डा. उपेन्द्र देवकोटाको जन्मभूमि यात्रा

जन्मभूमिबाट विदा माग्दै डा. देवकोटाले भने– ‘इट वाज अमेजिङ’

डा. उपेन्द्र देवकोटालाई जन्मघर गोरखा लैजान हेलिकप्टरमा राखिँदै। तस्बिरहरु: देशसञ्चार

काठमाडौँ- करिव ६ दिन ‘भेन्टिलेटर’मा रहँदा अर्धचेतन या चेतन अवस्थामा डा. उपेन्द्र देवकोटाले उच्चारण गर्ने गरेको शब्द थियो, ‘गोर्खा’, उनको जन्मस्थल। लण्डनको किंंग्स अस्पतालमा ‘वाइल डक्ट’ क्यान्सर पहिचान भएपनि त्यसको अप्रेसन, किमो या सहज ढंगले रेडियम दिन सम्भव नभएपछि नेपाली माटोमै प्राण बिसाउने अठोटसाथ उनी नेपाल फर्केका थिए, झण्डै डेढ महिनाअघि।

सजीव, सचेत र सक्रिय रुपमै नेपाल फर्किनुको पछाडि उनले तीन ओटा लक्ष्य कोरेका थिए शेष जीवनमा। आफ्ना जीवनका अनुभव र भोगाइ अभिव्यक्त गर्ने, सम्भव भए किताबका रुपमा, आफन्तहरुसँग भेट्ने र जन्मथलो गोर्खा गई चेपेको पानीमा खुट्टा टेक्ने अनि बाल्यकालदेखि जिब्रोमा स्वाद गढेको सिस्ने धाराको पानी मुखमा हाल्ने।

उनले आफ्ना जीवनगाथा देशसञ्चार मार्फत प्रवाह गरिरहेका छन्, र हाल उनी उपचारार्थ रहेको र आफैंले १२ वर्षपहिले स्थापित गरेको बाँसबारीस्थित न्यूरो अस्पतालमा आफन्त र शुभेच्छुकको भीड अनि उनीहरुद्वारा शिघ्र स्वास्थ्य लाभको कामनाको अटूट श्रङ्खला जारी नै छ।

शुक्रबार रातिदेखि नै डा. देवकोटा ‘अब छैनन्’ भन्ने हल्ला सामाजिक सञ्जाल र आमचर्चाको विषयसँगै उनको स्वास्थ्य लाभको कामना भइरहेको बेला डा. देवकोटाको परिचित दृढता र गोर्खा पुग्ने चाह झन तीब्र रुपमा अभिव्यक्त भइरहेको थियो। भेन्टिलेटरबाट निकालेको केही घण्टामा अर्थात शनिबार बिहान करिब ३ बजेतिर उनले ‘लेमोनेड’ पिउने इच्छा जाहेर गरे। त्यसलगत्तै उनले मागेको चिसो ‘टनिक वाटर’ नहुँदा उनले सोडा पिए, श्रीमती डा. मधु देवकोटाको हातबाट। अनि एकघण्टा जतिको बसाइ र कुराकानीमा केही शक्ति आर्जन भएको महसुस हुँदा गोर्खा जाने इच्छा फेरि दोहोर्‍याए।

सजीव र सचेत रुपमा बिहान उनलाई चिन्तित शुभेच्छुकहरुसँगै सञ्चारकर्मीहरु समक्ष पेश गरियो, रातिको हल्ला निराधार रहेको सावित गर्न। त्यसको लगतै ह्वील चेयरमै बाहिर केहीबेर घुमी इमर्जेन्सी वार्डमा जाने इच्छा व्यक्त गरे उनले। त्यहाँको वस्तुस्थिति बुझ्दा लाग्थ्यो उनी बिरामी छैनन्, डाक्टर नै हुन् ड्युटीमा।

गोर्खा जाँदा या त्यहाँबाट फर्कँदा कुनै जटीलता नहोस् भनी सुनिश्चित गर्न एक साताअघि उनको करङबाट पाइप (प्ल्युरेक्स) छिराइएको थियो तर त्यही क्रममा उनको स्वास्थ्य स्थितिमा गिरावट आएपछि भेन्टिलेटरमा राखिएको बताउँछन् डा. मयुस मुननकमी।

त्यसबाट बाहिर निस्कनासाथ उनको चाहना पूरा गर्न सबै लागिपरेका थिए, परिवार र उपचारमा संलग्न मेडिकल स्टाफ।

करिव दुई बजे सेनाका दुई ओटा हेलिकोप्टर न्यूरो अस्पतालमा ल्याण्ड गरे। पहिलोबाट केही समयअघि आफन्त काशीबाबु, छोरीहरु मेधा, मञ्जरी र वसुधा उडे। पछिल्लोमा डा. देवकोटा दम्पति, एनेस्थेसिस्ट मुननकमी र डा. देवकोटाको उपचारमा संलग्न मेडिसिटीका डा. सञ्जय कार्की तथा मेडिकल टेक्निसियन रमेश नेउपाने।

डा. देवकोटाको पैतृक पण्डित गाउँनजिकै बोरा गाउँको ठूलो गह्रामा उनको हेलिकोप्टर अवतरण गर्दा तालीका साथ छोरीहरुले स्वागत गरेका थिए, जन्मभूमि आगमनका लागि। करिब आधा घण्टा बोकिएर घर पुगेपछि ८/१० मिनेट आराम गरे उनले र गाउँका त्यहाँ उपस्थित सबैसँग भलाकुसारी गरे। ठूलो भीड थियो, उनलाई भेट्न, स्वागत गर्न र स्वास्थ्यलाभको कामना गर्न आउनेहरुको। त्यसमा उनले उपचारका लागि लण्डन जानुपूर्व तथा अहिलेसम्मको उनको अन्तिम अप्रेसनबाट जीवनदान पाएकी गोर्खाकी राधिका बस्नेत पनि उपस्थित थिइन्।

नेपालको माटोलाई चन्दनजस्तै पवित्र मान्ने डा. देवकोटाले आफ्नो जन्मभूमिको पानीलाई अमृत माने र सिस्नेधाराको पानी एकपल्ट हैन, दुईपल्ट पिए करिव ४० मिनेटको घर बसाइमा। अरुले पनि साथ दिए उनलाई।

उनलाई धेरैबेर त्यहाँ राख्नु मेडिकल हिसाबले उपयुक्त नहुँदा ४० मिनेटपछि बिदा भए सबैसँग। अश्रुपूरित नेत्रले विदा गरे आफन्तले। फर्कनुपर्व उनले जयन्ती मन्दिरसँगै आफ्नो कुल देवताको प्रसाद ग्रहण गरेका थिए।

हेलिकोप्टरलाई उनको घर नजिकैको थुम्कोमा ल्याइएको थियो, यसैबीच। अनि सन्तुष्ट स्वरमा मुस्कानका साथ उनले भने, ‘इट वाज अमेजिङ।’

जेष्ठ २६, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्