साउदीको आजीवन काराबास छिचोल्दै नेपाल फिर्ता

विमानस्थलमा आमाछोराको भेट बन्यो पुनर्जन्मजस्तो

विमानस्थलमा आमाछोराको भेट बन्यो पुनर्जन्मजस्तो

त्रिभूवन अन्तिर्राष्ट्रिय विमानस्थलमा परिवारका साथमा थानेश्वर भुसाल। तस्बिरः सुलभ श्रेष्ठ/देश सञ्चार ।

काठमाडौँ– साउदीको आजीवन काराबासबाट थानेश्वर फर्किने भएपछि शुक्रबार साँझ यमकला भुसाल काठमाडौं आइन्। नवलपरासीको मध्यबिन्दुबाट कान्छो छोरो र छोरीसहित आएकी यमकला गंगबु बसपार्कमा ओर्लिनासाथ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलतिर लागिन्।

उनीहरु विमानस्थल पुग्दा साँझको साढे सात बजेको थियो। थानेश्वर आउने एयरपोर्ट समय ८ः१० को। अलि छिटै पुगेकाले उनीहरु यात्रु कक्षमा गएर बसे। यात्रु कक्षमा २/४ वटा बाहेक सबै कुर्सी विदेशबाट फर्किनेलाई पर्खिने आफन्तहरुले भरिएका थिए। त्यो भीडमा थानेश्वरका आफन्तको प्रतिक्षा अर्कै थियो।

होटाइलो मोटाइलो जिउ, डोरीले बेरिएका ठुल्ठूला सुर्केस गुडाउँदै आउनेहरुका आफन्तको भन्दा छुट्टै। अनि, ती बाकसमा थुनिएर आउने आफन्तहरुको जस्तो पनि हैन, निक्कै फरक प्रतीक्षा ।

छोरोसँग भेटै नहुने खबर पहिल्यै आएको थियो। यमकलालाई भने त्यस्तो त हुन्छ जस्तो लाग्दैनथ्यो। नभन्दै यमकलाले चाहेकै जस्तो बन्यो परिस्थिति, अनि आमा छोराको भेट बन्यो पुनर्जन्म जस्तै।

थानेश्वर आउने भएपछि उद्धारमा सहयोग गर्ने संस्थाका मान्छे पनि पुगेका थिए। सबैजना त्यहाँ नअट्ने र छुट्टै खालका गफ पनि हुने भएकाले बाहिर निस्केर गफ गर्ने सल्लाह भयो। यतिबेला सवा ८ भएको थियो।

थानेश्वरलाई स्वागत गर्न गएका सबैजना यात्रु कक्षबाट बाहिर निस्कँदै थिए। त्यतिनै बेला थानेश्वरकी दिदीले देखि हालिन्– ‘उ बाबु आयो । आमा…बाबु ।’ त्यसपछि यमकला र दिदीले झाँक हाले। पीडा लुकाएर फिस्स हाँस्दै बाहिरिएका थानेश्वरले यात्रु कक्षको ढोका नजिकै आमा र दिदीका खुट्टा ढोगे।

दिदीले मन थाम्न सकिनन्, सुँकसुकाउन थालिन्। सायद यी खुशीकै आँसु थिए। आँखा टिलपिल भएपनि यमकलाको पनि अनुहारमा पीडा देखिदैनथ्यो।

हुन त ६ वर्ष साउदी बस्दा पनि थानेश्वरले परिवारलाई खुशी पार्ने चिनो समेत ल्याउन सकेनन्। उनको साउदी बसाइ त्यस्तै भयो। उनले बोकेको झोलाले त्यही भन्थ्यो। आफूले पनि फित्ते चप्पल नै लगाएका थिए।

२०६८ सालको असोज ६ गते साउदी पुगेका थानेश्वरको सपना र चाहना गाडी चलाउनु मात्रै थिएन। परिवार पनि सँगै चलाउनु थियो। सायद अरु पनि यस्तै केही सोचेका थिए होलान्!

तर साउदीको लामो बसाइ त्यस्तो भएन। न गाडी नै लामो समय चलाउन पाए, न त परिवारका दिन फिरे। साउदी पुगेको १० महिनापछि थानेश्वरले चलाउने गाडी दुर्घटनामा पर्‍यो। त्यही कारण उनले जाँदा देखेका, सोचेका कुराहरु पनि साउदीबाट फर्किंदा सकुशल रहेनन्।

त्यही गाडी दुर्घटनामा दुई जना बिते। थानेश्वरलाई गम्भीर चोट लाग्यो, बेहोस् भए। थानेश्वरले चलाउने गाडीलाई पछाडीबाट आएको अर्को गाडीले ठक्कर दियो। ठक्कर दिने गाडीका चालक भारतीय नागरिक इसम साहिव बिते, उनले चलाउने गाडी पल्टिएर साउदीका नागरिक रजजमान अलजदानीको ज्यान लियो।

थानेश्वर त उपचार गरेपछि होस् फिर्‍यो, सन्चो भए। बरु त्यसको तीन दिनपछि सुनेको खबरले यमकलालाई भने बेहास् जस्तै बनायो। विमानस्थलमा शुक्रबार राति छोरालाई स्वागत गरिसकेपछि यमकलाले त्यो दिन सम्झिन्– ‘सुरुमा आएको फोन छोरो नबोलेपछि बुहारीले उठाइनछ। पछि मैले नै, हैन जो भएपनि कुरा गर्नुपर्छ भनेर फोन गर्न लगाएँ। नौबिसेका छोराका साथीहरु बोले। अनि थाहा पायौं घटना घटेको।’

