संविधान संशोधनबिना सरकारमा जाँदैनौँ: महन्थ

फाइल तस्बिर।

जनकपुरधाम- राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका संयोजक महन्थ ठाकुरले सरकारमै जानलाई पार्टी बनेको भए पनि आफ्नो पार्टीले भने सरकारमा जाने निर्णय गर्न नसकेको बताएका छन्।

राजनीतिक समितिको बैठक टारेर शनिबार अपरान्ह जनकपुर पुगेका संयोजक ठाकुरले विमानस्थलमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानीमा भने,‘ हरेक पार्टीको ध्येय सरकारमा पुग्ने हो। र, त्यही उद्देश्यसाथ पार्टी गठन भएको हुन्छ।’

उनले केपी ओली नेतृत्वको सरकारमा सहभागी हुन संविधान संशोधन आफूहरुको अडानमा कुनै परिवर्तन नभएको बताए। संघीय समाजवादी फोरम नेपाल सरकारमा सहभागी भइसकेको अवस्थामा राजपाको भूमिका बारे सञ्चारकर्मीहरुको जिज्ञासामा ठाकुरले भने,‘राजपाले सरकारमा सहभागी हुने विषयमा कुनै निर्णय गरेको छैन।’

प्रधानमन्त्री केपी ओलीले केही दिनपूर्व एक्लै तथा सामूहिक भेँटघाटमा सरकारमा सहभागी हुन आग्रह गरेको उल्लेख गर्दै ठाकुरले संविधान संशोधनको ग्यारेन्टी नभएसम्म सरकारमा सहभागी हुन नसकिने जबाफ फर्काएको बताएका छन्। त्यस बैठकपछि प्रधानमन्त्रीले आफूहरुसँग कुनै छलफल नगरेको उनको भनाइ थियो।

नेकपा नेतृत्वको सरकारमा सहभागी भएपछि मधेशमा फोरम नेपालको आलोचना भइरहेको बेला ठाकुरले आफूलाई त्यस विषयमा कुनै जानकारी नरहेको र यस्तो कुरा पहिलोपटक सुनेको प्रतिक्रिया दिए।

फोरम नेपाल सरकारमा सहभागी भए पनि प्रदेश २ को सरकारलाई आफ्नो पार्टीको समर्थन रहिरहने ठाकुरले स्पष्ट पारे। ठाकुुुरले हिरासतमा रहेका आफ्ना पार्टीका सांसद रेशम चौधरीलाई प्रमाण पत्र दिई संसदमा बस्ने वातावरण निर्माण गर्न सरकारसँग माग गरेका छन्।

जेठ २६, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्