विश्वकप २०१८

यो विश्वकपमा कुन समूह कस्तो, कुन टिमलाई कठिन ?

विश्व फुटबलको महामेला विश्वकप फुटबल रुसमा अबको पाँच दिनपछि सुरु हुनेछ । विश्व फुटबलको प्रशासकीय निकाय फिफाले दुई दिनअघि विश्वकप पहिलेको अन्तिम बरियता सार्वजनिक गरेको थियो ।

त्यो बरियतामा चार वर्षअघिको विजेता शीर्ष स्थानमा कायम रह्यो भने विश्वकप खेल्ने मध्ये सबै भन्दा तल आयोजक रुस देखियो ।

विश्वकपमा ३२ देशलाई ८ समूहमा विभाजन गरिएको छ । समूह चरणको खेलबाट समूहको शीर्ष दुईमा रहने १६ देश अघिल्लो चरण अर्थात नकआउट चरणमा पुग्ने छन् ।

समूह चरण पार गर्नकै लागि धेरै टिमलाई ठूलो संघर्ष गर्नु पर्छ । तर भर्खरै सार्वजनिक भएको विश्व बरियताले हरेक समूहमा रहेका तुलनात्मक रुपमा बलिया टिम र उनीहरुको अघिल्लो चरण पुग्ने सम्भावना आँकलन गर्न सकिन्छ ।

तर यो बरियता भन्दा पनि टिमले मैदानमा गर्ने प्रदर्शन र त्यसका लागि अपनाइएको रणनीति प्रमुख रहन्छ ।

तर हामीले विश्वकपका रहेक समूहका टिमको बरियता र औसत बरियताको विश्लेषण गरी अघिल्लो चरण पुग्ने सम्भावित टोलीका बारेमा चर्चा गर्दैछौँ ।

समूह ए


औसत बरियता : ४९
उरुग्वे (१४)
इजिप्ट (४५)
साउदी अरेबिया (६७)
रुस (७०)

आयोजक राष्ट्र भएकोले रुसले विश्वकप छनौटका लागि खेल्नु परेन र अरु प्रक्रिया पनि भाग लिन परेन बाँकी टिमले जस्तो । त्यहि कारण उसको फिफा बरियतामा त्यस्तो सुधारको अवस्था देखिएको छैन ।

विश्वकप खेल्न ३२ देश मध्ये सबैभन्दा तल्लो बरियतामा रहेको टिम हो रुस । समूह ए मा उरुग्वे बरियताको सबैभन्दा माथि रहेको छ । अरु टिम भने अलि तल नै छन् । यसले समूह ए को औसत बरियता ४९ रहेको छ ।

बरियताका आधारमा हेर्ने हो भने यो समूहबाट अघिल्लो चरण पुग्नेमा उरुग्वेको नाम सबैभन्दा अघि रहेको छ । बाँकी एक स्थानमा इजिप्ट, साउदी अरेबिया र रुसको सम्भावना उस्तै उस्तै छ भन्न मिल्ने अवस्था छ । तर पनि इजिप्टलाई बलियो दाबेदारका रुपमा हेर्न सकिन्छ ।

समूह एच


औसत बरियता : २८
पोल्याण्ड (८)
कोलम्बिया (१६)
सेनेगल (२७)
जापान (६१)

पछिल्लो बरियतामा राम्रो सुधार गरेको पोल्याण्ड र कोलम्बिया रहे पनि यो समूह विश्वकपका ८ समूह मध्ये सबैभन्दा कम औसत बरियता रहेकोमा दोस्रो स्थानमा छ ।

यो समूहमा विश्वकप खेल्ने ३२ देश मध्ये बरियतामा पछि रहेने देशको तेस्रो नम्बरमा छ । बाँकी तीन टिम भने बरियातालाई आधार मान्दा बलिया छन् ।

यस समूहबाट पोल्याण्ड तथा कोलम्बियाको अघिल्लो चरण जाने सम्भावना देखिन्छ । तर सेनेगल र जापानको चुनौती पनि उस्तै छ ।

समूह एफ


औसत बरियता : २४.२५
जर्मनी (१)
मेक्सिको (१५)
स्वीडेन (२४)
दक्षिण कोरिया (५७)

विश्व विजेता र बरियताको शीर्ष स्थानमा रहेको जर्मनी भएको समूह हुँदा हुँदै पनि कम औसत बरियता हुने समूहको तेस्रो नम्बरमा छ समूह एफ । जर्मनी सन् २०१८ को अहिलेसम्म शीर्ष स्थानमै छ ।

युरोप र उत्तर तथा मध्य अमेरिकी क्षेत्रका शीर्ष टोली जर्मनी र मेक्सिको यो समूहका बलिया टिम हुन् । तर स्वीडेनको चुनौती निकै कडा हुने देखिन्छ । तर एसियाली देश दक्षिण कोरियाको अवस्था भने के हुन्छ हेर्नै पर्ने हुन्छ ।