थानेश्वरलाई दुर्घटनापछि त्यसैको दोषी बनाउँदै प्रहरीले पक्रियो। जेल परेको खबर सुनिसकेपछि यमकला उनलाई छुटाउन पहल गर्न एकहप्तापछि नै काठमाडौं आइन्। त्यसपछि उनको उद्धारका लागि पहल सुरु भएको थियो, नेपालमा। तर साउदीको अदालतले उनलाई १० महिना जेलमा राख्न आदेश दियो।

त्यो दश महिना जेल बसेर थानेश्वर निस्किए। जेलबाट निस्किएपछि उनलाई त्यहाँ काम गर्न मन लागेन। घर आउने सुरसार गर्न थाले। तर त्यही बेला कम्पनीले उनको लाइसेन्स नभएको भन्दै फेरि मुद्दा हाल्यो। थानेश्वर जेलमा बसे मृतकका परिवारलाई तिर्नुपर्ने आर्थिक सहायता कम्पनीलाई सहज हुन्थ्यो। कम्पनीले त्यही प्रपञ्च मिलायो। घर आउने सुरसार कसेका थानेश्वरलाई फेरि भने अदालतले आजीवन कारबासको सजाय सुनायो।

त्यसपछि थानेश्वरको जेल बसाइ फेरि लम्बियो। थानेश्वर भन्छन्– ‘साउदीको जेल साह्रै गाह्रो हुँदोरहेछ, झनै मलाई त फर्किन पाउने कि नपाउने चिन्ता। अरु १० वर्षदेखि जेलमा रहेकाहरुलाई हेरेर चित्त बुझाउँथेँ।’

लगभग नेपाल आउने सम्भावना सकिएका थानेश्वर जेलमै हुँदा पनि परिवारसँग भने कुरा गर्थे। ‘सुरु सुरुमा त फर्किन्छु होला तपाईंहरु पनि त्यहाँ पहल गर्दै गर्नू। मैले गल्ती गरेको छैन भन्थें। समय बित्दै जाँदा अब यतिकै बित्ने भयो भन्ने पनि लाग्थ्यो’, उनले सुनाए।

पछि अदालतले करिव ४५ लाख रुपैयाँ ब्लडमनी तिरेर नेपाल आउन पाउने बाटो खोल्यो। त्यो रकम परिवारले जुटाउनु पर्नेभयो।

सुरुसुरुमा त यमकलालाई लाग्थ्यो– जसरी पनि छोरो फर्काउँछु। हिम्मत गरिन्, आफूले ठम्याएजति मान्छेलाई भनिन् । तर उनले सोचजस्तो, कसै गरिपनि छोरो फर्काउन नसक्ने देखिन्। यमकला हिम्मत हार्दै गइन्।

उनले ६ जना ज्योतिषिलाई हेराइन्। कसैले असोजमा आउँछ छोरो, कसैले कात्तिकमा भने। यस्ता असोज र कात्तिक बित्दै गए, थानेश्वर फर्किएनन्। त्यसपछि लघुरुद्री लाउँछु भनेर भाकिन्। सातौं पटक पनि ज्योतिषिलाई हेराउन गइन्। ती ज्योतिषिले भने रुद्री लाउनुस्, चाँडै फैसला हुन्छ र संसार लागेर तपाईको छोरो निकाल्छन् भने। त्यसपछि यमकलाले रुद्री लगाइन्। नभन्दै त्यस्तै भयो।

अदालतले ब्लडमनीको फैसला गर्‍यो। त्यसपछि यमकलाले हारगुहार गरिन्। प्रवासी नेपाली समन्वय समितिले अग्रसरता देखायो, विभिन्न संघसंस्थाले सहकार्य गरे। देश विदेशका नेपालीले सहयोग गरे। ब्लडमनी जुट्यो।

 यमकला भन्छिन्– ‘मेरो छोरालाई त सबैले सहयोग गरेर ल्याइदिनुभयो । अब अरुका छोराछोरी यसरी नै विदेशमा जेल परेका छन् भने म पनि सकेको सहयोग गर्छु ।’

यमकलालले छोरो नेपाल निकाल्न देशविदेशका नेपालीको मात्रै सहयोग मागेकी थिइनन्। धेरै मठमन्दिरमा भाकल गरेकी छिन्।

शनिबार बिहानै संकटा मन्दिरमा छोरा–छोरीसहित गएर पूजा गरिन्। पूजाका लागि भनेर कालो कपडा र तोरीको तेल घरबाटै ल्याएकी थिइन्। यो मन्दिरमा पूजा गर्दा दसा काटिने विश्वास छ। सायद यमकलाको परिवारले पनि थानेश्वर आएपछि अब दसा काटेको ठान्यो।

त्यसपछि आजिवन कारावासबाट मुक्त भएर फर्किएको छोरो लिएर शनिबार दिउँसो नवलपरासीको गाडी चढिन्।

जेष्ठ २६, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्