उत्पात गर्मीमा १२ घन्टा लोड सेडिङ्गको मार

अनारमनी वितरण केन्द्रमा विग्रेको १६ एमभिएको ट्रान्सफर्मर।

विर्तामोड – केही दिनदेखिको उत्पात गर्मीमा झापाका सर्वसाधारणले १२ घन्टाको लोड सेडिङ्गको मार खेप्नु परिरहेको छ।

नेपाल विद्युत प्राधिकरणको अनारमनी वितरण केन्द्रको दुईवटा ट्रान्सफर्मरमध्ये एउटा विग्रेकाले एउटाबाट मात्र विद्युत आपूर्ति गर्नुपर्ने भएकाले १२ घन्टा लोड सेडिङ्ग गर्नुपरेको केन्द्रका प्रमुख जितेन्द्रकुमार झाले बताए।

दुईदिन अघि राति एक्कासी एउटा १६ एमभिए क्षमता भएको ट्रान्सफर्मरमा खराबी आएको केन्द्र प्रमुख झाले बताए।

उनले भने, ‘हामीले मर्मत गरेर चलाउने प्रयास गर्यौं तर धेरै पुरानो भएकाले काम गरेन। अब यसलाई आजै हामी मर्मतका लागि हेटौडा पठाउँदैछौं।’ उनले नयाँ ट्रान्सफर्मर आइसकेको तर त्यसलाई सञ्चालनमा ल्याउन कम्तीमा ४८ घन्टा लाग्ने जानकारी दिए।

उक्त केन्द्रले १६ एमभिएका दुईवटा ट्रान्सफर्मरले विद्युत आपूर्ति गर्दै आएको थियो। एउटा विग्रिएपछि अहिले झापाका शनिश्चरे, अर्जुनधारा, चारआली, सुरुंगा, झापा गाउँपालिका, बाह्रदशी लगायत क्षेत्रमा विद्युत आपूर्ति अवरुद्ध हुन पुगेको हो।

सबैतिर एउटै ट्रान्सफर्मरले आपूर्ति गर्नुपर्ने हुँदा चर्को लोड सेडिङ गर्नु परेको केन्द्र प्रमुख झाको भनाई छ। अहिले ४ घन्टा विद्युत दिने र ४ घन्टा काट्ने गरिएको छ।

जेठ २६, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्