपालमा काम गर्न मन लागेर वीर हस्पिटल नै पुगेछन्। अलिअलि नेपाली बोल्थे उनी। डाक्टरहरुले यसो हेर्नुभयो, ‘नेपालीहरु न्युरो सर्जरीमा बस्दैनन्, यो जर्मनलाई पठाइदिन्छु, जति दिन बस्छ बस्छ’ भनेर ‘मलाई १५ दिन सहयोग गर’ भनी पठाउनु भएछ।

त्यो जर्मन डाक्टर आयो। टुटेफुटेको नेपाली बोल्यो, ‘मलाई फलानोले पठाउनुभएको, तपाईसँग १५ दिन काम गर्न आएको।’ मलाई रिस उठ्यो। कमसेकम डेढ महिना, दुई महिना, एक महिनाको चाहिन्छ। १५ दिन काम गर्ने त्यो पनि जर्मन, हिस्ट्री लिन जान्दैन। नेपाली बोल्न जान्दैन के पठाएको होला? तै पनि ‘ल सुरु गर’ भने। ‘माइकल फ्यांक’ भन्‍ने जर्मनीको डाक्टर।

ऊ १५ दिन बसेर मसँग काम गर्‍यो। १५ दिन सिद्धिएपछि ‘मलाई तीन महिना बस्न मन लाग्यो’ भन्यो। तीन महिना सिद्धियो, ‘म ६ महिना बस्छु’ भन्यो। ६ महिना सिद्धिएपछि ऊ ‘सकेसम्म तपाईँसँग मात्र काम गर्छु’ भनेर पर्मानेन्टली मसँग नै काम गर्न थाल्यो।

अहिले पनि मैले इतिहासलाई तथ्यमा राख्न भन्नुपर्छ, त्यो जर्मन डाक्टरलाई लिएर मैले न्युरो सर्जरी अर्गनाइज गरेँ। अनि त्यसपछि मात्र नेपाली केटाहरु ‘ए’ भनेर पर्खालमा उभिएर बसेका फेन्स सिटरहरु न्यूरो सर्जरीमा एडप्ट भएर आउन थाले। माइकल ५, ६ वर्ष बस्यो नेपालमा। धेरै जस्तो कुराहरु डिपार्टमेन्ट सेट गर्ने बेलामा मैले माइकसँग सल्लाह गर्थेँ। माइकको सहयोग पर्याप्त रह्‍यो। माइकको एउटा एड्भान्टेज के थियो भने त्यो इन्जिनियरिङमा पोख्त थियो।

कम्प्युटरमा पोख्त थियो। उसलाई वीर अस्पतालले तलब नदिने। जर्मनिज प्रोजेक्टको कम्प्युटर चलाउने, हेर्ने, प्रोजेक्ट गर्ने गरेर पैसा कमाउँथ्यो। अनि त्यो पैसा खर्च गरेर काठमाडौँमा बसेर हामीलाई ‘फ्री’मा सर्भिस दिन्थ्यो। उसले मेरो डिपार्टमेन्टका उपकरणहरु मर्मत गर्नेदेखि लिएर सबै काम गर्न थाल्यो। एक्स–रे बिग्रियो भने पनि बनाउँथ्यो, इन्स्ट्रुमेन्ट बिग्रियो भने पनि बनाउँथ्यो। केही चाहियो भने एम्बेसीमार्फत जर्मनीबाट झिकाउँथ्यो। उसको सहयोग यति मूल्यवान बन्यो कि त्यसले मलाई डिपार्टमेन्ट अर्गनाइज गर्न सजिलो भयो। मैले अहिले भन्दाखेरी सबैभन्दा ठूलो पार्टनर तिम्रो न्युरो सर्जरी गर्न को थियो भन्दा ‘माइकल’ लाई नै त्यो श्रेय दिनुपर्छ। त्यसपछि न्‍युरोमा नेपाली केटाहरु पसेँ।

माइकल हुँदाखेरि नै हामीले पहिलोपटक कम्प्युटर लिएर आयौँ। सायद अफिसमा कम्प्युटर राखेर बस्ने डाक्टर मै हुँ पहिला। माइकल त कम्प्युटरको एक्सपर्ट, अनौठो गर्‍यो। जर्मनीबाट ल्याउँदाखेरि पहिला कम्प्युटरको बाहिरको खोल मात्र लिएर आयो। भन्सार तिर्न नपरोस् भनेर। अनि के हो यो भन्दाखेरि बाकस हो भन्यो।