समूह डी


औसत बरियता : २३.७५
अर्जेन्टिना (५)
क्रोएसिया (२०)
आइसल्याण्ड (२२)
नाइजेरिया (४८)

विश्वकपका ८ समूह मध्ये औसत समूह हो यो । यसमा पहिलो पटक विश्वकप खेल्न लागेको आइसल्याण्ड छ भने उपाधि दाबेदार मानिएको अर्जेन्टिना पनि । यसैगरी क्रोएसिया र नाइजेरियाको चुनौती पनि कडा हुनेछ ।

यसले गर्दा अर्जेन्टिनामाथि अधिकांसको विश्वास छ । अर्को एक देश जो यो समूहबाट अघिल्लो चरण जाने छन्, त्यसका लागि भने तीनै देशको सम्भावना उस्तै देखिन्छ । तर आइसल्याण्डले दुई वर्षअघिको युरोकप फुटबलमा जस्तै राम्रो प्रदर्शन गर्ने अपेक्षा पनि छ ।

समूह बी


औसत बरियता : २३
पोर्चुगल (४)
स्पेन (१०)
इरान (३७)
मोरक्को (४१)

दुई बलिया र बाँकी दुई औसत टिम रहेको समूह हो यो । यसमा विश्व बरियतामा चौथो नम्बरमा रहेको तथा दुई वर्षअघिको युरोकप विजेता पोर्चुगल तथा ८ वर्षअघिको विश्व विजेता स्पेन छन् ।

इरान र मोरक्कोले पनि राम्रो प्रदर्शन गर्दै आएका देश हुन् । यो विश्वकपको कठिन समूह मध्ये एक हो।

समूह जी


औसत बरियता : २२.७५
बेल्जियम (३)
इंग्ल्याण्ड (१२)
ट्युनिसिया (२१)
पानामा (५५)

पहिलो पटक विश्वकप खेल्न लागेको पानामासहितको समूह जी औसत बरियतामा राम्रो रहेको देखिन्छ । यो समूहबाट बेल्जियम र इंग्ल्याण्डको सम्भावना बरियता हेर्दा अघिल्लो चरण पुग्ने बढी छ ।

तर ट्युनिसियाले चुनौती दिने र पानामाले विशवकपमा छनौट हुने क्रममा जस्तै बलिया टिमलाई चित्तखुवाउन सक्ने सम्भावना भने छ । यो समूहको इंग्ल्याण्ड सन् १९६६ को विश्व विजेता हो । यसलाई यो विश्वकपको कठिन समूहको रुपमा हेरिएको छ ।

समूह सी


औसत बरियता : १६.५
फ्रान्स (७)
पेरु (११)
डेनमार्क (१२)
अस्ट्रेलिया (३६)

सबै उस्तै उस्तै टिम रहेको समूह हो यो । यसमा रहेको फ्रान्सलाई सम्भावित विजेताको रुपमा हेरिएको छ । यस्तै चिलीलाई जिल्याउँदै ३६ वर्षपछि विश्वकपको यात्रा तय गरेको र युरोपको बलियो टिम मध्येको एक डेनमार्क पनि रहेकाले यो समूह कठिन छ ।

यस्तै अस्ट्रेलिया पनि आफ्नो क्षेत्रको बलियो टिम हो । फ्रान्स २० वर्षअघिको विश्व विजेता हो । फ्रान्स अघिल्लो चरण पुग्नेमा धेरै ढुक्क छन् तर अर्को टिम कुन हुने छ भन्ने चाहिँ आँकल गर्न निकै कठिन छ ।

समूह ई


औसत बरियता : १६.२५
ब्राजिल (२)
स्वीट्जरल्याण्ड (६)
कोस्टारिका (२३)
सर्बिया (३४)

यो औसत बरियताका आधारमा रुस विश्वकपको सबैभन्दा कठिन समूहको रुपमा रहेको छ । चार वर्षअघिको आयोजक तथा त्यसमा नमिठो अनुभव लिएको ब्राजिल जो अहिले विश्व बरियताको दोस्रो नम्बरमा छ, उसलाई विश्वकपको बलियो दाबेदारको रुपमा हेरिएको छ ।

दक्षिण अमेरिकी क्षेत्रको जाइन्टकै रुपमा रहेको ब्राजिल बाहेक यो समूहमा रहेको युरोपेली देश स्वीट्जरल्याण्ड पनि उस्तै बलियो छ । तर कोस्टारिका र सर्बियाको चुनौती पनि थेग्न असजिलो हुने खालकै भएकाले यसै भन्न कठिन छ ।

जेठ २६, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्