विश्वकप २०१८ : उत्कृष्टताको होड

विश्वकपका विशेष पाँच खेलाडी

तस्बिर : गेट्टी इमेज

विश्वकप फुटबल रुसमा पाँच दिनपछि सुरु हुँदैछ । फुटबलको महामेलामा ३२ देश र ती देशका ७३६ खेलाडी उत्कृष्ट बन्ने प्रयासमा हुने छन् । सबै देशका टिमको घोषणा भएको छ र कतिपय टिम रुस पुगि पनि सकेका छन् ।

जुन १४ बाट सुरु हुने फुटबल महा मेलाको विजेता बनेर आउने टिम र त्यसका नायक खेलाडीहरुको टुंगो जुलाई १५ सम्ममा लाग्ने छ । यो विश्वकप फुटबल टिमका लागि त महत्वपूर्ण छ नै त्यस्तै महत्वपूर्ण छ उत्कृष्टताको होडमा रहेका खेलाडीहरुका लागि पनि ।

विश्व फुटबलको प्रशासकीय निकाय फिफाले हरेक वर्ष वर्षभरिको प्रदर्शनको आधारमा उत्कृष्ट वर्ष खेलाडीको छनौट गर्नेछ र द बेष्ट फिफा फुटबल अवार्ड प्रदान गर्छ ।

सन् २०१८ को संस्करण आउँदो सेप्टेम्बर २४ मा लण्डनमा हुनेछ । तर यसको आधार भने विश्वकपले तय गर्नेछ ।

भर्खरै सकिएको सिजनमा क्लबमा गरेको प्रदर्शनले एउटा आधार तयार गरेको छ । उत्कृष्टताको होडमा रहेका खेलाडीलाई रुस विश्वकप त्यसको अन्तिम र सबैभन्दा महत्वपूर्ण अवसर हो ।

फुटबलममा विश्वकै ठूलो व्यक्तिगत अवार्डका लागि केही उत्कृष्ट फुटबलरको चर्चा छ । फिफा वर्ष उत्कृष्ट खेलाडी बन्नका लागि सबै भन्दा अघिल्लो पंक्तिमा रहेका र रुस विश्वकपमा आफूलाई थप प्रमाणित गर्न तम्सिने पाँच खेलाडीका बारेमा यहाँ चर्चा गर्दैछौँ ।

क्रिष्टियानो रोनाल्डो । तस्बिर : गेट्टी इमेज

क्रिष्टियानो रोनाल्डो, पोर्चुगल


अहिलेका र यो भन्दा अघिल्लो वर्षका पनि फिफा वर्ष खेलाडी हुन्, पोर्चुगलका क्रिष्टियानो रोनाल्डो । ३३ वर्षका रोनाल्डोले चौथोपटक विश्वकप खेल्दै छन् । रोनाल्डोले दुई वर्षअघि युरोकपको ऐतिहासिक उपाधि जित्दा पोर्चुगलको नेतृत्व गरेका थिए ।

दुई वर्षपछि त्यो भन्दा ठूलो यात्रामा पनि पोर्चुगल उनकै कप्तानीमा खेल्दैछ । रोनाल्डो आफ्नो नेतृत्वमा पहिलो विश्वकप उपाधि जितेर फेरि अर्को उचाइ लिन चाहन्छन् ।

रोनाल्डोको पोर्चुगलले रुस विश्वकपको सुरुवात जुन १५ मा सोचीमा स्पेनसँगको खेलबाट गर्नेछ । उसले मस्कोमा मोरक्को तथा सारान्स्कमा इरानसँग खेलेर समूह बी को यात्रा सक्नेछ । इरान पोर्चुगल तथा रियल मड्रिडका पूर्व प्रशिक्षक कार्लोस क्वेइरोजको प्रशिक्षणमा खेल्नेछ ।