दोस्रोपटक भित्रको गुदी लिएर आयो। के हो यो भन्दाखेरि रेडियो भन्यो। त्यो बेला कम्प्युटर भन्‍ने कुरा कसैलाई थाहा पनि थिएन। त्यसरी भन्सार नतिरी कम्प्युटर भित्र्याएको, दुईपटक गरेर। हामीसँग डेक्सटप थियो, पहिलोपटक टाइप गरेको चिठी पठाउन थाल्यौँ। पहिलो कम्प्युटर भएको अफिस मेरो हो। त्यो १९९० मा। नेपालमा कम्प्युटर त्यो बेलामा यस्तो दुर्लभ थियो भने म १९९४ मा हङकङबाट फर्केर आउँदाखेरि एउटा डेक्सटप लिएर आएको थिएँ।

त्यसको भन्सार नै मैले ४० हजार तिरेको छु। जबकि मेरो वर्षको तलब थियो ४० हजार। त्यो बेलामा हामी अनभिज्ञ थियौँ। भन्सारको कर्मचारीलाई छक्याउन केही गाह्रो थिएन, माइकले यसो झुक्याएर दुईपटक गरेर कम्प्युटर भित्र्यायो। माइकल पछि बित्यो, अफ्रिकामा दुर्घटनामा परेर’ माइकले गरेर मेरो इन्टरनेसनल कम्युनिटीसँग पनि सम्पर्क बढ्यो।

उसले साँझ, बेलुका ठमेलतिर पनि डिनरमा जाँदाखेरि सबै डिप्लोम्याटिक कम्युनिटीको मान्छेसँग कुरा गर्ने, उनीहरुलाई पनि यसो स्वास्थ्यसम्बन्धी ओपिनियनको लागि आइज मेरो बोसलाई देखा भन्‍ने। त्यसरी हाम्रो कन्ट्रीमा एक्स्पर्ट कम्‍युनिटीभित्र हाम्रो प्रोफाइल धेरै माथि उठायो माइकलले। त्‍यसपछि माइकलसँग नेपाली केटाहरु सँगसँगै काम गर्दै वीरमा पस्न थाले। मेरो त्‍यो बेलाको स्ट्राटेजी एकदमै क्लियर थियो। पहिला डिपार्टमेन्ट अर्गनाइजेसन गर्छु। त्‍यसपछि मिटिङ कन्फरेन्स अटेन्ड गर्न म बाहिर जान्छु। म आफूले गरेको काम  नदेखाइकन बाहिर मिटिङमा गएर के बकबक बोल्‍ने। मैले बेलायतमा गरेको काम भनेर नेपालमा आएर पेपर पढ्‍नु भएन।

त्यस्तै हुँदै थियो, डिपार्टमेन्ट सेट गर्दै थिएँ। म फ्रेब्रुअरीमा फर्केको नोभेम्बरमा मेरो गुरु ‘मिस्टर हाइड’ ग्लास्गोबाट दिल्लीको एउटा मिटिङ अटेन्ड गर्न आउँदाखेरि मलाई भेट्न काठमाडौँ आउनुभयो। उहाँ त्यतिबेला ब्रिटिस सोसाइटीको प्रेजिडेन्ट हुनुहुन्थ्यो। मलाई असाध्यै माया गर्ने। दुर्भाग्यवश त्यो बेलामा इन्डियाको नाकाबन्दी थियो। कठोर नाकाबन्दी, पेट्रोल पनि सिंगापुरबाट प्लेनमा लिएर सप्लाई गर्नुपर्ने अवस्था थियो। उहाँलाई इन्टरटेन गर्न मसँग मोटर पनि थिएन। उहाँ दुई/तीन दिन बस्नुभयो नेपालमा। एकदिन नगरकोट लगेर राखेँ। नगरकोट बस्दाखेरि बडा इन्ट्रेस्ट्रिङ प्रसंग छ।

त्यो बेलामा त्रिभुवन युनिभर्सिटीको चान्सलर मेरो जेठान हुनुहुन्थ्यो। महेशकुमार उपाध्याय, मधुको भानिजदाइ असाध्यै माया गर्ने हामीलाई। हामीले भन्यौँ, ‘महेश दाजु, मेरो गुरु आउनुभएको छ, उनलाई नगरकोट पुर्‍याएर भोलिपल्ट पिकअप गर्न जान तपाईँको (भाइस चान्सलरको) मोटर दिनुपर्‍यो।’ अरु चान्स नै छैन भनेपछि उहाँले ड्राइभर र मोटर दिनुभयो। अघिल्लो दिन उहाँलाई लगेर ड्रप गर्‍यो। भोलिपल्ट फर्कनु भो।

