आजको मौसम

यो वर्षको मनसुन भित्रियो, खेतीपातीका लागि आवश्यक पानी पर्ने

काठमाडौँ – यो वर्षको मनसुन पूर्वबाट नेपाल भित्रिएको छ । पूर्वी वायु सक्रिय भएर बंगलाको खाडीबाट जलवाष्प युक्त हावा आउन थालेको र यो वर्षको मनसुन शुक्रबार बेलुकादेखि पूर्वबाट नेपाल भित्रिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सामान्यतया जुन १० देखि मनसुन सुरु हुने गरेकोमा यो वर्ष त्यो भन्दा दुई दिनअघि नै मनसुन भित्रिएको मौसमविद गंगा नगरकोटीले जानकारी दिइन् । पूर्वी वायु सक्रिय भएको र बंगलको खाडीबाट मनसुनका लागि चाहिने जलवाष्प युक्त हावा आउन थालेको उनले बताएकी छन् ।

अबको केही दिनमा पूर्वबाट बिस्तारै पश्चिमसम्मै मनसुन फैलने अनुमान गरिएको मौसमविदले बताएका छन् । यो वर्षको मनसुनमा सामान्य पानी पर्ने देखिएको छ । यसको अर्थ मनसुन अवधिमा खडेरी पर्ने सम्भावना अलि कम रहेको छ ।

तर मनसुनको बिचतिर केही समय पानी पर्ने क्रममा कम हुन भने सक्ने मौसमविद नगरकोटीले बताइन् । तर खेतीपातीका लागि चाहिने पानी यो वर्षको मनसुनमा पर्ने सम्भावना देखिएको छ ।

मनसुन भित्रिएपछिको पहिलो दिन शनिबार देशभरको मौसम सामान्यतया बदली हुने र पानी पर्ने सम्भावना छ । पूर्व, मध्य र पश्चिम सबै क्षेत्रमा बदली भइ पानी पर्ने सम्भावना रहेको मौसमविदले बताएका छन् ।

जेठ २६, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्