रोनाल्डोले क्लब प्रतिस्पर्धामा यो सिजन च्याम्पियन्स लिगमा निकै राम्रो प्रदर्शन गर्दै रियल मड्रिडलाई लगातार तेस्रो सिजन च्याम्पियन्स लिगको उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका छन् ।

तस्बिर : गेट्टी इमेज

लियोनल मेस्सी, अर्जेन्टिना


विश्व फुटबलका यो शताब्दीका उत्कृष्ट खेलाडी लियोनल मेस्सीको टिम अर्जेन्टिना गएको विश्वकपमा उपाधि नजिकै पुगेर चुक्यो ।

मेस्सीका लागि राष्ट्रिय टिमबाट सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय उपाधि उचालेर आफूमा अपुरो रहेको पक्ष पूरा गर्ने मौका चार वर्षअघि गुम्यो, फाइनलमा जर्मनीसँग १ ० ले पराजित भएर । तर फेरि चार वर्षपछि मेस्सीका लागि त्यो अवसर बन्न सक्छ रुस विश्वकप ।

१० नम्बर जर्सी लगाउने मेस्सीका लागि त्यस पछिको वर्ष पनि खासै राम्रो रहेन । महादेशीय प्रतिस्पर्धामा पनि अर्जेन्टिना अन्तिममा गएर चुक्यो । त्यसपछि उनले अप्रत्यासित रुपमा सन्यासको घोषणा गरे र विश्वभरका फुटबल प्रेमीलाई गहिरो झड्का दिए ।

तर फेरि उनले सन्यासको घोषणा फिर्ता लिएर आफ्नो जिम्मेवारीमा फर्किए । त्यसपछि उनले आफू बाँकी रहेको केही चिज लिनकै लागि आएको भन्ने पनि देखाए ।

विश्वकपमा छनौट नहुने हो कि भन्ने जोखिममा रहेका बेला इक्वेडरसँगको खेलमा ह्याट्रिक गरेर मेस्सीले अर्जेन्टिनालाई विश्वकपको बाटो देखाए ।

मुख्यगरी मेस्सीकै बलबुतामा विश्वकपको यात्राका लागि छानिएको अर्जेन्टिनाले त्यो यात्राको सुरुवाति पहिलो पटक विश्वकप खेल्न लागेको आइसल्याण्डसँगको खेलबाट गर्दैछ । समूह डी मा रहेको मेस्सीको कप्तानीको टिम अर्जेन्टिनाले क्रोएसिया र नाइजेरियासँग प्रतिस्पर्धा गर्नेछ ।

भर्खरै सकिएको सिजनमा मेस्सीले क्लब फुटबलमा फेरि अर्को सफलता हात पारे । उनको टिम बार्सिलोनाले स्पेनिस ला लिगाको उपाधि जित्यो । उनी ला लिगामा सिजनको सर्वाधिक गोलकर्ता बने । अब उनको नजर रुस विश्वकपमा छ र बाँकी रहेको एउटा खुड्किलो उक्लने ध्यान पनि ।

तस्बिर : गेट्टी इमेज

थोमस मुलर, जर्मनी


जर्मनीका थोमस मुलरले यसअघि नै अन्तर्राष्ट्रिय स्तरमा धेरै ठूला उपलब्धी पाएका छन् । चार वर्षअघि जर्मनीलाई विश्व विजेता बनाउने क्रममा उनको भूमिका महत्वपूर्ण थियो ।

उनले ८ वर्षअघि दषिण अफ्रिकामा भएको विश्वकप फुटबल २०१० मा सर्वाधिक गोलकर्ता बन्दै गोल्डेन बुट पाएका थिए । यस्तै उनले चार वर्षअघिको ब्राजिल विश्वकपमा सिल्भर बुट पाए र उनको टिमले विश्वकपको उपाधि जित्यो । उनी चाहिएको बेलामा गोल गर्न खप्पिस छन् ।