टिपिकल ब्रिटिस। होटलमा आएपछि उहाँले फटाफट चेन्ज गरेर, टाइ लगाएर तिम्रो वार्ड हेर्ने भनेर आउनुभयो। हरेक बिरामी जाँच्नुभयो, मसँग सबै हिस्ट्री सोध्नुभयो। के भएको छ, के गर्दै छस्, कसरी अप्रेसन गर्छस्, के प्लान गदैछस् भनेर सबैको डिटेलमा सोध्नुभयो। मैले जवाफ दिएँ। राउण्ड सिद्धिसकेपछि उहाँले ‘मलाई ब्रिटिस काउन्सिल लिएर जा’ भन्नुभयो। अप्वइन्टमेन्ट केही पनि लिएको थिएन। तर, त्यति ठूलो डाक्टर गएपछि कसैले केही भन्‍ने कुरै भएन। गेट क्र्यास गर्‍यौँ।

ग्लास्गोको न्यूरो सर्जरीको हेड अफ द डिपार्टमेन्ट आउनुभएको छ भनेपछि उनीहरु पनि जिल्‍लै। मैले त अन्दाजै गरेको थिइन, उहाँले त सबै कुरा एसेस गरिसक्नुभएको रहेछ युनिटको। ब्रिटिस काउन्सिलको डाइरेक्टरलाई भेट्ने बित्तिकै उहाँले बडा सटिक तरिकाले आफ्ना कुरा राख्‍नुभयो।

‘हामीले राम्रो तालिम दिएर पठाएको हो, तिमीहरुले स्पोन्सर गरेर पठायौ। हामीले राम्रो तालिम दियौ, ब्रिटिस स्ट्यान्डर्डको तालिम लिएर आएको सर्जन हो, मैले उसको वार्ड हेरेँ। अहिलेसम्म उसको रिजल्ट राम्रै छ। तर यो रिजल्ट सस्टेन हुँदैन। राम्रो हुनुको पछाडि ऊ कम्पिटेन्ट छ, त्यो आफ्नै ठाउँमा छ। दोस्रो कुरा हामी बिगिनर्स लक भन्छौ। त्‍यसले पनि काम गर्छ। तर यो रिजल्ट सस्टेन गर्न गाह्रो छ। यति राम्रो रिजल्ट सस्टेन हुँदैन, के कारणले भन्दाखेरि उसको सर्पोटिङ सर्भिस छैन। विशेष गरेर नर्सिङ केयर र अरु कुराहरु पुग्दैन। तिमीहरुले उल्लाई सहयोग गरिदिने हो भने नर्सहरुको तालिम व्यवस्थित गर,’ उहाँले भन्नुभयो।

मैले  यसबारे त्यसरी सोचेकै थिइन।

आफूले पढाउँदै विस्तारै तालिम गर्दै थिएँ नर्सहरुलाई। तर मेरो प्रोफेसरले देख्नुभो। ब्रिटिस काउन्सिलबाट एक किसिमको सहयोगको प्रतिवद्धता आयो। मिस्टर हाइडलाई मैले लेखेको थिएँ, मेरो सर्टिफकिेट मैले ल्याउन बिर्सेछु, ल्याइदिनू भनेर। उहाँ सर्टिफिकेट इसु गर्ने ठाउँमै हुनुहुन्थ्यो। अनि एउटा सर्टिफिकेटमा उहाँले छाप लगाएर ल्याउनु भएको रहेछ। उहाँ एभरेष्ट होटलमा बस्नु भएको थियो। होटलको लबीमा रहेको क्याफेको टेबलमा नै मलाई त्यही सोध्नुभयो। ‘कहाँ कहाँ तालिम लिएको छौ? के के गरेको छौ?’ त्यही भरेर मलाई सर्टिफिकेट हस्तान्तरण गर्नुभो। अहिले पनि उहाँको त्यो स्नेहको लागि म आभारी छु। असल गुरुले चेलालाई छाड्दैन, सधैं साथ दिन्छ। उहाँहरु स्कटिज सोसलिस्ट मान्यता बोक्ने। साम गलब्रेथ, मेरो प्रोफेसर हाइड र टीज्डेल आउनुभो। तीनैजना लेबर पार्टीका भोटर। गरिवहरुलाई हेर्नुपर्छ भन्ने त्यो कम्प्यासन थियो उहाँहरुमा। हामी विकासोन्मुख देशबाट गएकालाई विशेष माया गर्ने। मिस्टर हाइड फर्किनुभयो। मैले नर्सहरुको तालिमका लागि पर्स्यु गरेँ।

