सगरमाथा जित्ने छोरीहरु (शृङ्खला–१)

जो शिखरमा नपुगेरै पनि शिखरमा पुगेकी छन्

जो शिखरमा नपुगेरै पनि शिखरमा पुगेकी छन्

तस्बिरः सुलभ श्रेष्ठ/देश सञ्चार ।

काठमाडौँ–घरी पानीमुनि छिर्छिन् त घरी रंगशाला पुग्छिन्। ‘लाइफ भनेको एक्सपेरिमेन्ट गर्ने नै हो, जे जे पाइन्छ, त्यसको अनुभूति लिन छाड्नु हुन्न।’ काठमाडौँको व्यस्त शहरमा हुर्केको मान्छे जसले माटो चलाएको छैन, पानी पधेँरोको लागि डाँडा चढेको –झरेको छैन।

पहिला स्कूल जाँदा हो अलिकति हिँडेको, कलेज जानलाई स्कुटर आइहाल्यो। कुनै गन्तव्य भेट्न स्कुटर, बस, प्लेन उनका सहयोगी भएका थिए। तर एक्कासी उनी हिँडिन्, पहाड उक्लिन्, त्यो पनि विश्वकै सबैभन्दा अग्लो, सगरमाथामा। काठमाडौँ खाल्डोको अनामनगरमा बस्ने प्रियालक्ष्मी कार्कीले विश्वको अग्लो चुचुरोबाट संसार हेर्ने रहर गरिन्।

न्यूज २४ की पत्रकार हुन प्रिया, सन् २०१६ को सेप्टेम्बरबाट हिमाल चढ्ने पत्रकारहरुको खोजी भएको थाहा पाइन्। राष्ट्रिय समाचार समितिकी रोशा बस्नेतले हिमाल चढ्ने महिला पत्रकारको समूह छान्दै गरेको सुनेपछि त्यसमा छुट्नुको विकल्प उनले सोचिनन् र फाल हालिन सरगमाथा यात्रामा।

रोशा बस्नेत, देउराली चाम्लिङ्ग, रोजिता बुद्धाचार्य, कल्पना महर्जनसँगै उनको पनि हिमाल चढ्न दौडधूप सुरु भयो। सन् २०१७ को जुनबाट जोरपाटीमा कडा परिश्रम भयो। तालिम अवधिमा ३० किलो भन्दा बढी भारी बोकेर हिँड्ने, हाइकिङ जाने, पहाड चढ्ने अनि अरु पनि। जसले शारीरिक रुपमा उनलाई पहाड चढ्न योग्य बनाउँथ्यो, सबै क्रियाकलाप गरिन्। अभ्यास गर्नेदेखि लिएर अरुका अनुभव सुन्नेसम्म। अनि हिँडिन् उनी ५ साथीहरुको टोलीमा मिसिएर, उचाइमा ५ फिट भन्दा अलिकति अग्ली प्रिया ८ हजार ८ सय ४८ फिटको चुचुरोमा पुग्न।

‘दुई महिना भयो, अहिले त दिमाग खाली छ। चि…..सो हिमालबाट फर्केपछि बाहिर निस्किएको छैन।’ जेठको तेस्रो साता प्रिया र उनको टोली सगरमाथाको आरोहणबाट फर्केका हुन्। मंगलबार उनलाई भेट्न उनकै घर जाँदा भर्खर उठेकी थिइन्। ज्यान त्यति हलुका थिएन।

‘हिमालमा धेरै माइनस ४० डिग्री सेल्सियस थियो, यहाँ प्लस ३० डिग्री सेल्सियस जति छ तापक्रम, एडजस्टमेन्टमा पनि अलि समय लाग्छ जस्तो छ।’

एक वर्ष अगाडिको प्रियालक्ष्मीलाई मनैभरी उमंग थियो, ‘के होला, कसो होला।’ उनी सानो हुँदा काठमाडौँमा त्यति घर थिएनन्। छतबाट परपरका सेता हिमाल हाँसेको देख्दा के छ होला त्यहाँ भन्ने लाग्थ्यो, मनैमनले त्यहाँ हिमालको काखमा पुर्‍याउँथ्यो। तर प्रत्यक्ष भने उनले योभन्दा अगाडि हिउँ पनि देखेको थिइनन्।

२०१० मा तेम्बा छिरिङ्ग शेर्पालाई भेटिन्, खर्चको विवरण बुझिन्। १२ लाख लाग्ने भयो। त्यो धेरै ठूलो रकम थियो, मनमनै योजना बन्यो, ‘भोलिपर्सि धेरै पैसा कमाएर, धनी भएर हिमाल चढ्छु।’ पत्रकारिता गर्दै गर्दा सन्दर्भ मिल्यो। तालिम सुरु भयो। तालिमको समयमा भित्ता उक्लँदा, ढुंगा चढ्दा गारो नभएको होइन, तर आफैँले आफैँलाई प्रेरणा दिइन्, ‘अहिले त यस्तो छ, मैले अझै बढी मेहनत गर्नुपर्छ।’

शरीरिक र मानसिक रुपमा तयार पार्नु एक कुरा हो, त्यो सँगै आर्थिक रुपमा बलियो बनाउनु पनि ठूलो चुनौती रह्यो। एक करोड ७० लाख भन्दा धेरै खर्च लाग्ने भयो। तर एकतामा बल हुन्छ। उनीहरुले यो सम्भव बनाएर नै छोडे।