योआखिम लोको टिम जर्मनीलाई फेरि एक पटक विश्व विजेता बनाएर लगातार दोस्रोपटक यस्तो गर्ने ब्राजिल पछिको दोस्रो टिम तथा समग्रमा पाँच पटक उपाधि जित्ने पनि ब्राजिलपछिको दोस्रो टिम बनाउन सकेमा उनी सेप्टेम्बरमा हुने फिफा बेष्ट अवार्डमा सबैभन्दा अघि हुनेछन् ।

तस्बिर : एएफपी

नेइमार, ब्राजिल


चार वर्षअघि घरमै भएको विश्वकपमा नेइमारको टिम ब्राजिललाई उपाधिको बलियो दाबेदार मानिएको थियो । तर सपनाजस्तै बन्यो, जब क्वाटरफाइनलमा नेइमार चोटग्रस्त भए ।

त्यसपछि मनोबल गिरेको टिम ब्राजिलले विश्वकप इतिहासमै सेमिफाइनलमा नराम्रो हारको नमिठो स्वाद लियो, जर्मनीसँग ७ १ ले पराजित भयो ।

तर अहिले चार वर्षअघिको त्यो नमिठोको सावाँ र ब्याजसहित मिठो स्वाद असुल गर्ने तयारीका साथ ब्राजिलियन टिम तयार भएको छ । यसको बलिया हस्ती हुन् विश्वका सबैभन्दा महंगा खेलाडी नेइमार ।

उनी अहिले चोटबाट मुक्त भएर मैदान फर्किएका छन् । झण्डै तीन महिना मैदान बाहिर रहेका नेइमारले अभ्यास खेलमा आफू विश्वकपका लागि तयार रहेको र चार वर्षअघिको अधुरो सपना पूरा गर्नका लागि आतुर रहेको संकेत गरिसकेका छन् ।

फिफा उत्कृष्ट वर्ष खेलाडी अवार्डमा गएको वर्ष तेस्रो स्थानमा रहेका नेइमार यो वर्ष ब्राजिललाई विश्वकप उपाधिसम्मको यात्रा तय गराउँदै सबैभन्दा अघि हुने होडमा छन् ।

ब्राजिलले रुस विश्वकपको सुरुवात स्वीट्जरल्याण्डसँगको खेलबाट गर्ने छ । उसले कोस्टारिका र सर्बियासँग खेलेर समूह इ को यात्रा टुंग्याउने छ ।

तस्बिर : गेट्टी इमेज

मोहम्मद सालह, इजिप्ट


लिभरपुलका इजिप्टियन किंग मोहम्मद सालहले भर्खरै सकिएको सिजनमा निकै राम्रो प्रदर्शन गरे । उनले प्रिमियर लिगका ३६ खेलमा ३२ गोल गरे र सिजनको मात्रै होइन आधुनिक प्रिमियर लिगको एक सिजनमा धेरै गोल गर्ने खेलाडी बने ।

यस्तै लिभरपुललाई च्याम्पियन्स लिगको फाइनलसम्म ल्याउने क्रममा उनले १० गोल गरेका छन् । उनले कंगोसँगको खेलमा गरेको उत्कृष्ट गोलकै कारण इजिप्टले विश्वकप यात्रा तय गर्न सक्यो । उनकै जोडबलमा इजिप्टले २८ वर्षपछि विश्वकप खेल्दैछ ।

उनी च्याम्पियन्स लिग फाइनलको क्रममा चोटग्रस्त भएर अहिले मैदान बाहिर छन् । तर उनी इजिप्टको टिममा छन् र समूह चरणकै केही खेलमा उनी मैदानमा हुने छन् ।

यदि उनले क्लब फुटबलको राम्रो लय राष्ट्रिय टिमबाट अन्तर्राष्ट्रिय रंगशालमा कायम राख्न सके भने आउँदो सेप्टेम्बरमा लण्डनमा हुने फिफा बेष्ट अर्वाडमा उनको नाम सबैभन्दा अघि रहने लगभग निश्चित हुनेछ ।

स्रोत : फिफा डट कम

जेठ २६, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्