अन्तिममा ‘ब्रिटिस’को सहयोगले दुई जना नर्सलाई तालिममा पठाएँ। सायद ३/४ महिना कतिको। यसरी प्लान गर्‍यौं कि उनीहरु तालिममा जाँदाखेरि मैले जुनजुन हस्पिटलमा काम गरेको थिएँ, त्यही त्यही हस्पिटलमा पठायौं। किनभने उहाँहरु मैले भनेको बुझ्ने अवस्थामा हुनुहुन्‍नथ्यो। मैले फोहोर भयो भन्दा पनि हाम्रा नर्सहरुलाई सफा नै लाग्थ्यो।

जसले पनि न्यूरो सर्जरी सुरु गर्नुपर्‍यो भने हाम्रो नर्सहरुलाई फकाई फुल्याई लिएर गयो, ४ महिना, ६ महिना राख्यो अनि सेट अप गरिसकेपछि ‘ल है त सिस्टर’ भनेर बिदा गरिदियो। त्यसरी नै नेपालको अरु न्युरो सर्जरी सुरु भएका हुन्, हामीले तालिम गरेका स्टाफहरुलाई लिएर गएर।

त्यसपछि तीन महिनाको लागि उहाँहरुलाई बेलायत पठाएँ। त्यहाँका नर्सहरुले उहाँहरुलाई यति सम्मानका साथ रिसिभ र व्‍यवहार गरे कि उहाँहरु त दंग। सबैले मेरो विषयमा सोधेछन्। मेरो सर्जिकल नर्सहरुलाई चाहिने कागजपत्रहरु, सामान्य अप्रेसनको लागि चाहिने गाउन मेजरमेन्ट हुन्छ नि, अप्रेसन गर्दा बिरामी ढाक्ने ड्रेसको मेजरमेन्ट, त्यो सबै बेलायतका नर्सहरुले सिकाएर पठाए।

त्यसैको नेपालभरि अहिले डुप्लिकेसन, ट्रिप्लिकेसन भएको छ। कति फिट लामो ड्रेप, कति फराकिलो, कसैलाई आइडिया छैन। हामीले वीर हस्पिटलमा सुरु गर्‍यौँ। जसले पनि न्यूरो सर्जरी सुरु गर्नुपर्‍यो भने हाम्रो नर्सहरुलाई फकाई फुल्याई लिएर गयो, ४ महिना, ६ महिना राख्यो अनि सेट अप गरिसकेपछि ‘ल है त सिस्टर’ भनेर बिदा गरिदियो। त्यसरी नै नेपालको अरु न्युरो सर्जरी सुरु भएका हुन्, हामीले तालिम गरेका स्टाफहरुलाई लिएर गएर।

यसबाट हामीले इन्स्टिच्‍युसनप्रतिको वफादारी पनि विकसित गर्न सक्‍यौँ। पैसा पायो भने गइहाल्ने, ‘लोभी’। इस्टिच्युसनप्रति लोयल्टी नै छैन। शत्रुकोमा गएर एनेस्थेसिया दियो। पैसा भए भइहाल्यो नि हैन। ब्रेन स्टिच गर्ने ठाउँमा एनेस्थेसिया दिन्थे।

मिस्टर हाइडले मलाई त्यो बेलामा अर्को पनि आइडिया दिनुभयो। सबै सेटअप हेरेपछि। म त एकाडेमिक ब्याकग्राउण्ड, बाहिरबाट पढेर आएको। उहाँले टिचिङ हस्पिटल पनि हेर्न जान्छु भन्नुभयो। टिचिङ हस्पिटलमा त्यो बेला न्युरो सर्जरी थिएन। त्यहाँका बिरामी हाम्रैमा पठाउने चलन थियो। उहाँले टिचिङ हस्पिटल हेरेर आएपछि मलाई के भन्‍नुभयो भने ‘वीर हस्पिटलमा टिचिङ छैन, टिचिङ मेडिकल कलेज हो। ‘सुनर अर लेटर, त्यहाँ न्यूरो सर्जरी डेभलप गर्नुपर्छ। त्यहाँ भयो भने एकेडेमिक प्रोगाम चलाउन सजिलो पनि हुन्छ। त्यसो भए तिमी त्यहाँ पनि ‘इन्भल्ब’ हुन थाल’ भन्‍नुभयो।