केही समयदेखि उनीहरु सँगै थिए, एकै परिवारझैँ। प्रियालाई एक अर्काको लागि टेको थिए, एकले अर्कालाई ढाडस दिने। ‘सगरमाथामा हामीलाई लैजाने शेर्पाहरु पनि थिए तर हिमालमा हाम्रो लागि कोही पनि थिएनन्। यही ५ जना हाम्रो सबैथोक’, आफूले बोकेको अक्सिजनको मात्रा कति छ, त्यो पनि साथीले नै हेर्नुपर्ने हुन्छ। आफ्नो साथीमाथिको विश्वास नै सबैभन्दा ठूलो कुरा हो।

तर ‘सरगमाथा हामीले यहाँ बसेर सोच्नै सक्दैनौँ।’ हिमाल चढ्नु मात्र हिउँले ढाकेको पहाड उक्लनु होइन, ‘विश्वको ५० प्रतिशत यात्रा गर्नु हो, त्यस्तो भोगाइ भोग्नुपर्छ, त्यस्ता कठिनाइसँग जुध्नुपर्छ।’ उनले हिमालको यात्रा अर्थ्याइन्। चिसोमा आफ्नै ज्यान भारी, हिमाल चढ्दा लगाएका भारी जुत्ताहरु, कपडाहरु त छँदै छ। तर जुन कुरा पनि आफ्नो इन्ट्रेस्टमा भर पर्ने भएकोले हिमाल यात्रातिर लागिपरिन्।

हिमालको काखमा लुटपुटिँदा उनले खुल्ला आकाश देखिन्। ‘स…फा, नि…लो’ हिमालबाट आकाशलाई नियाल्दा बटुलेको अनुभव बताउँदा उनको अनुहारमा नयाँ चमक आयो, प्रिया आफू कल्पनाको संसार पुगिन्। ‘कार्टुनमा कुँचोमा बसेर चुइ…य गरेर आकाशमा माथि माथि उड्न मन लाग्यो।’

एक वर्षको तयारीपछि उनी आफ्नो साथीसँग सगरमाथाको यात्रामा लागिन्। यहाँ हुँदा धेरै जिम्मेवारी थियो, त्यसलाई पुरा गर्न धेरै नै संवेदनशील बन्नुपर्‍यो कार्की। ‘एक वर्ष अगाडिदेखि नै गाडीमा, स्कुटरमा यात्रा गर्दा, भर्याङ ओर्लँदा, बाटोमा हिँड्दा पनि खुट्टा मर्किएला भनेर याद गर्थेँ म, एक वर्ष आफैलाई जोगाउनु पर्छ भन्ने लाग्थ्यो।’ आर्थिक रुपमा आफूलाई सबल बनाएपनि सगरमाथा उक्लने बेलामा उनलाई स्वास्थ्यले भने साथ दिएन। क्याम्प ३ मा पुगेपछि छातीमा पानी जमेर सजिलो नभएपछि उनी फर्किइन्।

‘क्याम्प ३ भन्दा माथि हेलिकप्टरले रेस्क्यू गर्न सक्दैन, एकदमै रियर अवस्थामा मात्र, यदि चाडैँ रेस्क्यू गर्न सकेन भने सडेन डेथ हुने सम्भावना धेरै हुन्थ्यो।’ सगरमाथा पुग्ने हर प्रयास गर्दा पनि चुचुरोमा पुग्न उनलाई जुरेको रहेनछ। शिखरमा पाइला राख्ने भन्दा पनि ज्यान जोगाउनु पहिलो प्राथमिकतामा पर्‍यो। त्यो विश्वाि गर्न सक्ने कुरा पनि थिएन। हिमाल भनेको बाबाले छोरा अथवा छोराले बाबा छोड्न सक्ने ठाउँ हो, ‘कि समिट गर्ने कि ज्यान जोगाउने।’ जसरी हुन्छ आफू जोगिएर समिट गर्ने मात्र ध्याउन्न रहन्छ।

प्रियाको टोलीले पहिला नै निर्णय गरिसकेको थियो, एक जनाले मात्र भएपनि समिट गर्ने, त्यही अनुसार साथीहरुले समिट गर्दा उनी खुसी भइन् र खुसी बाँडिन् पनि। उनलाई हिमाल पुग्दा धेरै नै चिसो महसुस भएको थियो, छातीमा पानी जम्नु सामान्य हो, तर त्यही बेलामा हुन्छ भन्ने चाहिँ थाहा भएन।

उनी सगरमाथाका यात्रीको बारेमा जानकारी दिने ज्ञानेन्द्र श्रेष्ठ सँग नै थिइन्। साथी टुप्पोमा पुगे भन्ने थाहा पाएपछि सकुशल फर्केर आउन् भन्ने नै लाग्यो।

कार्कीले आफ्नो समूहको सबै साथीको फरक गुण बताइन्, रोशाले सहि निर्णय गर्छिन्, सफा आकाश जस्तै, एकै कुरामा स्थीर।

रोजिता राम्रो बोल्छिन्, कल्पनाको काममा डेडिकेशन छ, देउराली काममा सार्है सिरियस। सगरमाथाको चुचुरोमा पाइला राख्नको लागि जोडेको यी पाँच बहिनीकै समूह भएर अरु काम गर्ने उनलाई रहर छ।

प्रियालाई घरमा पहिला साथ थिएन सगरमाथा यात्राको लागि तर पछि स्वस्थ्य भएर फर्किन्, त्यही नै ठूलो कुरा भएको छ। हाँस्दै उनले भनिन्, ‘अब चाहिँ जाने हैन है भन्नुभएको छ तर जान्छु कि जान्न मलाई मात्र थाहा छ।’

जेष्ठ २६, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्