म फर्केर आएको झण्डै एक वर्ष भइसकेको थियो। मैले अप्रोच गरेँ। एउटा चिठी पनि लेखेर पठाएँ। ‘म वीर हस्पिटलमा न्यूरो सर्जरी  डेभलप गर्दैछु, काठमाडौँमा अहिले एउटा मात्र चाहिन्छ। कि मलाई डेभलप गर्न दिनुहोस्, कि तपाईहरु डेभलप गर्ने हो भने म त्यही आउछुँ।’  जेन्यून अफर थियो त्यो।

ठूलो राम्रो युनिट बनाउँ त्यो। मैले त्यही लेखेर पठाएँ। त्यो बेलाको डिनलाई त्यो अफर ठीकै लाग्यो, तर उहाँले त्यो अफरमा ‘एक्ट’ गर्नुभएन। मलाई त्यसको साटो भिजिटिङ् एसोसिएट प्रोफेसर दिनुभयो। त्यो पनि बडा कन्ट्रोभर्सियल, जुनियर, क्वालिफिकेसन कम भएकाहरुलाई भिजिटिङ एसोसिएट प्रोफेसर दिने चलन थियो। मलाई दिन त दिनुभयो तर भिजिटिङ एसोसिएट प्रोफेसर। त्यो पनि धेरै गरेँ भन्नुहुन्थ्यो। वास्तवमा मैले जिन्दगीमा पाउनेभन्दा धेरै पाएकै छैन, ‘आइ गेट लेस देन ह्वाट आइ डिजर्भ इन लाइफ।’

त्यसपछि मैले पढाउन थालेँ, टिचिङमा पनि क्लास लिन्थेँ। रेगुलर समयमा क्लास लिन टाइम नभएकाले उहाँहरुले मलाई बिहान क्लास लिन लगाउनुहुन्थ्यो। जाडोको बेलामा बिहान ८ बजेदेखि ९ बजेसम्म टिचिङमा क्लास लिन्थेँ। मेरो बाटो पनि त्यही पर्थ्यो। अनि म वीर हस्पिटल जाने गर्थेँ। दुई वर्षजति त्यसरी पढाएँ। त्यसपछि विस्तारै उहाँहरुले आफ्नै न्युरो सर्जरी डेभलप गर्ने प्लान गर्नुभयो। त्यसमा मेरो कुनै पनि ‘अब्जेक्सन’ छैन। तर मैले ‘अफर’ गरेको कुराचाहिँ रेकर्डमा जानुपर्छ।

सायद त्यो युनिट सुरुमा त्यहीँ डेभलप गरेको भए अर्कै तरिकाले जान्थ्यौँ होला। तर ठीकै छ, सबै ठाउँमा एकै जनाले गर्न सक्ने कुरा पनि भएन। मिस्टर हाइडले देखिसक्नुभएको थियो त्यो। त्यही अनुसार मलाई सल्लाह दिनुभयो। अहिले पनि सम्झदाँ त्यो मान्छेले कति देखेको रहेछ भन्‍ने लाग्छ।

सर्भिसको ‘डिफिसेन्सी’ पनि देख्‍नुभयो, ‘फ्युचर’ पनि देख्‍नुभयो र मलाई सल्लाह पनि दिनुभयो। त्यसपछिको तीन-चार वर्ष मैले वीर हस्पिटलमा आँखा चिम्लेर काम गरेँ। आफ्नो प्रमोसन नहुने देखिहालेँ। सेकेण्ड क्लास नहुने देखिहालेँ। तर कमसेकम काम गर्न दिनुभएको छ, त्यसैमा सन्तुष्ट भएर बसेँ। नेपाल फर्केर आएको ६ महिनासम्म मैले ‘प्राइभेट प्राक्टिस’ गरिनँ। वीर हस्पिटलमा कन्सन्ट्रेट गरेँ। वीर हस्पिटलको सम्पूर्ण डिपार्ट ‘प्राक्टिस’ गरेपछि विस्तारै प्राइभेट प्राक्टिस गर्नुपर्‍यो भनेर क्लिनिक खोलेँ, केही आम्दानी पनि आवश्‍यक थियो मेरा लागि त्‍यतिबेला।

यो पनि पढ्नुहोस्

जेष्ठ २५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्